साप्ताहिक संवाददाता
फागुन २ गते लोकगायक पशुपति शर्माले आफ्नो व्यंग्यात्मक गीत ‘लुट्न सके लुट कान्छा अरू देशमा पाइँदैन् नेपालमै हो छुट’ युट्युबमार्फत सार्वजनिक गरे । भ्रष्टाचारमाथि व्यंग्य कसिएको उक्त गीत सार्वजनिक भएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले गीतमार्फत राष्ट्रपति, सरकार तथा पार्टीका कार्यकर्तामाथि नियोजित रूपमा प्रहार गरिएको झन्दै सामाजिक सञ्जालमा तीव्र आक्रोश व्यत्त गरे । युवा संघ नेपालका केही कार्यकर्ताले गायक शर्मालाई फोन गर्दै गीत सच्याउनका लागि दबाबसमेत दिए ।
सत्तारुढ दलका कार्यकर्ताहरूबाट विरोधको स्वर सुनिन थालेपछि गायक तथा रचनाकार शर्माले शनिबार एउटा स्टाटस लेख्दै उक्त गीत युट्युबबाट हटाएको घोषणा गरे । युट्युबबाट गीत हटाएसँगै शर्माको ‘गीतमाथि प्रतिबन्ध लगाएको’ र ‘गीत हटाउन दबाब दिइएको’ भन्दै नेपाल कम्युनिष्ट पार्टी र सरकारविरुद्ध सामाजिक सञ्जालमा बहस मात्र छेडिएन्, कतिपयले त गायक शर्माको समर्थनमा ऐक्यबद्धता जनाउन भन्दै आइतबार माइतीघर मण्डलामा जम्मा भएर त्यही गीतमा नाचगान समेत गरे । कतिपयले यसलाई कम्युनिष्ट सरकारको वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कदमसमेत बताए भने सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने सरकारलाई यस विषयमा कुनै जानकारी नभएको तथा उक्त गीतविरुद्ध सरकारले कुनै प्रतिबन्ध नलगाएको बताए ।
भ्रष्टाचारविरुद्ध कटु व्यंग्य गरिएको उक्त गीत गायक शर्मा आफैंले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । मुलुकमा विद्यमान चरम भ्रष्टाचार र समस्यामाथि निर्मम व्यंग्य गरिएकैले हुनुपर्छ युट्युबमा सार्वजनिक भएको केही समयमै उक्त गीत ट्रेन्डिङमा परेको थियो जसलाई युवा संघका नेता रमेश पौडेललगायत नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले तीव्र विरोध गरेपछि हटाइएको थियो ।
उक्त गीत युट्युबबाट हटाइएपछि शनिबार तथा आइतबार सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा हजारौंले उक्त गीत सेयर गरेर विरोध जनाए भने दर्जनौं युट्युब च्यानलले पनि उक्त गीतमा अपलोड गरे । यसले गायक शर्माको गीत सामाजिक सञ्जाल र इन्टरनेटमा भाइरल भयो । अहिले पनि सामाजिक सञ्जालमा यो गीत फैलने क्रम जारी छ ।
सरकारले आफूहरूले प्रतिबन्ध नलगाएको प्रस्टीकरण दिए पनि गीत हटाउने कदममाथिको बहस शिथिल भएको छैन । यता, लोक तथा दोहोरी कलाकारहरूको संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालको आइतबार बसेको बैठकले पनि गायक शर्मालाई उक्त गीत जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह
गरेको छ । रचनाकार तथा गायक पशुपति स्वंय उपाध्यक्ष रहेको प्रतिष्ठानको उक्त बैठकमा उनले गीत हटाउनुको कारण पनि स्पष्ट पारेका थिए । ‘गीत हटाउनका लागि एक दुईवटा फोन आए, मलाई पनि केही शब्द परिवर्तन गरौंजस्तो लागेर हटाएको हुँ,’ शर्माले बैठकमा भनेको कुरा उदृत गर्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले साप्ताहिकसँग भने, ‘आधिकारिक रूपमा कसैले हटाउन दबाब दिएको छैन ।’ प्रतिष्ठानले कतैबाट दबाब नआएको सन्दर्भमा गीत पुनः अपलोड गर्न शर्मालाई आग्रह गरिएको आधिकारिक धारणा पनि विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ ।
उता गायक शर्माले भने आफूले सुनाउन चाहेका व्यक्तिहरूले उक्त गीत सुनिसकेकाले यस विषयमा सोचेर मात्र निर्णय लिने बताएका छन् । उनले लुट्न सके लुट कान्छा गीतमार्फत व्यक्तिको भन्दा पनि गलत प्रवृत्तिको विरोध गरेको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल तथा इन्टरनेटमा तुफानी बहसमा परेको यो गीत प्रकरणलाई कसरी हेर्न सकिन्छ त ? कला विश्लेषक प्रकाश सायमी सिर्जनामा राजनैतिक हस्तक्षेप हुन नहुने बताउँछन् । ‘पहिलो कुरा त गीतमा आएका कुरालाई कुनै राजनैतिक पार्टीले न्याय दिने होइन्, सर्जकले उनीहरूले भनेको कुरा लेखिदिने पनि होइन,’ सायमी भन्छन्, ‘सिर्जनामा राजनैतिक हस्तक्षेप हुनुहुँदैन ।’ त्यसो भए यो गीत प्रकरणले के सन्देश दियो त ? ‘रमाइलो लाग्यो, राजनैतिक चेतना भएका युवाहरूले गीत सुन्दा रहेछन्,’ उनी भन्छन् । सायमीको बुझाइमा यो प्रकरणले गीत सर्जकहरूलाई समेत सचेत बनाएको छ तर, यसको अर्को पाटो के पनि छ भने यसलाई नेताहरूले पनि आफूअनुकूल बनाउन खोजिरहेका छन् । सोमबार संसदमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँको पुरस्कारको घोषणा गरे भने सत्तापक्षीय सांसद झपट रावलले अमरेशलाई आफैं गीत गाउन चुनौती दिँदै एक महिनाको तलब दिने बताए । यो विभाजन समाजका अन्य क्षेत्रमा पनि देखा पर्न थालेको छ । विवेकशील साझा तथा विवेकशील दलहरूले पनि गायक शर्माको समर्थनमा वक्तव्य जारी गरेका छन् ।
के थियो गीतमा ?
करिब ४ वर्षअघि लोकगायक शर्माले ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही....’ जस्तो आशावादी गीत ल्याएर चर्चा कमाएका थिए । यसपटक ठीक उल्टो उनले मुलुकमा विद्यमान तीव्र भ्रष्टाचारलाई केन्द्रमा राखेर ‘लुट्न सके लुट कान्छा...’ भन्ने निराशायुक्त व्यंग्यात्मक गीत ल्याए ।
उक्त गीतले नेपालमा लुट्नेहरू मात्र रहेको भन्दै सकेसम्म लुट्न आह्वान गर्दै व्यंग्य कसिएको छ । सत्तारुढ दलका कार्यकर्ताहरूले यो गीतले निराशा फैलाउन खोजेको भन्दै विरोध जनाएका छन् । यसबाहेक नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले राष्ट्रपति डेढ अर्बको हेलिकप्टर चढ्ने कुरा गीतमै भनेर सम्मानित संस्थालाई हिलो छ्यापेको, कम्युनिष्ट सरकारलाई यमराजको शासन भनेको र पार्टीका कार्यकर्ताहरूलाई कुकुरसँग तुलना गरिएको भन्दै विरोध जनाएका छन् । उनीहरूले उक्त गीतको भिडियोमा कम्युनिष्टको झन्डा प्रयोग गरिएका कारण गीतले कम्युनिस्टमाथि समेत प्रहार गरेको रूपमा अर्थ्याएका छन् । लोकगायक शर्माले भने उक्त आरोप अस्वीकार गरेका छन् ।
गीतमा ३३ किलो सुनकाण्ड, वाइडबडी भ्रष्टाचार प्रकरणजस्ता विषय पनि समेटिएको छ । त्यसबाहेक गायक शर्माले भ्रष्टाचारमाथि व्यंग्य कस्ने क्रममा सरकारी डाक्टरले बिरामीलाई निजी क्लिनिकमा पठाएको, सुब्बाले दुई वर्षमा पक्की घर खडा गरेको, सरकारी शिक्षकले निजी विद्यालयमा छोराछोरी पढाएको र ट्राफिक अव्यवस्थादेखि ठेकेदारको अनियमिततासम्मलाई उल्लेख गरेका छन् ।