साप्ताहिक संवाददाता
विश्वकप फुटबल प्रतियोगितामा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री अर्थात् भीएआरको प्रयोग गरिएको छ । मैदानमा कार्यरत रेफ्रीले कुनै निर्णय गर्दा शंका लागे यसको सहयोग लिने गरेका छन् । हालसम्म दर्जनभन्दा बढी पटक यसको सहयोग लिइएको छ । यसका कारण धेरै नतिजालाई शंकारहित बनाउन सहयोग पुगेको छ । धेरैले यो प्रविधि उपयोगी भएको बताएका छन् । यद्यपि यसको विरोध गर्नेहरू पनि कम छैनन् ।
खेल सञ्चालन भैरहेको रंगशालामा एउटा कन्ट्रोल रुम हुन्छ । यसमा केही रेफ्री एकसाथ बसेर स्क्रिनमा खेल हेरिरहेका हुन्छन् । उनीहरूले स्क्रिनमा राम्रोसँग हेरेर उपयुक्त निर्णय लिन सहयोग गर्छन् ।
भीएआरले मैदानमा रहेका रेफ्रीलाई अप्ठ्यारो अवस्थामा सहयोग गर्छ । पेनाल्टी, गोल, रेड कार्ड आदिको सन्दर्भमा विवाद भए भीआरले वास्तविकता दर्साउँछ ।
यसमा एउटा मुख्य भीएआर रेफ्री हुन्छन् भने तीन जना असिस्टेन्ट भिडियो अपरेसन रुममा हुन्छन् । भीएआरले फाइबरमा आधारित रेडियो सिस्टमको सहयोगले मैदानमा भएका रेफ्रीसँग कुरा गर्छन् र कुनै विवाद भए त्यसको निरूपण गर्छन् ।
भीएआरका लागि ३३ वटा ब्रोडकाष्ट क्यामेरा प्रयोग गरिएको हुन्छ । त्यसैगरी अफसाइडमा दुईवटा छुट्टै क्यामेरा हुन्छन् । भीएआरले ती सबै क्यामेराले देखाउने दृश्यको अध्ययन गरिरहेका हुन्छ र रेफ्रीलाई आवश्यक समयमा मद्दत गर्छ ।
पहिलो फाइदा फ्रान्सलाई
भीएआरको पहिलो फाइदा फ्रान्सले अस्ट्रेलियासँग खेल्दा उठाएको थियो । ग्रुप ‘सी’ अन्तर्गत खेलिएको खेलमा फ्रान्सका एन्टोइन ग्रिजम्यान बल लिएर बक्समा पुगेका थिए । अस्ट्रेलियाई डिफेन्डरले उनलाई त्यहीं लडाए, तर रेफ्री आन्द्रियास कुन्हाले स्पट किक दिएनन् । खेलाडीहरूले विरोध गरेपछि रेफ्रीले भीएआरको सहयोग लिए । यसमा डिफेन्डरको गल्ती देखियो । यसका कारण पाएको पेनाल्टीमा ग्रिजम्यानले फ्रान्सलाई १–० ले अघि बढाए । फ्रान्सले अन्त्यमा २–१ ले खेल जित्यो । ग्रिजम्यान भीएआरका आधारमा गोल गर्ने पहिलो खेलाडी हुन् ।
अर्को फाइदा स्पेनलाई
ग्रुप बीमा स्पेन र मोरक्कोबीच भएको खेलमा पनि भीएआरका कारण स्पेनको लाज जोगिएको थियो । स्पेनको टिम मोरोक्कोसँग १–२ ले पछि परेको थियो । इन्जुरी टाइमको आखिरी क्षणमा कार्वाजलले दायाँतिरबाट गोल गरेर स्कोरलाई २–२ बनाए, तर कार्वाजललाई अफसाइड दिइयो । स्पेनी खेलाडीहरूको विरोधका कारण रेफ्रीले भीएआरको सहयोग लिए । त्यसमा कार्वाजलले अफसाइड पाउनुपर्ने देखिएन । त्यसपछि स्पेन–मोरोक्कोबीचको खेल ड्र भएको घोषणा गरियो ।
पोर्चुगललाई ड्रको तरबार
ग्रुप ‘बी’मा इरान र पोर्चुगलबीचको खेल ड्र भयो । यसमा दुवै टिमलाई भीएआर प्रयोग गर्ने मौका मिलेको थियो, तर यसका कारण पोर्चुगललाई घाटा लाग्यो । पोर्चुगल १–० ले अगाडि थियो । ५० मिनेटतिर पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई इरानी डिफेन्डरले बाधा पुर्याए । रेफ्रीले भीएआरको सहयोग लिए । यसमा पोर्चुगललाई पेनाल्टीको अवसर प्राप्त भयो, तर रोनाल्डोले गोल गर्न सकेनन् । इन्जुरी टाइममा रेफ्रीले गरेको एउटा निर्णयमा इरानीहरूले भीएआरको सहयोग लिने माग गरे । यसबाट इरानलाई पेनाल्टी प्राप्त भयो अनि इरानी खेलाडी करिम अन्सारीफर्दले खेललाई १–१ गोलको बराबरीमा पुर्याए ।
रूसको विरोध
ग्रुप ‘ए’मा रूस र इजिप्टबीच भएको खेलमा इजिप्टले पेनाल्टी पायो । रूसको टिम ३–० ले अगाडि थियो । ७३ औं मिनेटमा इजिप्टका स्ट्राइकरलाई रूसी डिफेन्डरले गलत तरिकाले रोके । त्यसपछि रेफ्रीले भीएआरको सहयोग लिए । यसबाट प्राप्त पेनाल्टीमा इजिप्टका स्ट्राइकर मोहम्मद सलाहले गोल गरे अनि स्कोर ३–१ बनाए, तर रूसले उक्त निर्णयको विरोध गरेको थियो ।
सर्भियाले पाएन
ग्रुप ‘ई’मा स्वीजरल्यान्डसँग भएको खेलमा सर्भियाका अलेक्जेन्डर मित्रोभिचमाथि दुई खेलाडी लडे । सर्भियाली खेलाडीले भीएआरको सहयोगको माग गरे, तर रेफ्रीले उनीहरूको मागमा कुनै सुनुवाइ गरेनन् ।
भीएआर प्रविधिको प्रयोग
३ सय ३५ पटक
विश्वकपकै इतिहासमा पहिलो पटक रेफ्रीको सहयोगका लागि प्रयोगमा ल्याइएको भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को समूह चरणमा ३ सय ३५ पटक प्रयोग गरिएको छ । यसबाट गरिएको सही निर्णयको प्रतिशत ९९ दशमलव ३ प्रतिशत छ ।
फिफाका अनुसार ग्रुप चरणमा भएका १ सय २२ गोलको यही प्रविधिको सहयोगले समीक्षा गरिएको छ । त्यसैगरी मैदानमा भएका अन्य घटनाहरूको समीक्षाका लागि पनि यसको प्रयोग भएको छ । फिफा रेफ्री कमिटीका अध्यक्ष पिएरलुगाई कोलिनाका अनुसार ग्रुप चरणमा खेलिएका ४८ खेलमध्ये प्रतिखेल औसत ७ घटनालाई हेरिएको थियो ।
उक्त प्रविधिका कारण १४ वटा निर्णय परिवर्तन भए । रेफ्री १४ पटक समीक्षाका लागि मोनिटरअगाडि पुगे । अफ साइडको सन्दर्भमा तीनवटा निर्णय सिधै भीएआर प्रविधिको सहयोगमा निर्णय लिइएको थियो । समीक्षा गरिएका सबै निर्णय हेर्दा रेफ्रीले गरेका ९५ प्रतिशत निर्णय सही थिए ।