बेलायती रेस्टुराँ व्यवसायमा परिचित नाम हो— एभरेस्ट इन । त्यहाँको परिकार जति स्वादिलो छ, त्यति नै न्यानो स्वागत सत्कार पाइन्छ । शतप्रतिशत विदेशी ग्राहक आउने यो रेस्टुराँमा विभिन्न नेपाली पर्वहरूमा विदेशी ग्राहकका लागि विशेष कार्यक्रमहरू आयोजित गरिन्छ । तिहारका अवसरमा सप्तरङ्गी टीका र ढाकाटोपी लगाइदिएर होस् वा दसैंमा रातो टीका र दौरा–सुरुवाल । यस्तै विभिन्न परम्परागत ढाचामा स्वागत गर्छ एभरेस्ट इनले ।
यसै साता नेपाली नयाँ वर्षको अवसरमा लन्डनस्थित ब्ल्याकहिथ ब्रान्च रेस्टुरेन्ट एभरेस्ट इनमा त्यस्तै वातावरण देखियो । अवसर थियो— नेपाली नयाँ वर्षको, तर ऊत्सव विदेशीहरूले मनाइरहेका थिए । कार्यव्रमको उद्देश्य नेपाली स्वागत सत्कार प्रदर्शन गर्नुका साथै नेपाली अथेन्टिक खाना चखाउनु, नेपाल भिजिट वर्षको जानकारी गराउनुका साथै ऊक्त कार्यव्रमबाट उठेको रकम समाजसेवामा खर्चनु थियो । भित्तामा टाँसिएका सगरमाथाको आकर्षक पोटर, आंखी झ्याल, सारङ्गी, बुद्धको मूर्ति
आदि विविध परम्परागत वस्तुकलाले रेस्टुराँ नेपालमय देखिन्थ्यो ।
त्यस्तै नेपाली खानाको स्वादसँगै गायक, संगीतकार गंगा थापाको स्वर तथा नेपाली धुनमा पाहुनाहरू मन्त्रमुग्ध देखिन्थे भने र्याफल ड्र विजेताले नेपालीको पहिचान खुकुरी, नेपालको विभिन्न रमणीय स्थानको पेन्टिङ उपहार प्राप्त गरे ।
यो रेस्टुराँकै पहलमा हरेक वर्ष समूह बनाई बेलायती नागरिकलाई नेपाल भ्रमण गराइन्छ । एभरेस्ट इन अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूमा पनि उत्तिकै प्र्रख्यात छ । एभरेस्ट इनले बलिउडका शाहरूख खान, कटरिना क्याफ, ब्रिटिस सेलीब्रेटी जोवाना लुम्ले, प्रिन्स माइकल, गायक जे सिन, फुटबलर सोल क्याम्बेल आदिलाई नेपाली स्वाद चखाइसकेको छ । एभरेस्ट इन रेस्टुराँको शाखा बेलायतका विभिन्न ठाउँ गरी चार स्थानमा छ ।