
साप्ताहिक संवाददाता

एक साता अघि सार्वजनिक प्रचारमा आएको चलचित्र ‘क्याप्टेन’ तेस्रो गीत रिलिज गरिएको छ । चलचित्र रिलिज भएको एक सातापछि चलचित्रको ‘सक्दिना कि बाँच्न’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा अभिनेता अनमोल केसी, नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीलाई फिचरिङ गरिएको छ ।
यो गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । गीतले दुई यूवतीको प्रेममा एक यूवा परेको देखाएको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन छ ।
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रले पहिलो साता राम्रो व्यापार गरेको छ । यो चलचित्रमा अभिनेता अनमोल केसी फुटबल खेलाडीको भूमिकामा देखिएका छन् । यो चलचित्रमा अनमोल केसीले निर्वाहा गरेको भूमिकाको अहिले निक्कै प्रशंसा भैरहेको छ । यसै चलचित्रबाट रजतपटमा डेब्यू गरेकी उपासना सिंह ठकुरीले सिने उद्योगमा राम्रो सम्भावना देखाएकी छिन् ।
गीतको भिडियो :