विवाहलाई बनारसको लड्डु भन्न थालिएको वर्षौं भयो । खाए पनि पछुताउने अनि नखाए पनि पछुताउने भएकाले विवाहलाई लड्डुसँग तुलना गरिएको होला । उमेर पुगेपछि विवाह गर्नु प्राकृतिक कुरा हो । विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । ग्ल्यामर क्षेत्रमा त विवाहले अझ ठूलो भूमिका निर्वाह गर्छ । करियरले उचाइ लिइरहेका बेला विवाह गर्नु हुँदैन भन्ने मान्यता एकातिर छ भने अर्कातिर विवाहित अभिनेता–अभिनेत्रीहरूले सफलताको उचाइ चुमेका उदाहरण पनि छन् । साप्ताहिकको यो अंकमा केही त्यस्ता अविवाहित महिला तथा पुरुष सेलिब्रेटीहरू समेटिएका छन्, जसमध्ये अधिकांशले यसै वर्षदेखि आफ्नो करियर प्रारम्भ गरेका छन् ।
श्रृंखला खतिवडा
मिस नेपाल वल्र्ड–२०१८ को उपाधिसँगै श्रृंखला खतिवडा देशकै चर्चित सेलिब्रेटी बन्न सफल भइन् । चीनमा सम्पन्न मिस वल्र्ड–२०१८ मा उत्कृष्ट प्रस्तुति दिएसँगै उनी नेपालीमाझ मात्र होइन, विश्वभर नै चर्चामा आइन् । समाजसेवामा समेत रुचि राख्ने श्रृंखलाले मकवानपुरको चेपाङबस्तीमा पुगेर सञ्चालन गरेको स्वास्थ्य अभियानले धेरैको मन जितेको छ । अहिले विज्ञापनहरूमा समेत सक्रिय भैरहेकी श्रृंखलालाई केही चलचित्रबाट अभिनयको प्रस्ताव समेत आएको छ । यद्यपि उनले अभिनय आफ्नो क्षमताको कुरा नभएको भन्दै ती प्रस्ताव अस्वीकार गर्दै आएकी छिन् । अविवाहित यी सुन्दरी मिस नेपालको कार्यकालपछि कसरी अघि बढ्नेछिन् भन्ने कुरा प्रतीक्षाकै विषय भएको छ ।
सृष्टि खड्का
झन्डै १ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी मोडल तथा अभिनेत्री हुन् सृष्टि खड्का । यी अविवाहित अभिनेत्रीले यसै साता घोषणा गरिएको चलचित्र ‘परी’ मार्फत चलचित्रमा समेत पदार्पण गरेकी छिन् । सृष्टि केही साताअघि सार्वजनिक भएको एउटा हिन्दी गीतको म्युजिक भिडियोमा अभिनय गरेपछि चर्चामा आएकी थिइन् । अघिल्लो वर्ष उनले अभिनय गरेको डन्ट किल मी...गीतको म्युजिक भिडियोले पनि राम्रो प्रशंसा पाएको थियो । सृष्टिले र्याम्प फेसन शो तथा केही विज्ञापनमा समेत मोडलिङ गरेकी छिन् ।
प्रियंका एमभी
लामो समयदेखि रजतपटमा अभिनेत्रीका रूपमा पदार्पण गर्ने तयारी गरे पनि प्रियंका एमभीको त्यो साइत यसै वर्ष मात्र जुरेको छ । एमबीएकी छात्रा प्रियंकाले अनमोल केसीको चलचित्र क्याप्टेनमार्फत पदार्पण गर्न लागेकी हुन् । इन्स्टाग्रामका आफ्ना तस्बिर देखेपछि क्याप्टेन युनिटले आफूसमक्ष अभिनयको प्रस्ताव राखेको प्रियंकाको भनाइ छ । अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्न पाउनुलाई ठूलो अवसरका रूपमा लिएकी प्रियंकाले क्याप्टेनमा आवद्ध भएपछि अभिनयको प्रशिक्षणसमेत लिएकी थिइन् । क्याप्टेनका दुई अभिनेत्री मध्ये प्रियंकाले सहरिया युवतीको भूमिका निर्वाह गरेकी छिन् ।
रेश्मा घिमिरे
टिकटक क्विनको उपाधि पाइसकेकी सुन्दरी हुन्– रेश्मा घिमिरे । पेसाले नर्स यी सुन्दरी अभिनय क्षेत्रमा समेत आइसकेकी छिन् । केही विज्ञापनमा मोडलिङ गरिसकेकी यी अविवाहित सुन्दरीले हालै मात्र कालीप्रसाद बाँस्कोटाको इन्स्टाको फोटो शीर्षकको गीतमार्फत अभिनयमा पदार्पण गरेकी हुन् । निकट भविष्यमै उनी चलचित्रमा पदार्पण गर्ने तयारीमा छिन् । घिमिरे टिकटकका आकर्षक भिडियोमार्फत चर्चामा आएकी हुन् ।
निरिशा बस्नेत
प्रदर्शनको तयारीमा रहेको चलचित्र जानी नजानीबाट नेपाली रजटपटमा उदाउन लागेकी नयाँ अनुहार हुन्– निरिशा बस्नेत । यी अविवाहित सुन्दरी चलचित्र निर्देशक विश्व बस्नेतकी छोरी हुन् । मुम्बईलाई समेत कर्मथलो बनाउँदै आएकी निरिशाले केही हिन्दी धारावाहिकमा समेत अभिनय गरिसकेकी छिन् । अध्ययनका क्रममा मुम्बईमा भएकी निरिशाले हिन्दी धारावाहिक चन्द्रा नन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । स्टार प्लसबाट प्रसारण भएको उक्त श्रृंखलाको अभिनयबाट निरिशाले राम्रै प्रशंसा पाएकी थिइन् । उक्त धारावाहिकमा निरिशाले राजकुमारी इलिसको भूमिका निर्वाह गरेकी थिइन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी निरिशाले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातक गरेकी छिन् । त्यसअघि निरिशाले काठमाडौंमा सम्पन्न मिस टुरिज्म क्विन नेपालको मुख्य उपाधि जितेकी थिइन् ।
उकुषा गिरी
केही महिनाअघि घोषणा गरिए पनि फ्लोरमा जान बाँकी रहेको चलचित्र ‘ब्याचलर बन्टि’ मार्फत रजतपटमा पदार्पण गर्ने तयारी गरिरहेकी अभिनेत्री हुन्— उकुषा गिरी । अविवाहित उकुषा पनि मोडलिङमार्फत चलचित्रमा आउन लागेकी हुन् । अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न मिस एसिया नेपालको विजेता भएपछि उनले मिस एसिया ग्लोबल–२०१७ मा नेपालको प्रतिनिधित्व गर्दै बेस्ट पर्सनालिटी तथा ब्युटिफूल आइजको शीर्षक उपाधि हात पारेकी थिइन् । भीमसेनगोला, काठमाडौंकी उकुषा भर्खर १९ वर्षकी भइन् । छोटो समयमै र्याम्प मोडलिङ तथा विज्ञापन आदिमा काम गरिसकेकी उकुषाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् ।
आश्मा गिरी
युट्युबको वेब सिरिज रङ टाइममा अभिनय गरेर चर्चामा आएकी मोडल आस्मा गिरीले केही म्युजिक भिडियो तथा विज्ञापनमा समेत अभिनय गरेकी छिन् । आश्माले अभिनय गरेको पहिलो चलचित्र ‘ड्रिम गर्ल’ केही महिनाअघि प्रदर्शनमा आइसकेको छ । उक्त चलचित्रले औसत व्यवसाय गरे पनि आश्माको अभिनय तथा सुन्दरताले राम्रै प्रशंसा पाएको थियो । अविवाहित यी अभिनेत्रीले चलचित्रको अभिनयलाई निरन्तरता दिने योजना बनाएकी छिन् । कोरियोग्राफर गम्भीर विष्टसँग नृत्यको प्रशिक्षण लिने क्रममा उनी चलचित्र ‘ड्रिम गर्ल’ मा आबद्ध भएकी हुन् ।
उपासनासिंह ठकुरी
५ फिट ६ इन्च अग्ली उपासनासिंह ठकुरी अनमोल केसीको चलचित्र क्याप्टेनबाट रजटपटमा पदार्पण गर्दैछिन् । चलचित्रको ट्ेरलर तथा गीतमा उपासनाको काम देखिइसकेको छ । मोडलिङमा सक्रिय रहेकै बेला उनी चलचित्रमा आइपुगेकी हुन् । अविवाहित उपासनाले अनमोलको जोडीका रूपमा अभिनय यात्रा प्रारम्भ गर्नुलाई राम्रो अवसरका रूपमा लिएकी छिन् । उपासना इन्स्टाग्राममा अपलोड गरिएका आफ्ना तस्बिरकै कारण चलचित्रमा आइपुगेकी हुन् । क्याप्टेनमा आबद्ध भएपछि अभिनयको प्रशिक्षण लिएकी उपासनाले अभिनयमै करियर बनाउने निर्णय गरिसकेकी छिन् ।
शिल्पा मास्के
यसै साता प्रदर्शनमा आउने चलचित्र द ब्रेकअपमार्फत रजतपटमा उदाउने नयाँ अनुहार हुन्— शिल्पा मास्के । त्यसो त यी अविवाहित अभिनेत्रीले द ब्रेकअपपछि कागजपत्र शीर्षकको अर्को चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । यसअघि हलिउडको डाक्टर स्ट्ेरन्जमा छोटो भूमिका निर्वाह गरेकी शिल्पाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । यसबीच मास्के तेस्रो चलचित्र सानो मनमा सक्रिय छिन् । रजतपटमा पदार्पण गरेकै वर्ष तीनवटा चलचित्रमा अभिनय गर्ने अवसर पाएकी यी अभिनेत्रीलाई चलचित्रवृत्तमा लामो रेसको घोडाका रूपमा समेत हेर्न थालिएको छ ।