साप्ताहिक संवाददाता
सिडी विजय अधिकारी
सिडी विजय अधिकारी द भ्वाइस अफ नेपालका विजेता हुन् । द भ्वाइसका ४ जना कोंच मध्येबाट दिप श्रेष्ठको टिमबाट अधिकारी पहिलो द भ्वाइस अफ नेपाल घोषित भएका हुन् । पोखरामा जन्मिएका अधिकारीलाई ब्लाइण्ड राउण्डमा कोंच प्रमोद खरेलले आफ्नो टिममा पारेका थिए । त्यसपछि ब्याटल राउण्डमा प्रमोदले अधिकारीलाई छाडेर योगेन्द्र उपाध्यायलाई रोजे । यद्यपि अधिकारीलाई भने कोंच दिप श्रेष्ठले स्टिल गरेर आफ्नो टिममा ल्याए । अन्तत: आज तिनै अधिकारी पहिलो द भ्वाइस अफ नेपाल भएका छन् । पोखराको मदरल्याण्ड स्कुलमा पढेका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छन् । अधिकारी यसअघि पी एन सी आइडलको विजेता हुन् भने उनले खोजी प्रतिभा–२ तथा प्रथम विग आइकन–२०१० मा दोस्रो स्थान हात पारेका थिए । यस्तै, रेडियो नेपालको २०७४ सालको वार्षिकोत्सवमा आधुनिक संगीतअन्तर्गत अधिकारी प्रथम भएका थिए ।
सिर्जय थपलिया
सिर्जय थपलिया विराटनगर हाटखोलाका हुन् । विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयबाट बीबीए अध्ययन पूरा गरेका थपलिया द भ्वाइसका फाइनालिस्ट हुन् । उनलाई ब्लाइण्ड अडिसनबाट कोंच अभया सुब्बाले बज गरेर आफ्नो टिममा ल्याएकी थिइन् । यस्तै ब्याटल राउण्डमा सिर्जयले अर्की प्रतिस्पर्धी आश्रा कुँवरसँग प्रस्तुति दिएका थिए जसमा कोंच अभयाले आश्रालाई छानेकी थिइन् । त्यस लगत्तै कोंच प्रमोद खरेलले सिर्जयलाई स्टिल गरेर आफ्नो टिममा ल्याएका थिए ।
सप्तक दुतराज
सप्तक दुतराज काठमाडौं कालिमाटीका हुन् । दुतराजले अनामनगरस्थित लिबर्टी कलेजबाट बीबीए अध्ययन पूरा गरेका हुन् भने उनले डनबस्को कलेजबाट विज्ञानमा प्लस टु गरेका हुन् । द भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा सप्तकलाई कोंच सनुप र प्रमोदले बज गरेका थिए । अन्तत: सप्तकले सनुपलाई रोजे । यस्तै ब्याटल राउण्डमा पनि सनुपले सप्तकलाई छानेर यहाँसम्मको यात्रा तय गराएका थिए ।
कुशल आचार्य
कुशल आचार्य झापा काँकडभिट्टाका हुन् । उनी हाल तिनकुनेस्थित आइएसएमटी कलेजमा आइटीमा अध्ययनरत छन् । सानै उमेरदेखि गीत गाउँदै आएका कुशललाई ब्लाइण्ड अडिसनमा कोंच अभयाले बज गरेर आफ्नो टिममा ल्याएकी थिइन् । यस्तै, ब्याटल राउण्डमा पनि उनले आफ्नो टिममा ल्याएपछि आचार्यले फाइनलसम्मको यात्रा तय गरेका हुन् । कुशल केही समय अघिसम्म बार तथा क्लबहरूमा गीत गाउँथे ।