साप्ताहिक संवाददाता
पुरुषबाट महिलामा रूपान्तरण भएकी मलेसियाकी एक धनाढ्य व्यवसायीलाई मुस्लिम धर्मगुरुहरूले पुरानै अवस्थामा फर्कन चेतावनी दिएका छन् । सौन्दर्य प्रसाधन उद्योगी साफिइ इलियासलाई स्थानीय धर्मगुरुले पहिलेको जस्तै पुरुष भेषमा फर्कन भनेका हुन् ।
इलियास आफ्नो व्यापार सौन्दर्यको क्षेत्रमा भएको र आफूलाई ग्ल्यामरको क्षेत्र मनपर्ने हुनाले पनि महिला भेषमा प्रस्तुत भएको तर्क गर्छिन् । परिवर्तित लिंगका कारण इलियास सौन्दर्य प्रसाधनको उत्पादनको क्षेत्रमा मात्र नभएर सामाजिक सञ्जालमा समेत उत्तिकै लोकप्रिय छिन् । सन् २०१६ मा पुरुषबाट महिला भएकी इलियासले आफ्नो विलासी जीवनका तस्बिर इन्स्टाग्राममा अपलोड गर्न थालेपछि उनी धेरैको चासोमा परेकी थिइन् ।
मलेसियाको कानुनअनुसार कसैले पनि लिंग परिवर्तन गर्न पाउँदैन भने समलिंगी सम्बन्ध, विवाहजस्ता कुरालाई अपराध मानिन्छ । यस्ता क्रियाकलापमा लाग्ने व्यक्तिहरूको धर्मको नाममा हत्यासमेत हुने गरेको छ ।