साप्ताहिक संवाददाता
रेडियो कान्तिपुरको २० औं वार्षिकोत्सव अवसर पारेर शनिबार राजधानीमा आयोजित नेसनल म्युजिक अवार्डमा शिव परियार र दुर्गा परियारले सर्वोत्कृष्ट आधुनिक गायन विधाको अवार्ड उचाल्न सफल भएका छन् । शिव परियारले ले ‘आँसुको अर्थ...’ बोलको गीतबाट गायन विधाको अवार्ड जित्दा दुर्गाले ‘वन फूल...’ बाट जितेकी अवार्ड उचाल्न सफल भईन् । ‘वन फूल...’ बाटै रमेश बिजी गीतकारको अवार्ड जित्न सफल भए ।
राजधानीको होटल सोल्टीमा झन्डै तीन घण्टा सांगीतिक कार्यक्रमसहित चलेको अवार्ड समारोहमा गायक तथा संगीतकार माणिकरत्नलाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरियो । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले माणिकरत्नलाई दोसल्ला ओढाउँदै ताम्रपत्रसहित एक लाख रुपैयाँ प्रदान गरी सम्मान अर्पण गरेका थिए ।
सम्मानलगत्तै भविन ढुंगाना र विश्व नेपालीले माणिकरत्नका कालजयी गीत गाएर सांगीतिक सम्मान व्यक्त गरेका थिए । पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’ मा पाश्र्व गायन दिएका माणिकरत्नले ६ दशक अवधिमा तीन दर्जन बढी गीतमा संगीत तथा स्वर दिएका छन् ।
अवार्डमा रोहित जोन क्षेत्री, निखिता थापा, प्रविशा अधिकारी, कुलेन्द्र विक, सन्ध्या बुढा, सुगम पोखरेललगायतले सांगीतिक प्रस्तुति दिएर समारोहलाई भव्य बनाएका थिए भने मनोज गजुरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तो बनेर कमेडी प्रस्तुत गरेका थिए ।
त्यसैगरी, सुगम पोखरेलले चलचित्र ‘ब्ल्याक’ को ‘पल पल...’ बोलका लागि सर्वोत्कृष्ट पाश्र्व गायकको अवार्ड उचाल्दा बानिका प्रधानले पाश्र्व गायिकातर्फ चलचित्र ‘ब्लाइन्ड रक्स’ को ‘उड्यो मन...’ बोलको गीतका लागि अवार्ड जितिन् । सन्तोष केसीले ‘दाइकी साली...’ का लागि र शान्तिश्री परियारले ‘बोल माया...’ बाट सर्वोत्कृष्ट लोक गायक/गायिकाको अवार्ड उचाले ।
पपतर्फ भने ‘हाँस्न सिकें...’ का गायक कमल खत्री र ‘माया लुकीलुकी...’ की टीका प्रसाईं प्रतिस्पर्धीलाई पछि पार्दै सर्वोत्कृष्ट गायक, गायिकामा दरिए । यस वर्ष ‘मन मगन...’ बाट चर्चामा रहेको सांगीतिक समूह ‘रिदम’ सर्वोत्कृष्ट ब्यान्ड बन्यो भने, ‘तिमी राजी म राजी...’ गीतबाट राजेश केसी र सुजाता उपाध्यायले युगल गायनको अवार्ड जिते ।
१६ विधामा अवार्ड प्रदान गरिएको नेसनल म्युजिक अवार्डमा सर्वोत्कृष्ट राष्ट्रगीत ‘पूर्व तिम्रो...’ चयन हुँदा निशान भट्टराई र शीतल पाण्डेले अवार्ड जिते भने पिपुल्स च्वाइस अवार्ड नितेशजंग कुँवरले ‘हाम्रो नेपालमा...’ का लागि प्रतिस्पर्धीलाई उछिने । पहिलो संस्करणका नेपाल आइडल बुद्ध लामा भने ‘तिमी साथ भएपछि...’ का लागि सर्वोत्कृष्ट नव–गायक घोषित भए । त्यसैगरी, हरि लम्सालले ‘उड्यो मन...’ बाट संगीतकारको अवार्ड थापे ।
रेडियो कान्तिपुरको वार्षिकोत्सव तथा अवार्ड कार्यक्रममा बोल्दै कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शिरोहियाले रेडियोले गीत, संगीतबापत् दिइने रोयल्टीलाई निरन्तरता दिने बताउँदै श्रोतासँग रेडियोलाई अझ नजिक बनाउन राष्ट्रियस्तरका विभिन्न रियालिटी रेडियो सोहरू थप्दै लैजाने उल्लेख गरे । रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसीले सर्जकहरूलाई पिठयूँमा धाप मार्ने र ऊर्जा प्रदान गर्ने खालका कार्यक्रम रेडियोले दिँदै जानेमा विश्वास दिलाए ।