साप्ताहिक संवाददाता
सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’ हुने भएको छ । चाहाना मिडियाले आयोजना गर्न लागेको यो रियालिटी शो फागुन दोस्रो साताबाट प्रसारण हुने भएको छ ।
नेपाल लोक स्टारका विजेतालाई नगद ५० लाख रुपैयाँ दिने आयोजकले जनाएको छ । दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने पनि आयोजकको भनाई छ ।
३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजन, नेपाल टेलिभिजन, प्राइम टेलिभिजन र सुसेली टेलिभिजनबाट प्रशारण हुनेछ ।
कार्यक्रमको निर्णायकमा लोकगायक तथा कलाकार जयनन्द लामा, संगीतकार बिबि अनुरागी, गायक रामजी खाँड र गायिका सुनिता दुलाल रहने छन् ।
सातवटै प्रदेशबाट प्रतिस्पर्धी छनोटका लागि अडिसन लिइने छ भने नेपाल लोक स्टारको मोवाइल एपबाट पनि भिडियो अडिसन दिन सकिने छ । अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । माघको पहिलो साता पहिलो अडिसन लिन प्रत्येक प्रदेशमा आउने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । २० बाट १० सम्म ५०/५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्मपूर्ण अधिकार दर्शकको भोटमा रहने आयोजकले जानकारी दिएको छ ।