साप्ताहिक संवाददाता
अभिनेता पल शाहलाई म्युजिक भिडियोमा डेब्यु गराउने निर्देशक को हुन् ? चासोको विषय हुन सक्छ । सन् २०१२ को डिसेम्बर महिनामा ‘हनी बनी...’ गीतको म्युजिक भिडियो भाइरल हुनुअघि नै पल शाहले गायक श्याम साम्सोहाङको ‘तिम्रो यादमा रम्छु म त’ गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका थिए । २०१२ कै अगष्ट महिनामा युट्युबमा अपलोड भएको उक्त भिडियोमार्फत पललाई डेब्यु गराउने निर्देशक थिए— विज्ञान राई ।
कुनै बेला नेसनल टेलिभिजन, तराई टेलिभिजन तथा माउण्टेन टेलिभिजनमा भिजुअल एडिटरका रूपमा सक्रिय विज्ञान राई यतिबेला कुशल भिडियो निर्देशकका रूपमा स्थापित भैसकेका छन् । पछिल्ला पाँच वर्षको अवधिमा राईले १ सय भन्दा बढी भिडियो निर्देशन गरिसकेका छन्, जसमा शिल्पा पोखरेल, वर्षा शिवाकोटी, केकी अधिकारीदेखि पल शाह, निराजन प्रधान आदिले अभिनय गरेका छन् ।
भरखरै ट्ेरन्डिङमा परेको गायिका अञ्जु पन्तको ‘नरुनु है...’ गीतको भिडियो समेत निर्देशन गरेका राई अहिले चलचित्र निर्देशनतर्फ आकर्षित भएका छन् । हाल स्क्रिप्ट लेखनका क्रममा रहेको वास्तविक घटनामा आधारित एउटा चलचित्र निर्देशन गर्दै राई यही वर्षको अन्त्यसम्ममा रजतपटमा समेत उदाउँदै छन् ।