अहिले अध्यक्ष प्रचण्डको ‘तातोपानी तस्बिर’ निकै चर्चित छ । गृहमन्त्री कमरेड बादलसहित म्याग्दीको तातोपानीमा उहाँहरू डुब्नुभएको छ । माफ गर्नुहोला, डुब्न–डुब्न लाग्नुभएको छ । टाउकोचाहिँ देखाउनुभएको छ ।
उक्त तस्बिरका बारेमा सामाजिक सञ्जालमा सामाजिक बहस भैरहेका छन् । असामाजिक सञ्जालमा असामाजिक कुराकानी चलिरहेका छन् । जल्दोबल्दो विषय यही छ । आउनुहोस्, यस विषय सबैको मंगल हुने छलफल गरौं ।
प्रचण्ड अन्तर्राष्ट्रिय छवि भएका नेता हुन् । उनले तातोपानीमा नुहाउँदा त्यो ठाउँलाई फाइदै हुन्छ । जस्तो कि, मोदीे मुक्तिनाथ गएर फर्किएपछि त्यहाँ भारतीय पर्यटकको ओइरो लाग्यो । भलै, ती पर्यटकले नेपाली माटोलाई मलदानबाहेक ठूलो आर्थिक उपार्जन भने दिएनन् ।
प्रधानमन्त्रीले मार्सी चामलको भात खाएपछि मार्सीको बजार ह्वात्तै बढ्यो । भलै, ख्वाउने र खानेको दोहोलो काढियो ।
यसैगरी प्रचण्ड परिवारले तातोपानी नुहाउनु आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुन्दर कुरा हो । बाह्य मिडियामा पनि यो तस्बिर गयो भने बाह्य पर्यटक पनि तातोपानीमा आउने सम्भावना छ ।
प्रचण्ड बिरामी पत्नी सीताको उपचार गर्न पनि त्यहाँ गएको देखिन्छ । यसलाई अन्यथा लिनुपर्छ जस्तो मलाई लाग्दैन, किनभने कसलाई कतिखेर के पर्छ, यसै भन्न सकिँदैन ।
तातोपानीमा चोपलिएपछि धेरै रोग निको हुने विश्वास छ । व्यक्ति प्रचण्ड, माता सीता, अंकल बादल, आन्टी वर्षात् सबैलाई स्वास्थ्य लाभको कामना । चाँडै उहाँहरूको स्वास्थ्य लाभ होस् ।
मूल कुरा, देशको प्रधानमन्त्री भैसकेको र पुन: प्रधानमन्त्री हुने सम्भावना बोकेको मान्छेका बारेमा टीका, टिप्पणी, चासो र आलोचना हुन्छ, चाहिन्छ र गर्नु पनि पर्छ । त्यो देश, समाज र व्यक्ति स्वयंका लागि पनि आत्ममूल्यांकन गर्ने मौका हुन सक्छ ।
तातोपानीको तस्बिर व्यक्तिगत हो, तर प्रचण्ड व्यक्ति मात्र होइनन्, संस्था पनि हुन् । कमरेड बादल पनि व्यक्ति मात्र होइनन्, गृहमन्त्री रामबहादुर थापा पनि हुन् । त्यसैले ‘तातोपानी काण्ड’मा केही बोल्नैपर्ने हुन्छ ।
हेलिकप्टर पाउने हो भने हरेक नेपाली तातोपानी जान चाहन्छन् । उनीहरूलाई पनि केही न केही रोग छ । तिनका पति वा पत्निहरू पनि बाथका रोगी होलान् । तातोपानीमा डुबिरहेका बेला यो कुरा सोच्नुभयो कि भएन, कुन्नि !
सोच्नुभयो भने त्यसलाई ब्यवहारमा लागू गर्न कुन योजनाको कल्पना गर्नुभयो ? हरेक नेपालीले तातोपानीमा नुहाउन सक्ने वातावरण कसरी बनाउने भन्ने विषयमा के मनन गर्नुभयो ? तपाईंहरूले तातोपानी नुहाउनुभयो, बहुत राम्रो भयो तर हरेक जनताले यो अवसर पाउन के–के गर्ने सपना बुन्नुभयो, त्यो प्रमुख कुरा हो ।
त्यसो त नेपाली जनता तातोपानीसँग साक्षात् गरिरहन्छन् । त्यसमा पनि नेतृत्वको ठूलो योगदान छ । तातोपानीमा डुब्दा मज्जा आउँछ तर तातोपानी खन्याउँदा बहुत गाह्रो हुन्छ ।
हामीमाथि धेरै पटक तातोपानी खन्याइएको छ । कहिले हाम्रा सपनामा तातोपानी खन्याइन्छ । कहिले हाम्रा योजनामा तातोपानी खन्याइन्छ । चुनावका बेला कहिलेकाहीं तातो लाउनुहुन्छ, त्यसपछि त्यो तातो मूतको तातो (न्यानो) मात्र हुनपुग्छ ।
तपाईंको तातोपानीको तस्बिर देखेपछि यति भन्नै कर लाग्यो— हाम्रा इच्छा र अपेक्षाहरूमा तातोपानी खन्याउने काम धेरै भयो । खन्याएको तातोपानी बगेर जान्छ । त्यसैले अब तातोपानी खन्याउने होइन, तातोपानीमा डुबाउने र जनताका दु:ख निको पार्ने काम गर्नुपर्छ ।
तताएको तातोपानी खन्याउने धेरै आए, म्याग्दीको जस्तो तातोपानीमा डुबाएर जनतालाई रोग र शोकबाट निकाल्नेचाहिं कसले होला ? माधव नेपालले भनेझैं, कोही त बताइदेऊ †