साप्ताहिक संवाददाता
पुष्प खड्का, अभिनेता
मैले महेन्द्रनगरस्थित बैजनाथ सेकेन्डरी स्कुलबाट प्लस टु गरें । प्लस टुमा मैले विज्ञान विषय लिएर अध्ययन गरेको थिएँ । त्यसपछि काठमाडौं आएर मैले कान्तिपुर सिटी कलेजमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन अध्ययन गरें । मैले पूरै सेमेस्टर अध्ययन गरें । म पढाइमा एकदमै राम्रो थिएँ । पहिलो सेमेस्टरमा मैले डिस्टिङ्सन ल्याएको थिएँ, तर मैले दोस्रो सेमेस्टरमा पुगेपछि डान्स सिक्न र सिकाउन थालें, जसले गर्दा मेरो पढाइ खस्कियो । मेरो ध्यान पढाइमा भन्दा कलाकारितामा बढी जान थाल्यो । जसको फलस्वरूप पाँचौं सेमेस्टरमा म सी प्लसमा पुगेर उत्तीर्ण हुन सकिनँ, जुन विषयलाई मैले आजसम्म पूरा गर्न सकेको छैन । मेरो पढाइ अधुरै रह्यो ।
फिल्मी विषय नपढ्नु
मैले प्लस टु अनि स्नातक तहमा साइन्स एन्ड टेक्नोलोजीको सट्टा फिल्मी विषयमा अध्ययन नगरेर ठूलो गल्ती गरें जस्तो लाग्छ । आज मेरो घरमा साइन्ससम्बन्धी थुप्रै पुस्तक छन् । अहिले मलाई ती कुनै पनि पुस्तक काम लाग्दैनन् । यदि मैले फिल्मी क्षेत्रकै विषयमा अध्ययन गरेको भए आज धेरै सजिलो हुन्थ्यो भन्ने लाग्छ ।
मुम्बईमा अभिनय र डान्स नसिक्नु
प्लस टुको अध्ययनपछि म अभिनय र नृत्य सिक्न मुम्बई गएको थिएँ । त्यहाँ मैले एउटा इन्स्टिच्युटमा फर्म पनि भरें, तर मैले त्यहाँ अभिनय र नृत्य सिक्ने आँट गरिनँ । अन्तत: नेपाल फर्किएर अनुप बराल सरसँग अभिनय सिकँे । यदि मैले मुम्बईमा अभिनय सिकेको भए अझ राम्रो गर्थें कि ?
स्किन केयर गर्न नसक्नु
टिनएजमा हुँदा मेरो अनुहारमा थुपै्र पिम्पल्स आएका थिए । म एकदमै तनावमा थिएँ । मलाई धेरैले यो औषधी प्रयोग गर त्यो औषधी प्रयोग गर भनेर सुझाव दिए । तिनै सुझाव अनुसार आफ्नो अनुहारमा अनेक थरीका औषधी प्रयोग गर्नाले अहिले मेरो अनुहारमा हल्का पिम्पल्सको दाग देखिन्छ । मैले बेलैमा आफ्नो अनुहारको केयर नगरेर ठूलो गल्ती गरेछु जस्तो लाग्छ ।
ट्युसन गएँ भनेर ढाँट्नु
म कक्षा ३ मा भारतको पुनेमा अध्ययन गर्थें । त्यहाँ म आफ्ना हजुरबुबा र बुबासँग बस्थें । त्यतिबेला मेरो पढाइ कमजोर भयो भनेर मलाई ट्युसन हालिएको थियो । यद्यपि मचाहिँ ट्युसन नगएर नजिकैको साइबाबा मन्दिरतिर घुमेर बस्थें । यो कुरा मेरो हजुरबुबाले थाहा पाएर मलाई पिट्नु पनि भयो, साथै त्यो वर्षको मेरो पढाइसमेत बिग्रियो ।