उदयपुरको कटारी नगरपालिका–३, डाँडाटोलमा १५ फागुन राति झड्केलो भाइ २० वर्षीय बुद्धिराम मगर (भुजेल) ले ४२ वर्षीय दाजु प्रकाश भनिने रामबहादुर मगरको छुरा (कर्द) रोपेर हत्या गरेका छन् । बेलुका ९ बजे छुरा प्रहारपछि घाइते रामबहादुरको कटारी अस्पतालमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको थियो ।
बुवा लीलबहादुर रानामगरको २ फागुनमा मृत्यु भएपछि किरियापुत्री बस्ने विषयमा दाजु– भाइबीच विवाद बढेको छिमेकीहरू बताउँछन् । अन्ततः किरियापुत्रीको तेह्रौं पुण्यतिथिकै दिन भाइ बुद्धिरामको छुरा प्रहारबाट रामबहादुरको ज्यान गयो । लीलबहादुर रानामगरले पहिलो श्रीमतीको निधनपछि तुलमाया भुजेलसँग दोस्रो विवाह गरेका थिए ।
तुलमायालाई लिलबहादुरले मगर थरकै नागरिकता दिलाएका थिए । ‘बुद्धिराम भुजेलपट्टिका छोरा भएकाले बुवाको किरियापुत्री नबस्दा हुने सुझाव बुढापाकाहरूले दिएका थिए ।’ छिमेकी केदार मगरले भने– ‘सोहीअनुरूप रामबहादुर मात्र किरियापुत्री वस्ने भनेपछि बुद्धिराम र रामबहादुरबीच विवाद बढेको थियो ।’ बुद्धिरामले आमाको मात्र किरियापुत्री बस्दा हुने छिमेकीहरूको सल्लाह थियो ।
सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको उक्त परिवारमा भएको घटनाको रात दुवैले सामान्य मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । छिमेकीहरूले भाइ बुद्धिराम लागूऔषध तथा मद्यपान प्रयोगकर्ता भएकै कारण हत्याको घटना भएको बताएका छन् । घटना हुने राति पनि मादक पदार्थ सेवन गरेका भाइ बुद्धिराम घर पुग्नेबित्तिकै सामान्य विवादमै आमा तुलमायाको सिरानीमा रहेको छुरा निकालेर दाजुमाथि प्रहार गरेका थिए ।
यद्यपि मृतककी श्रीमती विमला मगरले दिएको जाहेरीमा भने राति सिरकको निहुँमा भएको झगडापछि भाइले छुरा प्रहार गरेको उल्लेख भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी धुबकुमार श्रेष्ठले बताए । छुरा प्रहार गर्ने भाइ बुद्धिरामलाई प्रहरीले फागुन १६ गते कटारीबाटै नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको छ । भाइले दाजुको हत्या गरेको स्वीकार गरिसके पनि घटनाको थप अनुसन्धान जारी रहेको बताइएको छ ।