साप्ताहिक संवाददाता
त्यो कविता रवीन्द्र अधिकारीले रचेको हो र वाचन रवीन्द्र अधिकारीकै श्रीमतीले गरेकी हुन्, तर उनी मृतक रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई नभै जीवित रवीन्द्र अधिकारीकी श्रीमती सपना कोइराला थिइन् । रवीन्द्र अधिकारीकै नाममा श्रद्धाञ्जली भएकाले आवाजमा थप गाम्भीर्यता मिसिएको छ । यो पूर्णतया एउटा साहित्य थियो तर यसले थोरबहुत यथार्थतालाई चित्रण गरेको छ । साहित्यमा चरा बोल्छ, रूखहरू बातचित गर्छन् । निर्जीव सजीव जोकोहीमा साहित्यको माध्यमबाट आवाज भरिन्छ । केही क्षणका लागि कोही अर्कै व्यक्ति भएर कविता रचना गर्नु पनि साहित्यमा नौलो प्रयोग होइन, तर भोलिपल्ट भिडियोको तलपट्टि रहेको विवरण नै नपढी क्षणिक दर्शक तान्ने र भ्युज बढाएर पैसा कमाउने मिडियाकर्मीहरूले सोसल मिडिया सेन्सेसन बनाएर कवितालाई विभिन्न माध्यमद्वारा भाइरल गराए ।
फागुन १५ गते दिन नै अँध्यारो थियो । अझ झन् हेलिकप्टर हराएको समाचार आउँदा त मन पनि अँध्यारो भयो । हेलिकप्टर दुर्घटनामा परी त्यसमा सवार अन्य ६ व्यक्तित्वसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको मृत्यु भयो । आशालाग्दा नेता गुमाउनुपरेकोमा देश मात्र मर्माहत भएन, प्रकृति पनि रोयो । मन्त्री रवीन्द्र अधिकारीको मृत्युले म स्वयंलाई छुट्टै पीडा दियो जुन अरू नेताहरू बित्दा कहिल्यै भएन । उनीसँग आफ्नो विशेष सम्बन्ध रहेझैँ लाग्थ्यो । कारण, हुबहु नाम र थर मिलेकाले म उनलाई आफ्नो मीतज्यू मान्थें । उनी पर्यटन मन्क्री नियुत्त हुँदा पनि मैले दुई–चार जनाको बधाईको स्वाद चाख्ने अवसर पाएको थिएँ ।
यसरी भित्र उब्जिएको पीडालाई म मूर्त रूप दिन चाहन्थेँ । त्यसैले रवीन्द्र अधिकारीको सम्झनामा एउटा कविता लेखेँ– आई विल मिस यू मीतज्यू, तर पछि मैले विचार गरेँ– अधिकारी यो संसारमा नरहनुको पिडा मलाई जति छ त्योभन्दा हजारौँ गुणा बढी उनको परिवार, विशेषतः उनकीे पत्नी विद्या भट्टराईलाई छ । हो, त्यो उनको असीम पीडालाई उनकै दृष्टिकोणबाट व्यक्त गर्न सकियो भने कविताले बोक्ने ओज र अर्थ अझ घनिभूत हुन सक्छ । त्यसपछि मैले कवितालाई पुनर्लेखन गरें । श्रीमान गुमाउँदाको वेदना समेटिएको उक्त कविता मैले आफ्नी श्रीमतीबाट वाचन गराएर फागुन १५ को साँझ युट्युबमा राखें ।
त्यो कविता रवीन्द्र अधिकारीले रचेको हो र वाचन रवीन्द्र अधिकारीकै श्रीमतीले गरेकी हुन्, तर उनी मृतक रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई नभै जीवित रवीन्द्र अधिकारीकी श्रीमती सपना कोइराला थिइन् । रवीन्द्र अधिकारीकै नाममा श्रद्धाञ्जली भएकाले आवाजमा थप गाम्भीर्यता मिसिएको छ । यो पूर्णतया एउटा साहित्य थियो तर यसले थोरबहुत यथार्थतालाई चित्रण गरेको छ ।
साहित्यमा चरा बोल्छ, रूखहरू बातचित गर्छन् । निर्जीव सजीव जोकोहीमा साहित्यको माध्यमबाट आवाज भरिन्छ । एवम् रीतले केही क्षणका लागि कोही अर्कै व्यक्ति भएर कविता रचना गर्नु पनि साहित्यमा नौलो प्रयोग होइन, तर भोलिपल्ट भिडियोको तलपट्टि रहेको विवरण नै नपढी क्षणिक दर्शक तान्ने र भ्युज बढाएर पैसा कमाउने युट्युब तथा मिडियाकर्मीहरूले सोसल मिडिया सेन्सेसन बनाएर कवितालाई विभिन्न माध्यमद्वारा भाइरल गराए । नानाथरीका युट्युब च्यानलले भिडियोलाई पुनः अपलोड गर्न थाले । स्वयं विद्या भट्टराईको अभिव्यक्ति भएको दावा गर्दै थुप्रै अनलाइन साइट तथा फेसबुक पेजहरूले उक्त भिडियो कपी–पेस्ट गर्दै गए । साथीहरूको माध्यमबाट मैले जानकारी पाउँदासम्म भिडियो पूरापूर भाइरल भैसकेको थियो ।
विदेशमा बस्ने एउटा साथीले तैंले बिहानी पोस्टको कविता वाचन गरेर भिडियो बनाएको रै’छस् हैन भनेर सोध्यो । ए बाबा, म कसरी सम्झाऊँ उसलाई कि त्यो कविता अब बिहानी पोस्टमा मात्र होइन, दिवा, सन्ध्या र रात्रिपोस्ट के–के छन् सबैमा छरपस्ट भैसकेका छन भनेर । त्यसैगरी एउटा साथी दिदीकहाँ जाँदा ‘विद्याले रवीन्द्रको नाममा निकै मर्मस्पर्शी कविता लेखेकी रै’छिन्, सुनिस् ?’ भनेर सोध्नुभएछ । अर्कै च्यानलमा रहेको उक्त गीत हेर्दै साथीले ‘लौ यो त हाम्रै रवीन्द्रले कविता लेखेर बनाएको भिडियो हो त, चोरेछन् नि’ भनेछ । विद्या पनि साहित्य लेख्छिन् र यो स्वर पनि उनकै हो भनेर दिदीले ज्यान जाला साथीको कुरा पत्याउनु भएनछ । यसरी सोसल मिडियाले मान्छेको सोच र विश्वासलाई यतिसम्म गहिरो प्रभाव पार्दो रहेछ । फेसबुक वा युट्युब प्रयोगकर्ताहरूमध्ये धेरैले यो कविता विद्या भट्टराईकै शब्द र स्वर हो भन्ठाने ।
युट्युबमा भने मेरो सुरुवाती भिडियो अरूकै च्यानलमा एक दिनपछि राखिएको भिडियोसँग प्रतिस्पर्धा गर्दै थियो । मौका कुरेर बसिरहने कथित् मिडियाकर्मीहरूको ठूलै झुन्ड रहेछ नेपालमा, जसले प्रभाव छाड्न सक्ने कन्टेन्ट देख्नासाथ त्यसलाई रिअप्लोड गरी मनग्गे पैसा कमाउँदा रहेछन् । कतिले युट्युबको कपिराइट क्लेमबाट जोगिन चतुर्याइँका साथ भिडियोलाई हल्का दायाँ–बायाँ गरी आफ्नैजस्तो बनाउँदा रहेछन् । धेरै मानिस आफ्नै सिर्जनाभन्दा अर्काको सिर्जनामा रोजीरोटी जुटाइरहेका हुँदा रहेछन्, तर पनि अन्ततः युट्युबको अल्गोरिदमले सबैलाई पाउनुपर्ने जति न्याय दिएरै छाड्छ । फागुन १८ गते मेरो आफ्नै च्यानलमा भएको भिडियो ट्रेन्डिङ १० भित्र पर्न सफल भयो । भिडियोमा रहेको उक्त कविता पुनश्चः भन्छु– विद्या भट्टराईले लेखेको पनि होइन र वाचन गरेको पनि होइन । बरु शोकमा डुबेको अधिकारी परिवार ः श्रीमती विद्या, छोराहरू स्वराज र विराज, बुवा इन्द्रप्रसाद र माता लक्ष्मी अधिकारीलगायत सम्पूर्णलाई हार्दिक समवेदना । साथै मन्त्री अधिकारीको आत्माको चिर शान्तिको कामना ।