साप्ताहिक संवाददाता
सालको पातको टपरी हुनी गीत अहिले मानिसहरूको ओठमा छ । यो गीत सुन्नेबित्तिकै बालक, वयस्कदेखि वृद्ध–वृद्धासम्मका कान ठाडा हुन्छन्, जिब्रो सलबलाउन थाल्छ । यो गीतले लोकदोहोरी इतिहासमा सबैभन्दा बढी २ करोड २५ लाखभन्दा बढी भ्युज पाएर कीर्तिमान नै कायम गरेको छ । गायक कुलेन्द्र विश्वकर्मा तथा गायिका विष्णु माझीको स्वरको यो गीत सामाजिक सञ्जाल टिकटकमा समेत त्यत्तिकै हिट छ ।
गायक नारायण रायमाझी, प्रकाश सपूत तथा गायिका शान्ति श्री परियारको स्वरको बोल माया लोकगीतले पनि युट्युबमा राम्रो भ्युज पाइरहेको छ । करिब ७ महिना अघि युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतले पनि करोडकै हाराहारीमा भ्युज पाएको छ । उक्त गीतमा गायक सपूतको शब्द तथा संगीत छ, जसमा वैदेशिक रोजगारीको सिलसिलामा परदेसिएका श्रीमान् बित्दाको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोमा प्रकाश सपूत, अञ्जली अधिकारी, देवेन्द्र बब्लु तथा सितारे गन्धर्वको अभिनय हेर्न पाइन्छ ।
कान्छी ओई कान्छी शीर्षकको लोकदोहोरी गीतले पनि अहिले राम्रो चर्चा पाइरहेको छ । उक्त गीतमा गायक बद्री पंगेनी तथा प्रिया भण्डारीको स्वर छ । यो गीतले युट्युबमा हालसम्म २५ लाखभन्दा बढी भ्युज पाएको छ । करिब ११ महिना अघि सार्वजनिक उक्त गीतमा एकनारायण भण्डारीको शब्द तथा संगीत छ । गीतको भिडियोमा शंकर बीसी, रश्मि तामाङ, सुशील सूर्यवंशी एवं दीपिका चौधरीले अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशक मोडल तथा निर्देशक शंकर बिसीले गरेका हुन् ।
पशुपति शर्माको रंगशाला जत्री गीतले पनि युट्युबमा राम्रो भ्युज पाएको छ । उक्त गीतमा शर्मासँगै गायिका सीता केसी तथा माया गुरुङको स्वर सुन्न सकिन्छ । करिब ७ महिनाअघि सार्वजनिक उक्त गीतले हालसम्म युट्युबमा ५४ लाख भन्दा बढी भ्युज पाएको छ ।
गायक बद्री पंगेनी तथा रूपा घर्तीमगरको स्वरको पानी सलल गीतले युट्युबमा १४ लाखभन्दा बढी भ्युज पाएको छ । एकनारायण भण्डारीको शब्द एवं संगीतको उक्त गीतको भिडियोमा दुर्गेश थापा र जुना सुन्दासले अभिनय गरेका छन् ।
काँठ क्षेत्रका चर्चित गायक सरोज लामिछानेको धानको बाला लसरी पसरी लोकदोहोरी गीतले पनि युट्युबमा राम्रो भ्युज पाएको छ । ११ महिनाअघि सार्वजनिक यो गीतले युट्युबमा १३ लाखभन्दा बढी भ्युज पाएको छ । उक्त गीतमा गायक लामिछानेसँगै गायिका प्रमिला तामाङले स्वर दिएकी छिन् । उक्त गीतको भिडियोमा सञ्जीव ठकुरी, एलिना देउजा, सरोज तथा प्रमिलाको अभिनय हेर्न पाइन्छ ।
दर्शक–श्रोताको अपार माया पाएको अर्को गीत हो– फुल्यो बाबरी । करिब २ वर्षअघि सार्वजनिक यो गीतले पनि एकदमै चर्चा पायो । यो गीतमा गायिका प्रीति आले तथा गायक कुमार पुनको स्वर छ । यो गीतले युट्युबमा हालसम्म ४१ लाख भन्दा बढी भ्युज पाइसकेको छ । सुवास केसीको शब्द तथा बसन्त थापाको संगीतको उक्त गीतमा आफ्नो जहान परिवारलाई छाडेर परदेसिनुपर्दाको पीडा प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा सुवास केसी र रञ्जिता गुरुङको अभिनय छ ।
उही खोलीमा पानी लोकदोहोरी गीतले पनि युट्युबमा राम्रो चर्चा पाइरहेको छ । करिब दुई वर्षअघि युट्युबमार्फत सार्वजनिक भएको यो गीतले करोडभन्दा माथि भ्युज पाएको छ । यो गीतमा राजन गुरुङ तथा देवी घर्तीको स्वर सुन्न सकिन्छ । केशव पौडेलको शब्द तथा वसन्त थापाको संगीतको यो गीतको भिडियोमा करिश्मा ढकाल, राजन गुरुङ, रश्मी तामाङ, बसन्त थापा आदिले अभिनय गरेका छन् ।