साप्ताहिक संवाददाता
दुई वर्षको नाबालक छोरा अनि श्रीमान्का साथ अमेरिका आएकी थिइन् ३० वर्षीया रचना श्रेष्ठ । उनको परिवारलाई डिभी अर्थात् ग्रिनकार्ड लोटरीले स्थायी बसोबासका लागि अमेरिका आउने ढोका खोलेको थियो । ११ महिनाअघि काभ्रेको पनौतीबाट आएको श्रेष्ठ परिवार ओक्लोहामा राज्यको अटोकामा बस्न थाल्यो । संघर्ष गर्दै अघि बढेको त्यो सानो परिवार खुसी नै थियो, तर गत साउन ७ गते उनीहरूको त्यो खुसीमा अनायसै कालो बादल मडारियो । घरनजिकैको ग्याँस स्टोरमा काम गर्ने क्रममा दिनदहाडै एक १८ वर्षीय अश्वेत अमेरिकी युवाले रचनामाथि जथाभावी गोली बर्सायो । आठवटा गोली खाएकी श्रेष्ठ स्टोरकै भुइँमा ढलिन् । बेलैमा अस्पताल पुर्याइएकीले धन्न उनको प्राण गएन । त्यतिबेला उनी ह्यान्डी मार्ट स्टोरमा काम गर्थिन्, जुन स्टोर नेपालीले नै सञ्चालन गर्दै आएका थिए । स्थानीय सहयोगी शिव सिलवालले स्टोर सञ्चालकसँग भेट गराई उनलाई उक्त काममा लगाइदिएका थिए ।
गाडीको लाइसेन्स, काम अनि अरू धेरै कुराको सहजता देखेर उनीहरूले आफ्नो बसाइका लागि अक्लोहामा राज्यको सानो गाउँ अटोका रोजेका थिए । त्यहीं काम गर्दागर्दै दुवैले गाडीको लाइसेन्स पनि निकाले । घरनजिकै पाँच मिनेटको ड्राइभमा काम पनि पाए । पति–पत्नीले एउटै स्टोरमा काम सुरु गरे । रचना बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म काम गर्थिन् । धेरै नेपालीले अमेरिकामा सुरु–सुरुमा यस्तै स्टोरको काम रोज्छन् । उनले पनि भाषा छिटो सिकिने देखेर स्टोरको काम रोजिन् । अंग्रेजी भाषा राम्रो होला भनेर ग्याँस स्टोरमा काम थालें, घटनाको बेलीविस्तार लगाउँदै रचनाले भनिन्×– स्टोर खासै
व्यस्त नहुने भएकाले काम पनि सजिलै थियो ।
स्टोरमा आउने ग्राहक पनि राम्रै थिए । घटनाको दिन उनको काम सकिन एक घण्टा मात्र बाँकी थियो । आफ्नो काम सकेपछि अमेरिकामा जोकोहीले पनि आफूले काम गरेको कार्यालय वा स्थान सरसफाइ गरेर छोड्नुपर्ने हुन्छ । रचनाले पनि ग्राहकको भीड पातलिएपछि मध्याह्न १२ बजेतिर स्टोरको सरसफाइ थालिन् । त्यस क्रममा उनले स्टोरका लागि आएको सामानको ‘डेलिभरी’ पनि लिइन् ।
त्यहीबेला ६ जना ग्राहक उनको स्टोरमा प्रवेश गरे । ती ६ जनामध्ये एक जना बाथरुम पसेको थियो । पाँच जनालाई सेवा दिएपछि उनी फेरि सरसफाइमा जुटिन् । बाथरुम छिरेको ग्राहक आउला भन्ने सोच्दै उनी कामतिरै लागिन् । सफाइ गर्ने क्रममा बाथरुममा छिरेको कालो वर्णको केटोले हात सफा गरिरहेको उनले देखेकी थिइन् । उनले त्यो कालो वर्णको केटो ग्राहक होइन, लुटेरा हो भन्ने पत्तो पाइनन् । उसले लुकेर उनको गतिविधि नियालिरहेको रहेछ । उक्त केटो हतियारसहित योजनाबद्ध तरिकाले स्टोरमा पसेको कुरा रचनाले पछि मात्र थाहा पाइन् । जब उनी स्टोरको काउन्टरतर्फ फर्केर सरसफाइ गर्दै थिइन्, त्यही बेला त्यो कालो केटोले बाथरुमबाट निस्केर उनको पछाडि दायाँतर्फ गोली बर्साउन थाल्यो । पहिलो गोली लागेपछि एक्कासि करेन्ट लागेजस्तो भयो, रचना भन्छिन्– उसले ढाडमा गोली बर्सायो अनि म भुइँमा लडें । खुट्टा उचाल्न खोजें तर सकिनँ । ढाड, गाला, पिठ्यँु, पाखुरा, कम्मर तथा खुट्टा सबैतिर गोलीले छिया–छिया बनायो । यति धेरै गोली खाइसक्दा फतक्कै गलेजस्तो भए पनि बेहोस भने नभएको उनले बताइन् ।
त्यसपछि गोलीको दुखाइले ऐया–आत्थु भन्दै चिच्याउन थालिन् । त्यही बेला अरू ग्राहक स्टोरमा आएकाले गोली बर्साउने लुटेरा कुलेलम ठोकेको थियो । त्यसपछि उनी थप गोली खानबाट जोगिइन् र रचनाले घरमा रहेको तीन वर्षको छोरो अनि श्रीमान्लाई सम्झिइन् । त्यति धेरै गोली लागेपछि उनलाई बाँच्छु जस्तो रत्तिभर लागेको थिएन । गोली लागेर ढलेपछि— घरमा मेरो सानो बच्चा छ, मलाई छिटो अस्पताल पुर्याऊ भन्दै उनले स्टोरका पूर्वपरिचित नियमित ग्राहकसमक्ष बिन्ती गरेकी थिइन् । उनलाई गोली लागेको केही समयमै एम्बुलेन्स आइपुग्यो । घटना घटेको आठ मिनेटमै उनलाई नजिकैको अस्पताल पुर्याइयो । एम्बुलेन्सभित्र उनको हेरचाहका लागि बसेका नर्सलाई आफ्नो मोबाइलमा भएको श्रीमान्को नम्बरमा फोन गरेर घटनाका बारे जानकारी दिन लगाइन् । घटना थाहा पाएपछि उनका श्रीमान् कपिल श्रेष्ठ एम्बुलेन्सभन्दा पहिल्यै अस्पताल पुगिसकेका थिए । श्रीमान्लाई देखेपछि उनले केही राहत महसुस गरिन् । उनको खुट्टा चलिरहेको थिएन । मुखबाट समेत रगत बगिरहेको थियो । त्यस्तो अवस्थामा उनलाई बाँचुलाजस्तो लागिरहेको थिएन । रचनाले सहयोगी छिमेकीको घरमा रहेको तीन वर्षको कलिलो छोरालाई सम्झिइन् । मलाई केही भयो भने छोराको अवस्था के होला भनेर आत्तिएँ, उनले त्यो समय सम्झँदै भनिन्– त्यसले मेरो पीडा अझ थपेको थियो । सबैभन्दा धेरै त छोराकै माया लागेर आयो ।
अस्पतालमा उनको अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरबाट नजिकैको टल्सा सहरस्थित सेन्ट फ्रान्सिस अस्पताल पुर्याइयो । उनको ढाडबाट छिरेको गोली आन्द्रा, फोक्सो तथा पाठेघरमा समेत पुगेको रहेछ । स्टोरनजिकैको अस्पताल पुग्दा उनलाई केही होस थियो, तर हेलिकप्टरबाट अर्को अस्पताल पुर्याउँदा भने उनले आफूलाई केही पत्तो नभएको बताइन् । गोलीले कमजोर बनाएकाले उनी बेहोस भएकी थिइन् । बेलैमा अस्पताल पुर्याएर राम्रो उपचार पाएकाले रचनाको ज्यान बच्यो । एउटै गोलीले धेरैको ज्यान गएको सुनेकी थिएँ, रचना भन्दै थिइन्– आठवटा गोली खाएर पनि कसरी बाँचें, थाहा छैन । भाग्यले मलाई नयाँ जीवन दिएको छ । उपचारमा खटिने चिकित्सकको उपचारकै कारण सास धानिएकोमा उनले आफूलाई भाग्यमानी सम्झिएकी छिन् । घटनापछि सहयोग गर्ने स्वदेशी तथा विदेशी सबैलाई आफूले कहिल्यै बिर्सन नसक्ने रचनाले बताइन् ।
अस्पतालमा झन्डै १५ दिनको उपचारपछि उनी घर फर्किइन् । अहिले पनि उनी अरूको सहाराबिना हिँडडुल गर्न सक्दिनन् भने घरभित्र भित्ता समाएर हिँड्छिन् । श्रीमान् कपिलले नै उनको स्याहारसुसार गरिरहेका छन् । कम्मर, गाला तथा घाँटीमा लागेको गोली त अझै निकालिएको छैन । अझै पनि उनको शरीरको पीडा बिसेक भएको छैन । उनको उपचार गरिरहेका चिकित्सिकले सात–आठ महिनासम्ममा उनी पूर्ण स्वस्थ हुने वा त्यसभन्दा पनि लामो समय लाग्न सक्ने कुरा बताएका छन् । दुखाइ कम गर्न तथा आरामका लागि उनी दैनिक पाँच पटक ‘हाइडोज’ को पेनकिलर खान्छिन् । दबाई खाइनन् भने उनी दुखाइले रातभर निदाउन सक्दिनन् । गोलीले शरीर थिलथिलो भए पनि रचना अहिले बोल्न सक्ने र अरूको सहारामा घरभित्र सामान्य हिँड्न सक्ने भएकी छिन् । उनमा छोराका लागि जिउने आशा बढेर आएको छ ।
घटना घट्नुअघि उनीहरूले ओक्लोहामाबाट नेपालीहरूको बाक्लो बसोबास रहेको नजिकैको राज्य टेक्सासको अर्भिङमा बसाइँ सर्ने तयारी गरेका थिए । अपार्टमेन्ट बुक भैसकेको थियो । गएको अगस्ट १७ मा सर्ने तयारी गरिरहेका बेला जुलाई २३ मा उक्त दु:खदायी घटना घट्यो । घटनापछि उनीहरूले अपार्टमेन्टको बुकिङ रद्द गराए । सबै व्यवस्था सहज हँुदै बसाइ सर्न लाग्दाको उक्त घटनाले उनीहरूको सपना चकनाचुर पारिदियो । घरमै स्वास्थ्य लाभ गरिहेकी रचनाले भावुक हुँदै भनिन्— कति सपना सँगालेका थियौं, तर सबै यो घटनाले उडाइदियो । पहिलेजस्तो सामान्य जीवन त नहोला, तैपनि कहिलेसम्म यसरी पीडा सहेर अनि पेनकिलर खाएर जिउनुपर्ने हो, थाहा छैन ।
घटनालगत्तै अमेरिकामा रहेका नेपालीहरूले उनको जीवनरक्षाका लागि सहयोग जम्मा गरे । सहयोगका लागि गरिएको याचनासहितको ‘गो फन्ड’ मा झन्डै ७३ लाख रुपैयाँ जम्मा भयो । कल्पनै नगरेको घटना घट्यो, श्रीमान् कपिलले भने— यति ठूलो घटनामा परे पनि उनको ज्यान बच्यो, छोरा र मेरा लागि यो नै ठूलो खुसी बनेर आएको छ ।