रातारात धनी हुने सपना बोकेर मिटरब्याजजस्तो आर्थिक अपराधमा संलग्न धनगढीका दर्जनौं परिवार घरवारविहीन मात्र भएका छैनन्, धेरैले आत्महत्याको बाटोसमेत रोजेका छन् ।
फूलबारीकी ३३ वर्षीया आरती थापाले कतारमा कार्यरत पतिलाई फेसबुकको म्यासेज बक्समा आफू मिटरब्याज र ढुकुटीको चक्करमा लागेर बर्बाद भैसकेको, ४९ लाख रुपैयाँ, तीनतले पक्की घर तथा २ कठ्ठा जमिन सबै गुमाइसकेको कुरा लेखिन् । उक्त कुरा पत्याउनै गाह्रो मानेका आरतीका पति ३८ वर्षीय धनसिंह थापाले त्यही दिन साँझ आफ्नी श्रीमतीले आत्महत्या गरेको खवर पाए ।
धनगढी भन्सार रोडकी सुलोचनाले पनि आफ्नो सवै सम्पत्ति गुमाएपछि आत्महत्या गरिन् । उनका पति धर्मबहादुर सिंह प्रहरी जागिरवाट पेन्सन पाएपछि कतारको टेलेक्स कम्पनीमा सुरक्षा सहायक पदमा कार्यरत थिए । श्रीमतीले आत्महत्या गरेको खवर पाएपछि घर फर्किएका सिंहको घर– जग्गा, ९ तोला सुन, चाँदी, बाबु–बाजेको जमानाका चाँदीका सिक्काहरू सबै गुमिसकेको थियो । केही पनि बाँकी राखिनन्, सिंहले भने, काठमाडौंमा अध्ययनरत छोराका नाममा बिदेशवाट पठाएको रकम वाहेक २० वर्ष कठिन परिश्रम गरेर जोडेको सवै सम्पत्ति
सखाप भयो ।
चटकपुर धनगढीकी देवीमायाले पनि यसरी नै सर्वस्व गुमाएपछि मृत्युको बाटो रोजिन् । यसरी मिटरब्याज तथा ढुकुटी कारोबारमा सर्वस्व गुमाएपछि आत्महत्या गर्ने महिलाहरूको संख्या निकै छ । प्रहरीको तथ्यांकअनुसार यस्ता घटनामा मध्यम वर्गीय महिलाले बढी आत्महत्या गरेका छन् ।
मैले पनि आत्महत्या गर्नुबाहेक अर्को कुनै विकल्प छैन, एउटा सार्वजनिक कार्यक्रममा रुँदै गृहणी सुशीला भण्डारीले भनिन्– भएभरको सबै सम्पत्ति मिटरब्याज तिर्दैमा सकियो । अझै पनि ठूलो रकम तिर्न बाँकी छ । ढुकुटी र मिटरब्याजबाट सम्पत्ति गुमाएकी अर्की महिला लक्ष्मी चौधरीले पनि यसरी नै आफ्नो पिडा पोखिन् । चौधरीले मिटरब्याजमा लिएको ४८ लाख रुपैयाँ तिर्न बाँंकी छ । उनले आफ्नो सबै सम्पत्ति गुमाइसकेकी छिन् । मृत्युबाहेक अर्को विकल्प नभएका हामी दर्जनौं महिला छौं,’ भण्डारी भन्छिन्– कति त मर्न नसकेर बालबच्चा छोडेर बेपत्ता भएका छन् ।
यी त केही उदाहरण मात्र हुन् । सुदूरपश्चिमको प्रमुख ब्यापरिक केन्द्र धनगढी अहिले ढुकटी र मिटरब्याज आतंकवाट त्रसित छ । कतिबेला कसको घरवार उठ्ने हो कसैलाई जानकारी छैन । रातारात धनी बन्ने सपनाले मध्यम वर्गीय परिवारका महिलालाई मृत्युको फन्दामा पुर्याउँदै गएको छ ।
मिटरब्याज र ढुकुटीका कारण धनगढीमा अपराधका घटनामा समेत निकै वृद्धि भएको छ । पछिल्ला केही साताभित्र मात्र मिटरब्याज र ढुकुटीका विषयलाई लिएर दर्जनौं कुटपिटका घटना भएका छन् । मिटरब्याजमा संलग्न कारोबारी कल्पना गैरेलाई महिलाहरूको एक समूहले धनगढी चौराहामा मरणासन्न हुने गरी कुटपिट गरेपछि उनको उपचार कोहलपुर मेडिकल कलेजमा गराउनुपर्यो । मिटरब्याजकै विषयलाई लिएर धनगढी पशुपति टोलका मुनीर खानले नरेश कुँवरलाई कुटपिट गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालतले खानलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्यो ।
यस्तो छ
मिटरब्याजको कथा ?
३० लाख रुपैयाँ आवश्यक
परेको कुनै व्यक्तिलाई सुरुमै ब्याज बापतको २० प्रतिशत रकम (६ लाख) कटौती गरी २४ लाख रुपैयाँ दिइन्छ । ऋण लिने व्यक्तिले हरेक महिना ३० लाख रुपैयाँको १० प्रतिशतका दरले ३ लाख रुपैयाँ ब्याज तिर्नुपर्छ । १ वर्षभित्र तिर्न नसके ब्याज दोब्बर हुन्छ । यसरी ३० लाख रुपैयाँ ऋण लिएको व्यक्तिले वर्षको ३६ लाख रुपैयाँ तथा सुरुमा तिरेको ६ लाख रुपैयाँसहित ४२ लाख रुपैयाँ ब्याज मात्र तिर्नुपर्छ । चर्को ब्याजमा ऋण लिनेहरूले घितो बापत घरजग्गा दृष्टि बन्धक राख्छ वा ऋण दिनेलाई घितो दिनेगरी कागज बनाउँछन् । जस्तोसुकै सफल व्यवसायीले पनि यति चर्को ब्याजमा रकम लिएर मुनाफाको व्यवसाय गर्न सक्दैनन् र बिस्तारै ऋण लिनेको सम्पत्ति मिटरब्याजमा ऋण दिनेको हुन्छ ।
वैदेशिक रोजगारी, सरकारी जागिर तथा व्यवसायमा संलग्न पुरुषका श्रीमतीहरू चर्को ब्याजमा पैसा लगाउने लोभमा यो धन्दामा लाग्ने गरेका छन् । आफूसँग भएको सम्पत्ति मात्र नभै चर्को ब्याजको लोभमा फसेर आफ्ना आफन्तसँग तथा वित्तीय संस्थाहरूबाट समेत ऋण निकालेर मिटरब्याजमा लगाउनेहरू नै अहिले सर्वस्व गुमाउनेमा पनि छन् । ‘आफूसँग भएको त दिएँ–दिएँ, आफन्तबाट समेत ऋण मागेर पनि ५८ लाखजति मिटरब्याजमा लगाएँ’, बोराडाँडी धनगढीका गणेश रावल भन्छन्– यसरी मिटरब्याजमा धन लगाउन प्रेरित गर्न बिभिन्न महिला तथा पुरुष समूहहरू सक्रिय छन् । अधिकांश महिलालाई यसरी लगानी गर्न प्रेरित गर्न महिला समूह तथा पुरुषलाई प्रेरित गर्न पुरुष समूह क्रियाशील छन् । ब्याज दिनेले पनि सुरु–सुरुमा विश्वास आर्जन गर्न ब्याज दिने र त्यसपछि बिस्तारै बाउन्स चेक दिने अनि बेपत्तै हुने रावलले बताए ।
थकाली समुदायका साना ब्यापारीले आपसमा व्यवसायिक सहयोगका लागि शुरु गरेको ढुकुटी कारोबार बिस्तारै मिटरब्याजको धन्दाका रूपमा परिणत भएको पाइन्छ । सुरुमा काठमाडौं, पोखरा र बुटवलमा स–साना समूहमा ढुकुटी खेल्ने अनि आपत्विपत् आइलाग्दा ढुकुटी खाने चलन थियो । त्यही चलन विस्तारै धन्दामा परिणत भएको यसमा संलग्नहरू बताउँछन् । धनगढीमा मिटरब्याजको कारोबार सुरु भएको ४ वर्षभन्दा बढी भएको छैन ।
कहाँ जान्छ रकम ?
मिटरब्याजको कारोबारमा संलग्न धनगढी क्याम्पस रोडका दिपक खड्का ६ करोड रुपैयाँ सहित फरार भएको डेढ वर्ष भयो । उनी आफूलाई आफ्नै साथीले ज्यान मार्न भारतीय अपराधीलाई सुपारी दिएका कारण सपरिवार भागेको लिखत कागज छोडेर फरार भएका थिए । आफूले लगेको रकम र उनका मिटरब्याज साझेदार मुनिर खानसँग रहेको रकम समेत उल्लेख गरेर फरार भएपनि प्रमाणको अभाव भन्दै प्रहरीले उक्त घटनामा कुनै छानबिन गरेन ।
मिटरब्याज र ढुकुटीबाट संकलन गरेको ८ करोड रुपैयाँभन्दा बढी लिएर धनगढीबाट फरार भएका चौराहाका तरकारी थोक विक्रेता राजेश गुप्ताको पनि अहिलेसम्म अत्तोपत्तो छैन । उनी फरार भएको पनि डेढ बर्ष भैसकेको छ । गुप्ताले मिटरब्याज र ढुकुटी खेलाएर मात्र रकम संकलन गरेनन्, विभिन्न व्यक्तिका नामको सम्पत्ति बैंकमा राखेर लिएको ऋणसमेत लिएर बेपत्ता भए ।
धनगढीकै अर्का व्यवसायी विकास अग्रवाल पनि अहिले वेपत्ता नै छन् । अग्रवालले पनि मिटरब्याज, ढुकुटी तथा विभिन्न बित्तीय संस्थाबाट विभिन्न व्यक्तिका नाममा लिएको ऋण रकम ७ करोड रुपैयाँभन्दा बढी छ । अग्रवाल फरार भएको केही दिनमा ६ करोड रुपैयाँ लिएर फरार भएका कन्काइ स्टोरका मालिक लक्षमण भट्टराइलाई प्रहरीले पक्राउ त गर्यो तर कुनै प्रमाण नभएपछि उनी रिहा गरिए ।
पछिल्लो घटनामा भन्सार रोड, धनगढीकी मनीषा खत्री पनि ६ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएकी छिन् । खत्री पनि मिटरब्याज र ढुकुटीबाट जम्मा गरेको रकम लिएर फरार भएकी हुन् । यसरी फरार भएका मध्ये केहीको हत्या भएको र सबै रकम यो धन्दामा संलग्न उनीहरूकै साझेदारले लिएको आशंका गरिएको छ ।
प्रकाशमा आएका यी केही घटनाबाहेक मिटरब्याजबाट रकम संकलन गरी फरार हुने तथा अन्यत्रै सम्पत्ति जोड्ने ठूलै गिरोह धनगढीमा सक्रिय छ ।
राजनैतिक संरक्षणमा हुने मिटरब्याज कारोबार गर्ने तीन थरीका गिरोह छन् । पहिलो गिरोह यसमा लगानी गर्न प्रोत्साहित गर्नेहरूको छ । व्यवसायिक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानो तिनो व्यवसायिक सम्बन्ध भएकाहरूले नै एकअर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्ने गरेका छन् । अर्को गिरोह वित्तीय संस्थाबाट धितो राखेर ऋण
निकाल्नेहरूको छ । विभिन्न व्यवसायिक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र सुरुमा आकर्षक ब्याज दिई बिश्वास दिलाउने काम उक्त गिरोहले गर्छ ।
विस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकैपटक ठूलो रकम लगानी हुन्छ । तेस्रो गिरोहले लगानी भएको सबै रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउंमा दिने, राजनैतिक संरक्षणका लागि पहल गर्ने आदि काम गर्छ । यसरी संस्थागत रूपमा भैरहेको ठगीमा परेकाहरूले उजुरी दिए मुख्य व्यक्तिलाई फरार बनाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको छ ।
कारोबारमा संलग्न मात्र होइन, आपत्विपत् परेका कारण मिटरब्याजमा रकम लिने र सम्पत्ति डुबाउनेहरूको संख्या पनि निकै ठूलो छ । श्रीमान्को जापान जाने भिसा लागेपछि पैसा खोज्ने क्रममा मिटरब्याजमा फसेकी लक्ष्मी विष्टले (धनगढी–१२) ३ कट्टा १० धुर जग्गा र पक्की घर गुमाइन, मिटरब्याजमा रकम दिने वताएका दिपक खड्का आफैं
करोडौं उठाएर फरार भएपछि लक्ष्मीले आफ्नो पैसा पनि फिर्ता पाइनन् भने घर जग्गा पनि अर्कैको नाममा दृष्टिबन्धक भयो । धनगढी क्याम्पस रोडमा दीप डेरी चलाएर बसेका दीपक खड्कालाई ज्यान मार्ने धम्की दिएर भगाइएपछि लक्ष्मीजस्ता आधादर्जन पीडितले आफ्नो सर्वस्व गुमाएका छन् । उनीहरू सबैको घर जग्गा मुनिर खानका नाउंमा दृष्टिवन्धक छ । कानुनत: खानसँग सबै प्रमाण छन् तर पीडितले घरजग्गा पनि गुमाए भने आफ्नो लगानी फिर्ता पाएनन् । पीडित विष्टले भनिन्— बैंक, मालपोत कार्यालय तथा मुनिर खानको मिलोमतोमा हाम्रो सम्पत्ति हड्पिइएको छ । लक्ष्मी विष्टजस्ता आपत्विपत्मा परेर मिटरब्याजमा पैसा लिनेहरूको संख्या पनि निकै ठूलो छ ।
प्रहरी सक्रियता बढेपछि केही कम भएको मिटरब्याजको कारोबार भित्रभित्रै भने चलिरहेकै छ । प्रहरीले मिटरब्याजमा संलग्न धेरैलाई निगरानीमा राखेका कारण विगतको जस्तो खुला कारोबार नभए पनि मिटरब्याजको कारोबार पूर्णत: रोकिएको भने छैन ।
थुप्रै कानुनी जटिलताका कारण प्रहरीले चाहेर पनि यस्ता आर्थिक अपराधमा कारबाही गर्न सक्ने ठाउँ नभएको प्रहरीले बताउँदै आएको छ । कैलालीका प्रहरी प्रमुख विनोद घिमिरे भन्छन्– जालो ठूलो छ, कानुनी जटिलताले गर्दा प्रहरीले सिधै कारबाही गर्न सकेको छैन । मिटरब्याज कारोबारीले दिएको चेक बाउन्स भएपछि मात्र प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाउन सक्ने उनले बताए । चेक बाउन्स भएका धेरै जसोलाई प्रहरीले कारबाही पनि गरेको छ, जसमा आधा दर्जनजतिले जेल सजाय काटिरहेका छन् । कानुन छलेर गरिने यस्ता आर्थिक अपराधको प्रमाण नहुने हुँदा प्रहरीलाई कारबाही गर्न कठिन भएको हो ।