साप्ताहिक संवाददाता
अभिनेत्री करिश्मा मानन्धरका लागि २०७५ साल विशेष सावित भयो । उनी यो वर्ष निकै व्यस्त रहिन् । यसैपालि एसईई परीक्षा भएकाले धेरैजसो समय पढाइमै बिताएको मानन्धर बताउँछिन् । ‘यसपालि मैले एसईई दिएँ, त्यसैले यो वर्ष सबै काम बिर्संदै पढाइमै केन्द्रित भएँ ।’ मानन्धर भन्छिन्, ‘एसईई परीक्षा सकिएपछि फुर्सदिलो भएकी छु ।’ यस्तै, उनकी छोरी कविता केही समय पहिले अमेरिकाबाट नेपाल आएकी थिइन् । उनी हाल नेपालमै छिन् । धेरै समयपछि छोरीसँग बस्न पाउँदा एक वर्ष बितेको पत्तै भएन– मानन्धर भन्छिन् ।
अ
भिनेत्री वर्षा शिवाकोटी आफ्ना लागि २०७५ साल मध्यम भएको कुरा बताउँछिन् । यसपालि उनले अभिनय गरेका तीनवटा चलचित्र प्रदर्शनमा आए । ती तीनवटै चलचित्रले उत्कृष्ट व्यापार गर्न नसके पनि आफ्नो सिकाइको केही खुड्किला पार गरेको शिवाकोटी बताउँछिन् । चलचिक्र वीरवित्रम–२ को छायाँकनका क्रममा युरोपका विभिन्न ठाउँ घुम्ने अवसर यही वर्ष मिलेको वर्षाले बताइन् । बेला–बेला विभिन्न कारणले चर्चा र विवादमा आइरहने वर्षा यसपालि पनि केही समय अघि विवादमा आएकी थिइन् । उनले सामाजिक सञ्जालमा व्यक्त गरेका केही अभिव्यक्तिले उनलाई चर्चामा ल्याएको थियो । ‘मनमा गुम्सिएका कुराहरू बाहिर व्यक्त गर्दा आनन्द महसुस हुँदो रहेछ ।’ वर्षा भन्छिन्– ‘मेरा केही अभिव्यक्तिले यो वर्ष मलाई विवादमा ल्यायो, तर म खुसी छु ।’
अभिनेत्री प्रियंका कार्की २०७५ साल आफूले सधैं सम्झने वर्ष भएको बताउँछिन् । यसैपालि उनले अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी छिन् भने उनीहरूले आयांक फाउन्डेसन पनि स्थापना गरेका छन् । त्यसबाहेक आफू चलचित्र तथा म्युजिक भिडियोको छायांकनमै व्यस्त भएको कार्की बताउँछिन् । प्रियंका भन्छिन्, ‘यसपालि म काममै धेरै व्यस्त भएँ साथै फुर्सदिलो पनि उत्तिकै भएँ, त्यसैले परिवारका लागि समय दिन भ्याएँ भने यसैपाली नयाँ–नयाँ ठाउँ घुम्ने अवसर पनि मिल्यो ।’
अभिनेता प्रदीप खड्का विगतका वर्षहरूको तुलनामा यो वर्ष बढी व्यस्त भएको कुरा बताउँछन् । यो वर्ष प्रदीपका दुईवटा चलचित्र प्रदर्शनमा आए । दुवै चलचित्रले मध्यम खालको व्यापार गरे पनि धेरै कुरा सिक्ने मौका मिलेको उनी बताउँछन् । चलचित्रको छायांकन तथा प्रमोशनमा लाग्नुपर्ने भएकाले चलचिक्र बाहेक व्यत्तिगत कामका लागि समय निकाल्न नपाएको उनको गुनासो छ । प्रदीपले यही वर्ष विभिन्न देशको भ्रमण समेत गरे । भियतनाम, अष्ट्रेलिया, दार्जीलिङ आदि ठाउँ घुम्ने मौका मिल्यो— खड्काले भने । अभिनेता खड्का पनि बेला–बेला चर्चामा आइरहने अभिनेता हुन् । यो वर्ष पनि उनका बारेमा विभिन्न खालका समाचार सार्वजनिक भए । धेरैजसो नकारात्मक कुराको सामना गर्दै यो वर्ष बिताएको खड्का बताउँछन् ।
अभिनेता पुष्प खड्काका अनुसार ०७५ साल उनका लागि निकै फलदायी सावित भयो । पुष्पले यसपालि दुईवटा राम्रो व्यानरमा काम गर्ने मौका पाए । ‘दाल भात तरकारी र मारुनी अभिनय गर्न पाएँ ।’ पुष्प भन्छन्, ‘यो नै मेरो यो वर्षको ठूलो उपलब्धि हो ।’ गत वर्षको तुलनामा यो वर्ष आर्थिक रूपमा समेत राम्रो भएको खड्का बताउँछन् । यद्यपि चलचित्रमा व्यस्त भएकाले विगतका वर्षहरूको तुलनामा त्यति धेरै म्युजिक भिडियोमा अभिनय गर्न नभ्याएको खड्काले बताए । खड्का अभिनित चलचित्र मंगलम ०७४ सालमा प्रदर्शनमा आएको थियो । ०७५ सालमा उनी यही चलचित्रबाट विभिन्न एवार्डद्वारा सम्मानित भएका थिए । त्यसैले पनि यो साल सम्झनलायक वर्ष भएको पुष्पको तर्क छ ।
अभिनेत्री आँचल शर्मा २०७५ साल दौडधुपमै बितेको बताउँछिन् । उनी यतिबेला दाल भात तरकारीको प्रमोशनमा व्यस्त छिन् । विगतका वर्षको तुलनामा आफूले बढी म्युजिक भिडियोमा अभिनय गरेको शर्मा बताउँछिन् । ‘यो वर्ष मैले थुप्रै म्युजिक भिडियोमा अभिनय गरें, धेरै म्युजिक भिडियो हिट पनि भए ।’ आँचल भन्छिन्, ‘त्यसैले अघिल्लो वर्षको तुलनामा यसपालि आर्थिक रूपमा पनि अलि बलियो भएको महशुस गरेकी छु ।’ अध्ययन र अभिनय यात्रालाई सँगसँगै अघि बढाइरहेकी यी अभिनेत्रीले यही वर्ष स्नातक तहको अध्ययन पूरा गरेकी छिन् भने स्नातकोत्तरका लागि पनि भर्ना समेत लिइसकेकी छिन् ।
निर्देशक दीपेन्द्र के खनालको यो वर्ष तनावपूर्ण ढंगले बित्यो । ‘यो वर्ष चाहिने भन्दा नचाहिने कुरामा धेरै अल्झिएँ ।’ खनाल भन्छन्, ‘वर्षको सुरुवातमै चङ्गाचेटका निर्माता माधव वाग्ले पक्राउ पर्नुभयो । त्यसमै धेरै तनाव बेहोर्नुपर्यो । त्यसपछि चलचित्रको रिलिज डेट सर्यो त्यसमा पनि समस्या उत्पन्न भयो, चलचित्र रिलिज भएपछि पनि उस्तै तनाव सिर्जना भयो । यस्तै–यस्तै तनावका कारण कतिबेला एक वर्ष बित्यो पत्तै भएन ।’ दीपेन्द्र २०७६ साललाई भने सिर्जनात्मक ढंगले अघि बढाउने प्रण गर्छन् ।
गायक महेश काफ्लेका लागि २०७५ साल विशेष रह्यो । पत्रकारितामा कलम चलाइरहेका महेशलाई नाच फिरिरि गीतले जीवनको बाटो नै परिवर्तन गराइदियो । त्यसैले वर्षैभरि सांगीतिक कार्यक्रममै व्यस्त भएको उनी बताउँछन् । ‘नाच फिरिरि गीतले मेरो दैनिकी नै परिवर्तन गरिदियो, अर्को कुरा यो गीतले युट्युबमा सर्वाधिक भ्युज पाउँदा निकै खुसी छु ।’ महेश भन्छन्, ‘यो गीत हिट भएसँगै अन्य काम पनि सुरु गरेको छु ।’
लोक गायिका सुशीला गौतमका लागि यो वर्ष मिश्रित रह्यो । उनले यो वर्ष बेलायतको भ्रमण गर्ने अवसर पाइन् भने आफ्नै शब्द, संगीत तथा अभिनयको पाहुना गीत पनि यही साल सार्वजनिक भयो । त्यसबाहेक गीत रेकर्डिङ र स्वदेशका मेला महोत्सवहरूमा प्रस्तुति दिँदै यो वर्ष बितेको गौतम बताउँछिन् ।
बेली डान्सर तथा मोडल बिनु शाक्यका लागि वर्ष ०७५ फलदायी रह्यो । विनु यही वर्ष बेली डान्सरका रूपमा थप चर्चामा आइन् जसले उनलाई मेला महोत्सवहरूमा व्यस्त बनायो । शाक्यका लागि यो वर्ष केही अप्रिय घटना पनि घटे । उनी केही हप्ता पहिले बर्दिबास महोत्सवमा जाने क्रममा दुर्घटनामा परेर घाइते भइन् । त्यसैले पनि यो वर्ष नबिर्सने खालको भएको उनी बताउँछिन् ।
मोडल सृष्टि खड्का यो वर्ष आफ्ना लागि लाभदायक भएको कुरा बताउँछिन् । उनी यसपालि धेरैजसो सुटिङमै व्यस्त रहिन् । सृष्टिले अभिनय गरेका कतिपय म्युजिक भिडियोले सफलता पनि प्राप्त गरे । अधिकांश समय म्युजिक भिडियो सुटिङमै व्यस्त भएकाले आर्थिक रुपमा पनि राम्रो भएको खड्काले बताइन् ।