साप्ताहिक संवाददाता
वर्षायाम, कवि तथा गीतकारहरूको प्रिय मौसम । यही मौसममा प्रेमिल मनहरू रोमाञ्चित हुन्छन् । सिमसिमे पानीमा रुझ्नुको आनन्द बेग्लै हुन्छ । त्यस्तो आनन्द महसुस गर्न कतिपय मानिस स्वेच्छाले नै पानीमा रुझ्न रुचाउँछन् । यो मौसममा रुझेर, सिमसिम पानी परिरहेको हेरेर वा त्यसको चर्को–मधुरो आवाजमा रमाउनेहरू पनि प्रशस्तै हुन्छन् । वर्षायामको यस्तो रोमाञ्चकतामा सावधानीअपनाउन सकिएन भने कतिपय समस्या पनि देखा पर्न सक्छन् ।
यस्ता समस्याहरूको ख्याल गरेर यो मौसमलाई आफ्नै किसिमले सेलिव्रेसन गर्न सकिन्छ । शास्त्रीय तथा वैज्ञानिक मान्यताअनुसार वर्षायाम नै सृष्टिलाई निरन्तरता दिने मौसम हो । यस्तो मौसममा मानिसका सपनाले पनि अनेक रंग हाल्छन् । पखेटा र प्वाँखबिनाका सपनाले पनि अनन्त आकाश छुन खोज्छन् । वर्षा मौसमको केही यिनै विशेषतालाई समेटेर साप्ताहिकले यो पृष्ठ संयोजन गरेको हो ।
बढी पानी पर्ने स्थान
मौसिनराम
संसारको सबैभन्दा बढी पानी पर्ने स्थान भारतको मेघालयको मौसिनराम हो । यहाँ वार्षिक रूपमा औसत ११ हजार ८ सय ७३ मिलिमिटर पानी पर्छ । जुनदेखि सेप्टेम्बरसम्म घना मनसुन हुने र वर्षैभरि मेघ अर्थात् बादलले ढाकिरहने हुँदा यो ठाउँको नाममै मेघालय रहेको हो ।
कम पानी पर्ने स्थान
संसारकै सबैभन्दा कम पानी पर्ने स्थान अन्टार्कटिका महादेशको मैकमुर्डो ड्राई भ्याली हो । चारैतिर हिउँको चट्टानले घेरिएको यो उपत्यकामा विगत १४ हजार वर्षदेखि पानी परेको छैन । पानी नपरे पनि हिउँले घेरिएका कारण यो ठाउँ सुख्खा भने छैन ।
नेपालको सबैभन्दा बढी र कम पानी पर्ने स्थान
नेपालमा सबैभन्दा बढी पानी पर्ने स्थान पोखरा हो । यहाँ हरेक वर्ष औसत रूपमा ३ हजार ३ सय ४५ मिलिमिटर पानी पर्ने मौसम विभागको तथ्यांकमा उल्लेख छ । त्यसैगरी नेपालमा सबैभन्दा कम पानी पर्ने ठाउँ मुस्ताङ हो, जहाँ औसत वार्षिक वर्षा ३ सय मिलिमिटर हुन्छ ।