साप्ताहिक संवाददाता
केहिदिन अघि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक गरे । उक्त गीत गायक शर्माले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । तर, उक्त गीत सार्वजनिक भएसँगै जनस्तरबाटै मिश्रित खालका प्रतिकृया आउँन सुरु भयो । यहि गीतलाई लिएर युवासंघका कार्यकर्ताले उनलाई फोननै गरेर गीत हटाउन आग्रह गरे ।
उनले उक्त गीत युट्युब च्यानलबाट हटाए । उनले गीत हटाउनु अघि आफ्नो फेसबुकमा लामै स्टाटस पोस्ट गरेका थिए । त्यसपछि यो गीतलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भैरहेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पनि पशुपति शर्माको गीत ‘लुट्न सके लुट्’ जस्ताको त्यस्तै अपलोड गर्न आग्रह गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ‘पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैंलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या कुनै धम्कीको कारणले हटाउनुभएको हो भने गीतलाई जस्ताको त्यस्तै पुन: अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ । त्यसपछि आइपर्ने विवाद, वार्ता र छलफलद्वारा समाधान हुनुपर्छ र त्यसको अगुवाई गर्न संस्था तयार रहेको छ ।’
विज्ञप्तीमा कलाकारलाई कुनै पनि शक्तिद्वारा दिइएको जुनसुकै किसिमको दबाबको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भ्रत्सर्ना गरेको छ ।
यता, पशुपति शर्माको उक्त गीतको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले पशुपति शर्माको समर्थन र सरकारको विरुद्धमा नारा लगाउनुका साथै युट्युबाबाट हटाइएको उक्त गीत बजाएका थिए ।