साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसी अहिलेका सर्वाधिक रुचाइएका कलाकार हुन् । उनको चलचित्र रिलिज हुँदा हलमा ठूलै भिड लाग्ने गरेको छ । उनी चलचित्र प्रदर्शन ताका हलमा बडिगाडको साथ लागेर पुगेको खबर पनि सार्वजनिक भैरहन्छ । तर, उनी राजधानी बाहिरका मेला महोत्सवमा भने अहिले सम्म पुगेका थिएनन् । त्यसैले उनी जाने महोत्सवमा कत्रो भिड लाग्दा केवल अनुमान मात्रै थियो । यसै साता अनमोल खजुरा महोत्सवमा सहभागी हुन नेपालगञ्ज पुगे ।
नेपालगन्जमा आयोजित प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव–२०७५ खजुराका दर्शकमाझ अनमोलसहित क्याप्टेन निर्माण टिम पुगेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यवस्थाकाबीच अभिनेता अनमोललाई मञ्चमा पुर्यइएको थियो ।
महोत्सवमा अभिनेता केसी आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै ताली, हुटिङले खजुरावासीले स्वागत गरेका थिए ।
महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकबीच रिलिजको तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’का विषयमा सवाल जवाफसमेत भएको थियो । दर्शकले अनमोललाई ‘क्याप्टेन’को रिलिज डेट सोधेका थिए । अनमोलले दर्शकलाई चलचित्र ‘क्याप्टेन’को ‘रहर छ सँगै...’ बोलको गीतमा डान्सका केही स्टेप देखाउनुका साथै ट्रेलरमा समावेश केही डाइलग सुनाएका थिए ।