साप्ताहिक संवाददाता
नेपालमा हिउँसँग सम्बन्धित खेलको सम्भाव्यता कति छ भन्ने प्रश्न सोध्ने हो भने धेरै नै महत्वाकांक्षी योजनाहरू अघि सारिन्छ । सयौं हिमालले भरिएको नेपालमा धेरैले हिउँ खेलकुद व्यापक होला भन्ने अनुमानसमेत गर्छन्, तर त्यस्तो अनुमान सोह्रै आना गलत सावित हुन्छ । नेपालले हिउँसँग सम्बन्धित खेलको सम्भाव्यताको खोजी गरेको वर्षौं भैसकेको छ । यसका लागि नेपालमा स्की संघसमेत गठन भएको लामो समय बितिसकेको छ । यही संघमार्फत नेपालले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । हिउँ परेका बेला बिनापूर्वाधार अभ्यास गर्दा अब यो खेलको व्यापक सम्भावना छ भनेर भ्रमको खेती गरिन्छ ।
विश्वमा हिउँसँग सम्बन्धित खेलको अवधारणा आएको एक शताब्दी भैसकेको छ । सन् १९२४ मै हिउँदे ओलम्पिकको पहिलो प्रतियोगिता फ्रान्सको चोमोनिक्समा सम्पन्न भएको थियो । उक्त प्रतियोगिता भएको ७८ वर्षपछि नेपाल पहिलो पटक सन् २००२ मा अमेरिकाको साल्टलेक सिटीले आयोजना गरेको १९ औं हिउँदे ओलम्पिकमा सहभागी भएको थियो । उक्त प्रतियोगितामा नेपालका तर्फबाट जयराम खड्काले क्रसकन्ट्री रेसमा सहभागिता जनाएका थिए । नेपालले सन् २००६ को हिउँदे ओलम्पिकमा दाछिरी शेर्पालाई सहभागी गरायो । दाछिरी सन् २०१४ मा रसियाको सोचीमा सञ्चालित हिउँदे ओलम्पिक प्रतियोगितासम्म नेपालका एक मात्र सहभागी हँुदै आएका थिए । सन् २०१८ को फ्रेबु्रअरीमा दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न हिउँदे ओलम्पिकमा भने नेपालका तर्फबाट कुनै खेलाडी सहभागी भएनन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजना गर्ने हिउँदे ओलम्पिक अहिले हिउँसँग सम्बन्धित खेलहरूको सर्वाधिक ठूलो प्रतियोगिता मानिन्छ । यो प्रतियोगिताको आयोजना केवल हिउँ पर्ने सहरहरूले मात्र आयोजित गर्छन् । कतिपय स्पर्धाका लागि कृत्रिम हिउँसमेत प्रयोग हुन्छ । मूलत: हिउँसँग सम्बन्धित खेलको संख्या निकै कम अर्थात् एक दर्जनको हाराहारीमा छन् । हिउँदे ओलम्पिकमा समावेश गरिने खेलहरूमा फिगर स्केटिङलाई विश्वकै सर्वाधिक ग्ल्यामरस खेल मानिन्छ । यो खेलमा जोडी तथा एक्लैले विभिन्न धुनमा नृत्य गरिन्छ ।
आइस होटल
संसारमा केही यस्ता प्रसिद्ध होटलहरू छन्, जुन हिउँबाट निर्माण गरिएका हुन् । बस्नका लागि उपयुक्त यस्ता होटल संसारमा बेग्लै पहिचान बनाउन सफल छन् ।
द जुभेट होटल
आधुनिक सजावट भएको द जुभेट होटल नर्वेको भल्दलमा छ । उक्त ठाउँको भौगोलिक बनावट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । होटलका कर्मचारीको मित्रवत् व्यवहारले यहाँको बसाइलाई सुखद बनाउँछ । यो होटल नजिकै फार्म हाउस पनि भेटिन्छन् ।
ह्वाइटपड् होटलस्वीट्जरल्यान्डको मन्देस्थित
ह्वाइटपड् होटल इको लक्जरी होटल हो । यो होटल शान्त जंगलको बीचमा अवस्थित छ । यहाँ बस्ने क्रममा स्की खेल्न तथा प्याराग्लाइडिङ गर्न पाइनुका साथै हिमालसमेत अवलोकन गर्न सकिन्छ । यहाँ दाउरा बालेर आगो ताप्दै डिनर गर्न पाइने व्यवस्था छ ।
आइस होटल
जोडीहरू बस्न, रमाइलो गर्न, बिदा मनाउन स्वीडेनको आइस होटल उपयुक्त छ । यो होटलमा समय बिताउँदा जीवनकै यादगार पल सँगाल्न सकिन्छ ।
बिग फोर आइस केभ्स
यदि विवाह वा इंग्जेमेन्ट गर्दै हुनुहुन्छ भने वासिङ्टन, अमेरिका बिग फोर आइस केभ्सलाई रोज्न सक्नुहुन्छ । संसारका धेरै ठाउँबाट विवाह वा इंग्जेमेन्टका
लागि यो होटल पुग्नेहरू प्रशस्तै हुन्छन् ।
आइस होटल ३६५
जुक्कासजाभ्री, स्वीडेनको आइस होटल ३६५ मा २० जना अतिथि अटाउने क्षमता छ । यहाँ आइसबारको सुविधा छ भने सिंगल तथा डबल रुमको व्यवस्था पनि छ ।
लेभी इग्लोस्
यदि तपाईं आफ्नो जोडीसँग घुम्न चाहनुहुन्छ वा परिवारसहित घुमघाममा निस्कनुभएको छ भने लेभी, फिनल्यान्डको लेभी इग्लोस होटल उपयुक्त सावित हुनसक्छ । यहाँ सुन्दर दृश्यहरू अवलोकन गर्न तथा स्की खेल्न सकिन्छ ।
होटल डु
क्यानाडाको होटल डु आइस बार, आइस क्याफे, सुइट्स, फायर प्लेस, स्पा आदि तमाम सुविधा भएको होटल हो । यहाँ आइस स्केटिङ, स्की आदि सुविधा उपलब्ध छन् ।
रसुवामा स्की
रसुवाको लाङटाङस्थित क्यान्जिङ उपत्यकामा सन् २०१६ को हिउँदमा प्रथम राष्ट्रिय स्की च्याम्पियनसीप प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ प्रथम, सोलुका छिरिङ तेन्जिङ शेर्पा दोस्रो तथा काठमाडौंकै रविन बलामीले तृतीय स्थान हासिल गरेका थिए । यसैगरी महिलातर्फ गोर्खाकी फिन्जु लामा प्रथम तथा काठमाडौंकी अनीषा कर्माचार्य दोस्रो भएका थिए । नेपाल स्की संघले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ ६ तथा महिलातर्फ ६ गरी १२ जना खेलाडी सहभागी भएका थिए ।