अभिनय क्षेत्रमा रमेश बुढाथोकी अनुभवी नाम हो । उनी कुशल अभिनेताका साथै राम्रा चलचित्र निर्देशकसमेत हुन् । अघिल्लो वर्ष प्रदर्शन भएको चलचित्र ‘भुइँमान्छे’ मा प्रभावकारी अभिनय गरेर थुप्रै पुरस्कार जित्न सफल यी अभिनेता पछिल्लो समय निर्देशनको तुलनामा अभिनयमै व्यस्त छन् । हालसालै चलचित्र लभ स्टेसनको छायांकन सम्पन्न गरेका बुढाथोकीले अभिनय गरेको नयाँ चलचित्र फिंगर प्रिन्ट प्रदर्शनको तयारीमा छ । अर्को वर्ष फ्लोरमा जाने एउटा नयाँ चलचित्रको स्क्रिप्टको अध्ययनमा व्यस्त अभिनेता तथा निर्देशक बुढाथोकीले आफ्नो रोजाइमा परेका नेपाली चलचित्र क्षेत्रका पछिल्ला पाँच अभिनेताका बारेमा यस्तो टिप्पणी गरेका छन् ।
प्रदीप खड्का
युवा पुस्ताका प्रभावशाली अभिनेता हुन्— प्रदीप खड्का । उनी मलाई धेरै अर्थमा राम्रा लागे । प्रदीपसंग मैले भरखरै चलचित्र लभ स्टेसनमा सँगै काम गरेको छु । उक्त चलचित्र छायांकनमा जानुअघि उनले स्क्रिप्टमा देखाएको चासो, निर्देशकसँग गरेको छलफल, आफ्नो चरित्रमा देखाएको एकाग्रताले म उनीबाट प्रभावित भएँ । चरित्रमा भिजेर अभिनय गर्ने कलाकार कमै हुन्छन्, त्यसको ठीक विपरीत प्रदीपमा चिन्तन गरेर चरित्रमा भिज्न सक्ने क्षमता पाएँ । उनले अभिनय गरेको चलचित्र ‘प्रेम गीत’ हेरेको थिएँ । त्यसले पनि मलाई राम्रो प्रभाव परेको थियो । त्यो चलचित्रमा उनले गरेको काम राम्रो लागेको थियो । उनलाई मैले प्रतिभाशाली कलाकारका रूपमा हेरेको छु ।
अनमोल केसी
अनमोल केसी अहिलेका स्टार हुन् । उनको फ्यान फलोइङ लोभलाग्दो छ । युवापुस्ताले उनलाई अत्यन्त रुचाएको छ । उनको काम पनि राम्रो छ । अभिनयको मूल्यांकन गर्नु पर्दा मैले उनको जम्मा एउटा मात्र चलचित्र हेरेको छु– ड्रिम्स । त्यो चलचित्रमा उनले राम्रै काम गरेका छन् । उक्त चलचित्रमार्फत उनले आफूमा प्रचुर सम्भावना देखाएका छन् । त्यसपछि उनले अभिनय गरेका चलचित्रका टे«लरहरू मात्र हेरेको छु, जसमा उनले अभिनयलाई त सुधारेका छन् नै, व्यक्तित्वलाई समेत उत्तिकै आकर्षक बनाउन सफल भएका छन् । अनमोलले आफ्नो क्रेजसँगसँगै आफूलाई एक्टरका रूपमा ढाल्न सके भने उनलाई धेरै माथि पुग्नबाट कसैले रोक्न सक्दैन । एक्टरले गर्ने भनेको अभिनय हो, उनले त्यसमा अझ बढी ध्यान दिन सके सुनमा सुगन्ध थपिन्छ ।
पुष्प खड्का
यी अभिनेतामा पनि प्रशस्त सम्भावना देखेको छु । उनले अभिनय गरेको चलचित्र मंगलमबाट म उनको प्रशंसक भएको हुँ । पुष्पमा सजिलो मात्र होइन, अप्ठ्यारो चरित्रलाई समेत सहजताका साथ निर्वाह गर्न सक्ने क्षमता पाएको छु । म्युजिक भिडियोको पृष्ठभूमिबाट उठेर चलचित्रसम्म आइपुगेका पुष्प हरेक दृष्टिकोणले फिट लाग्छन् ।
प्रमोद अग्रहरी
यी अभिनेता पनि निकै प्रभावकारी लाग्छन् । उनीसंग मैले संरक्षण तथा कथा काठमाडौंमा काम गरेको छु । चलचित्र संरक्षणमा हामीले स्क्रिन सेयर गरे पनि कथा काठमाडौंमा भने त्यो मौका मिलेन । सिंहदरबार शीर्षकको टेलिश्रृंखलामा पनि हामीले सँगै काम गरेका थियौं । म उनको काम गर्ने शैलीबाट प्रभावित छु । यथार्थपरक अभिनय गर्ने उनको शैली मलाई अत्यन्त मन पर्छ । प्रतिभावान यी अभिनेता सकारात्मक तथा नकारात्मक दुवै भूमिकामा उत्तिकै फिट लाग्छन् ।
सहिन प्रजापति
सहिन थिएटरबाट आएका हुन् । यी अभिनेतासँग मैले चलचित्र भुइँमान्छेमा सँगै अभिनय गर्ने मौका पाएको थिएँ । यी अभिनेतामा अभिनयको राम्रो सेन्स छ । उनी थिएटरमा पनि सक्रिय छन्, नृत्य पनि राम्रो गर्छन् । पछिल्लो समय एउटा टेलिश्रृंखला निर्देशन गरिरहेका छन् । थिएटरबाट आएकाले होला, उनी आफूलाई दिइएको भूमिकासँग न्याय गर्न सिपालु छन् । त्यसको उदाहरण चलचित्र भुइँमान्छेलाई नै लिन सकिन्छ ।