साप्ताहिक संवाददाता
व्यक्तिगत रोमाञ्चकताका लागि धेरै जोडीले विभिन्न मुलुकका ऐतिहासिक धरोहरमा अश्लील क्रियाकलाप गरेका तस्बिर सामाजिक संजालमा अपलोड गर्ने चलन बढिरहेको छ । केही महिनाअघि ब्रिटिस युवायुवतीहरूको आकर्षण ग्रिसको समुद्री तट रोडिसस्थित सेन्ट पाउल चर्च थियो ।
उक्त चर्चमा गएर विवाह गरेपछि चर्च बाहिर अश्लील क्रियाकलाप झल्कने तस्बिर खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने दम्पतीको संख्या लगातार बढिरहेको थियो । इन्डोनेसियाको बालीमा पनि पश्चिमा पर्यटकहरू अश्लीलता झल्किने तस्बिर खिचाएर चर्चा कमाउने होडमा हुन्थे । अहिले ती दुवै क्षेत्रमा सरकारले अश्लील गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।
यस्तै किसिमको अर्को घटना हालै इजिप्टको मुख्य पिरामिडको माथिल्लो भागमा घटेको छ । डेनिस फोटोग्राफर एन्ड्रियास हिभिडले आफ्नी प्रेमिकालाई पिरामिडको माथिल्लो भागमा लगेर निर्वस्त्र भएर अश्लील गतिविधि गरेको तस्बिर सार्वजनिक गरे । साँझको समयमा भएको उक्त गतिविधिसम्बन्धी उनले बनाएको भिडियो युट्युबमार्फत् सार्वजनिक भयो ।
यो घटना पछि ईजिप्टले पिरामिडमा बिदेशी पर्यटकहरूको आवागमनसम्बन्धी नयाँ नियम बनाउने भएको छ । उता फोटोग्राफर एण्ड्रियासले सधैं नयाँ किसिमको तस्बिर खिच्न चाहने भएका कारण आफूले उक्त तस्बिर खिचेको बताएका छन् ।