श्याम भट्टराईद्वारा निर्देशित ‘मर्यादा’ बाट प्रारम्भ भएको द्वन्द्व निर्देशक हिमाल केसीको एक्सन–कटको करियर पछिल्लो चलचित्र ‘यात्रा’ सम्म आइपुग्दा १ सय ८५ कटेको छ । यो अवधिमा हिमालले प्राय: सबै नेपाली अभिनेतालाई फाइट गराइसकेका छन् । उत्कृष्ट द्वन्द्व निर्देशन गरेर दर्जनौं एवार्ड जितिसकेका हिमालले वर्ष २०७३ मा मात्र चलचित्र ‘भैरव’ का लागि नौ वटा एवार्ड थापेका थिए । प्राकृतिक शैलीको द्वन्द्व निर्देशन गरेर स्थापित भएका हिमाल चलचित्र ‘पिँजडा ब्याक अगेन’ मार्फत निर्देशनको क्षेत्रमा समेत सक्रिय भएका छन् । आगामी माघ महिनादेखि दोस्रो चलचित्रको निर्देशनमा सक्रिय हुने हिमालले द्वन्द्वमा अब्बल पाँच अभिनेता यसरी छनोट गरेका छन् ।
निखिल उप्रेती
निखिल उप्रेतीको मुभमेन्ट लोभलाग्दो छ । निखिल रियालिस्टिक तथा नेचुरल एक्सनमा फिट छन् । कुनै पनि दृश्य दिन उनी डराएको अनुभव मैले गरेको छैन ।
राजेश हमाल
अभिनेता राजेश हमालको शारीरिक बनावट नै आकर्षक छ । अग्लो कद अनि वलिष्ट शरीरका कारण हमालले १५–२० जना फाइटरलाई सजिलै ढलाएको देखाउँदा समेत फरक पर्दैन ।
विराज भट्ट
विराज भट्टको शारीरिक बनावट पनि एक्सन हिरोको जस्तै छ । उनी द्वन्द्वका दृष्यमा बाघ अथवा सिंह जस्तै डरलाग्दा देखिन्छन् । खासगरी एक्सनका लागि दौडने क्रममा उनी डरलाग्दा देखिन्छन् ।
आर्यन अधिकारी
नयाँ पुस्ताका यी अभिनेता पनि द्वन्द्वका दृष्यमा अब्बल छन् । आर्यनको पञ्चिङ एक्सप्रेसन डरलाग्दो मात्र होइन, प्राकृतिक पनि लाग्छ ।
सलिनमान बनियाँ
यी नयाँ अभिनेता अभिनयसँगै द्वन्द्वका विषयमा समेत राम्रो अध्ययन गरेर आएका छन् । अहिलेको पुस्तालाई जस्तो एक्सन मन पर्छ, उनी त्यही शैलीमा अब्बल छन् ।