सपना धेरैले देख्छन् तर कमैका पूरा हुन्छन् । निदाउँदा सपना देख्नेहरूले भन्दा बिउँझदा सपना देख्नेहरूले संसारमा परिवर्तन ल्याएका छन् । सपनै नदेख्ने मानिस कमै हुन्छन् तर सपनालाई पछ्याएर गन्तव्यसम्म पुग्ने धैर्य एवं लगनशीलता साहसीहरूसँग मात्र हुन्छ ।
मानिसहरू यथास्थितिवादी र प्रगतिशील दुई प्रकारका हुन्छन् । पहिलो प्रकारका मानिसहरू भएको कुरामा चित्त बुझाएर र रमाएर बस्ने खाले हुन्छन् भने दोस्रो खालका मानिसहरू सदैव नयाँ कुराको चिन्तन गर्दै परिवर्तन खोजिरहन्छन् । अरूले संभव हुँदैन भनेको कुरा सोच्नेहरूले र हिँड्नु हुँदैन भनेको बाटो हिँड्नेहरूले नै संसारमा चमत्कार गरेका छन् । कैयन मानिसहरू सपना देख्न पनि डराउँछन् । एकजना गरिबले धनी भएको सपनै देख्न डरायो भने ऊ कहिल्यै धनी हुन सक्दैन जब सपना देखिन्छ तब बाटो र उपायको खोजी सुरु हुन्छ । पहिलो पाइला चाल्नेले नै अन्तिम पाइला टेक्न सक्ने हो । कल्पनासम्म गर्न कसको के जान्छ ? एकछिन यसो आँखाचिम्म गरेर आफूलाई के–के बन्न मन लाग्या हो कहाँ–कहाँ जान मन लाग्या हो के–के किन्न मन लाग्या हो कल्पना गरौं त ?
कल्पनामै सही सबै कुरा पाएको पुगेको महसुुस गरेर दंग पर्न कसलाई के नै तिर्नुपर्छ र ? होइन हामीले त त्यस्तो सोच्नै हुँदैन हाम्रो हैसियत नै पुग्दैन हाम्रो क्षमता नै पुग्दैन भनेर आफूलाई निरीह मानि बस्ने हो भने कहिल्यै प्राप्त गर्न सकिँदैन । नित्से भन्छन्– पर्खालहरू बीचमै बाटो हुन्छ । जहाँ अवरोध आउँछ निकास पनि त्यहींबाट निस्कन्छ ।
कुनै नयाँ कामको कल्पना गर्दा वा सपना देख्दा र त्यो कुरा अरूलाई सुनाउँदा नहुने कुरा, मूर्ख कुरा भन्नेहरू धेरै हुन्छन् । हौसला दिनेभन्दा हच्कानेहरू बढी भेटिन्छन् । गरेर देखाएपछि पत्याउनेहरू र पछि लाग्नेहरू समाजमा धेरै हुन्छन् । अगुवा हुने गुण र हिम्मत साहसीसँग मात्र हुन्छ । आज संसारमा भएका अत्याधुनिक प्रविधि र सामग्रीहरूको आविष्कार कुनै दिन कसैको लहड वा मूर्खतापूर्ण सपना थियो । आकासमा उडेको सपना देख्नु, चन्द्रमा र मंगलग्रहमा पुग्ने सपना देख्नु, इन्टरनेटको, बिजुलीको, टेलिभिजन र टेलिफोनको सपना देख्नु आफैंमा एक अद्भुत कुरा थियो । आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ भनेर मानिसहरू क्षमतालाई सीमित गर्न खोज्छन् तर बहुलठ्ठीहरू ठूलो हाड पसाएर आफ्नो घाँटी ठूलो पार्नेतर्फ लाग्छन् ।
स्टिभ जब्सले स्मार्टफोन आइफोनको सपना देख्नु वा जुकरबर्गले सामाजिक सञ्जालमार्फत संसारलाई जोड्ने सपना देख्नु दुस्साहस नै थियो । सपना देख्ने बेलामा एक झिल्कासम्म आएको हुन्छ अन्तिम आकार वा निचोड के हुन्छ कस्तो बन्छ थाहा हुँदैन । सपना पूरा गर्ने प्रक्रियामा लाग्दा अनेक हन्डर खानुपर्छ, बेला–बेलामा निराशाजनक मोड पनि आउँछन् तर सपना देख्नेहरू सजिलै हिम्मत हार्दैनन् । दुनियाँले यो खुस्कियो यो बहुलायोसम्म भन्न बाँकी राख्दैनन् तर त्यही खुस्किएको मानिसले जब अन्तिम तार जोडेर कुनै आविष्कार गर्छ तब त्यही दुनियाँले उसैको वाहवाही गाउँछन् ।
आफैंले सपना देख्नेहरू र अरूले देखाइ दिएको सपनामा लाग्नेहरू पनि उत्तिकै हुन्छन् । जस्तै एउटा घरमा छोराछोरीका एकथरी सपना हुन्छन् भने बाबुआमाका अर्कै थरी सपना हुन्छन् । बाबुआमाका सपना पूरा गर्ने कि आफ्नो सपना पछयाउने दोधार भएर बाटो बिराएका छोराछोरीहरू पनि हुन्छन् । अरूका छोराछोरी एउटा काम गरेर सफल भएभन्दैमा आफ्नालाई नि त्यही गर त्यस्तै बन भनेर भन्नु मूर्खतापूर्ण काम हो । छोराछोरीलाई आफ्नो सपनाको उडानमा सफर गर्न दिनुपर्छ । सबैको आ–आफ्नै सोच एवं लक्ष्य हुन्छ । आफ्नो रुचिअनुसार मानिसले के बन्ने सपना देखेको हुन्छ । पूर्वतिर हिँड्न लागेको मानिसलाई पश्चिमतिर जानुपर्छ भनेर जोर गर्नु र आफ्नो अहंको तृप्तिका लागि कसैको सपनालाई तिलाञ्जली दिन लगाउनु हुँदैन । अरूसँग दाँजेर र अरूको गतिमा दौडन खोजेर लक्ष्यमा पुग्नेभन्दा पनि दुर्घटनामा पर्ने डर बढी हुन्छ । घरका मानिसले दिलखोलेर भन्न सक्नुपर्छ जे गर्छौं गर तर प्रस्ट भएर गर । जे बन्न मन लाग्छ बन तर दायाँ–बायाँ नअल्झ । अरूले गरेको काममात्र राम्रो भन्ने हुँदैन । जुनसुकै क्षेत्र र जुनसुकै बाटो हिँडेर पनि सफल अनि असल मानिस हुन सकिन्छ ।
कुरा यत्ति हो सपना देख्न नछोडौं । अरूले उडाए भन्दैमा तर्साए भन्दैमा बीचमै भागेर नहिँडौं । कहिलेकाहीँ जीवनमा कसैलाई कुरा बुझाउन सकिएन भने एक्लै भए पनि यात्रा गर्नुपर्छ । आफू पुगेर देखाएपछि अरू पनि पछि लागेर आउँछन् । के तपार्इंहरू आफ्नो सपनालाई पछयाउँदै हुनुहुन्छ कि अरूको पछि लाग्दै हुनुहुन्छ ?तपाईं के बन्न चाहनुहुन्थ्यो के बन्नुभयो ? तपाईंलाई कसले रोक्यो ? कसले छेक्यो ? अझै पनि आफ्ना सपनामा अघि बढ्ने बाटो र समय बाँकी छ कि ? एकफेर सोच्नुस है ।
Facebook.com/abeeralthapa
Twitter@abeeralthapa