साप्ताहिक संवाददाता
ब्राजिलका इलियास डिसुजा यस पटक पनि विश्वकप हेर्न आफैले बनाएको अनौठो साइकल चढेर रूस पुगे । सन् १९८६ मा मेक्सिकोमा सम्पन्न विश्वकप पश्चात उनी सबै स्थानमा यही साइकल चढेर पुगेका छन् । ‘सामान्य साइकलमा चढेर त जो पनि पुग्न सक्छ, तर अनौठो साइकलमा यात्रा गर्नु आफैमा आनन्ददायक हुन्छ ।’ डिसुजाको भनाइ छ । उनी सामान्य समयमा पनि यही साइकल चढेर आफ्नो दैनिक जीवन चलाइरहेका छन् । यही साइकलबाट लड्दा अमेरिकामा उनले एउटा आँखासमेत गुमाएका थिए ।
१७ हजारभन्दा बढी स्वयंसेवक
विश्वकप फुटबल सम्पन्न गर्न स्वयंसेवकको पनि महत्वपूर्ण भूमिका हुन्छ । रूसमा जारी विश्वकपमा अहिले १७ हजार ४० स्वयंसेवक कार्यरत छन् । विश्वभरका करिब पौने २ लाख आवेदकले स्वयंसेवाका लागि आवेदन दिएकोमा त्यसैबाट ती स्वयंसेवक छानिएका हुन् ।
यसका लागि दुई वर्ष पहिले नै आवेदन लिन थालिएको थियो । ती स्वयंसेवक स्टेशनदेखि विमानस्थल र फिफाका सामान पाइने पसलदेखि स्टेडियमसम्म कार्यरत हुन्छन् । १ सय १२ देशका आवेदकलाई भिडियो अन्तर्वार्तामार्फत स्वयंसेवकका लागि छनौट गरिएको थियो ।
तीमध्ये ६४ प्रतिशत महिला स्वयंसेवक छन् । एक महिनादेखि रूसका विभिन्न सहरमा चलिरहेको विश्वकपका लागि ती स्वयंसेवकले प्रत्येक दिन कमसेकम आठ घण्टा ड्युटी गर्नुपर्छ, तर उनीहरूले खेल हेर्ने टिकट वा पास भने पाउँदैनन् ।