पूर्वी मोरङको पथरी बजारमा वैशाख ७ गते शनिबार बिहानै एक महिलाको शव भेटियो । पथरी, शनिश्चरे–१ को बजार क्षेत्रमा नग्न अवस्थाको शव देखिपछि मर्निङ वाकमा निस्किएका स्थानीय बासिन्दाहरूले प्रहरीलाई खबर गरे । घोप्टो परेको शवबाट रगत पनि बगिरहेको थियो । सुरुवातमा उक्त शव कसको हो भनेर कसैले अनुमान लगाउन सकेनन् । प्रहरी आएर हेर्दा उक्त शव शनिश्चरे– १ मा डेरा गरी बस्ने २९ वर्षीया रीना खड्का बस्नेतको भएको खुल्यो ।
स्थानीय वीरबहादुर बस्नेतको घरको तेस्रो तल्लामा डेरा बस्दै आएकी रीनाको शव फेला परेपछि त्यो हत्या हो कि आत्महत्या भन्ने कुराको अनुसन्धान चलिरहेको छ । १४ वर्षीय छोरा साइमनसँग डेरामा बस्दै आएकी रीनाले सोही स्थानमा विगत २ वर्षदेखि कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । रीनाका पति वैदेशिक रोजगारीका क्रममा दुबईमा थिए । प्रहरीले रीनाको शव पोस्टमार्टम गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभाग पुर्याए पनि हालसम्म त्यसको रिपोर्ट आएको छैन । कतिपयले रीनाको बलात्कार गरी हत्या भएको हुन सक्ने आशंका गरेका छन् । यद्यपि प्रहरीले आफ्नो प्रारम्भिक अनुसन्धानमा त्यस्तो तथ्य नभेटिएको जनाएको छ ।
वैशाख ६ गते शुक्रबार राति पथरीको प्रस्तावित रंगशालामा सञ्चालित सांगीतिक कार्यक्रम हेरेर छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी रीना वैशाख ७ गते शनिबार बिहानै आफ्नै कोठा अगाडि बाटोमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोमा चोट लागेको देखिन्थ्यो । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीय बासिन्दाले लुगाले ढाकिदिएका थिए । प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पनि स्थानीय बासिन्दा तथा आफन्तले उनको नियोजित हत्या भएको दाबी गर्दै हत्यारा पत्ता लगाएर कारवाही गर्न दबाब दिँदै आएका छन् ।
कसरी भयो घटना ?
वैशाख ६ गते शुक्रबार राति फथरीमा सांगीतिक कार्यक्रम थियो । कार्यत्रममा भिटेन र लाउरेको प्रस्तुति थियो । रीना र छोरा साइमन एक परिचितको जन्मोत्सव कार्यक्रममा राति १० बजेसम्म बसे । त्यसपछि उनीहरू ऊक्त सांगीतिक कार्यत्रम हेर्न गए । उनीहरू सांगीतिक कार्यक्रम हेरेर करिब ११ बजे डेरा फर्किए । रीनाको मोबाइलमा पटक–पटक फोन आइरहेको थियो । जन्मदिनको कार्यक्रममा पनि फोन आएर हैरान भै ममी र आफmू सांगीतिक कार्यक्रममा गएको छोरा साइमनले बताए । ‘सांगीतिक कार्यत्रममा हुँदा पनि फोन आइरहेको थियो,’ उनले भने, ‘ममीचाहिँ काटेको काट्यै गर्नुहुन्थ्यो ।’ साइमनका अनुसार घर आउँदा ११ः०६ भएको थियो, त्यतिबेला पनि फोन आएको आई थियो । ‘तनावमा ममीले आधा बोतल बियर पिउनुभयो, तर मातेको हुनुहुन्नथ्यो’ उनले भने– ‘म १२ः३० सम्म मोबाइल चलाइरहेको थिएँ, बाबाले सुत्नु पर्दैन भनेर दुबईबाट फोन गरेपछि फोन चार्ज गरेर सुते ।’ एक वर्षअघि नेपाल आएर दुबई फर्किएका बाबासँग शनिबार राति पनि रीना र साइमन दुवैले कुराकानी गरेका थिए । साइमन सुत्दा पनि ममीको फोन आइरहेको थियो, तर उनले उठाएकी थिइनन् । त्यसपछि के भयो, आफूले केही थाहा नपाएको साइमनले बताए । बिहान स्थानीय बासिन्दाले साइमनलाई उठाएर रीनाको शव फेला परेको जानकारी दिएका थिए ।
कसको फोन थियो त्यो ?
छोरा साइमनका साथै स्थानीय बासिन्दाहरूका अनुसार रीनालाई अत्यधिक फोन आउने गरेको थियो । कमल नेपाल नाम गरेका व्यक्तिले पटक—पटक ममीलाई फोन गर्ने गरेको छोरा साइमनले बताए । ती व्यक्तिलाई रीनाले भेटेको पनि उनले बताए । कमलले ममी र आफूलाई पैसा पनि दिने गरेको साइमन बताउँछन् । नेपालले आफूलाई मोबाइल, ट्याप अनि लुगा किन्न पैसा दिने गरेको उनले खुलाए । ममीले अंकल भनेर कमल नेपाललाई चिनाएको बस्नेतले जानकारी दिए । अन्तिमको ५३ नम्बरबाट पटक–पटक फोन आउने गरेको उनको भनाई छ । नेपालले ममीलाई फोनसँगै भिडियो कलसमेत गर्ने गरेको उनले बताए । ‘भिडियो कल आउँदा ममी फोन लुकाउनुहुन्थ्यो’ उनले भने– ‘मैले थाहा पाउँछु भनेर पटक–पटक मोबाइलको लक परिवर्तन गर्नुहुन्थ्यो ।’ ती व्यक्तिले नै राती अबेरसम्म ममीलाई फोन गरेको र रीना दिउँसैदेखि तनावमा रहेको छोरा साइमनले बताउँदै आएका छन् ।
हत्या कि आत्महत्या ?
विभत्स अवस्थामा भेटिएकी रीनाको हत्या हो कि आत्महत्या भन्ने विषयमा अनुसन्धान भैरहेको छ । रीनाको बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीय बासिन्दाहरूको अनुमान छ । मोरङ प्रहरीका प्रहरी उपरीक्षक मनोज केसीले रीनाको शवको अवस्था हेर्दा माथिबाट कसैले फालेको भन्दा पनि आफैं लडेको हुन सक्ने बताएका छन् । पोस्टमार्टमबाट धेरै कुरा खुल्ने उनको भनाई छ । प्रहरीले सबै कोणबाट अनुसन्धान थालेको केसीले बताए । ‘कपडा आफैले खोलेर कोठामै राखेको देखिन्छ, कोही आएको पनि देखिँदैन’ एसपी केसीले भने, ‘घटना शंकास्पद भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।’ इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले भने– ‘अनुसन्धान पूरा नभै केही भन्न सकिँदैन । ।’
यता रीनाका आफन्तले विभत्स तरिकाले हत्या गरिएको भन्दै दोषीलाई पक्राउ गरी कानुनी कार्वाहीको माग गरेका छन् । रीनाका जेठाजु चन्द्रबहादुर बस्नेतले प्रहरीले आफन्तलाई कुनै जानकारी नदिई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव लगेको आरोप लगाए । अर्का जेठाजु दुर्गावहादुर वस्नेतले भने–‘रीनाको टाउकाको पछिल्लो भागमा रड वा केही वस्तुले गहिरो रूपमा छेडेको देखिएको र निर्वस्त्र सडकमा भेटिएकाले हत्या नै भन्ने सहजै बुझिन्छ ।’
एकपछि अर्को घटना
पथरी, शनिश्चरेमा अपराधका घटनाहरू एकपछि अर्को गरी श्रृंखलाबद्ध रूपमा घट्दै आएका छन् । पथरी बजारमा सञ्चालित सिक्का बारमा आएका पथरी, शनिश्चरे–७ का २७ वर्षीय षडराज तामाङको पनि यस्तै प्रकारले रहस्यमय मृत्यु भएको थियो । तामाङको पनि टाउकोमा चोट लागेको र घोप्टो परेको अवस्थामा गत ०७५ फागुन १६ गते राती सडकमा शव फेला परेको थियो । उक्त घटनालाई प्रहरीले आत्महत्या बताए पनि त्यसप्रति कोही विश्वस्त हुन सकिरहेका छैनन् । यस्तै, यसअघि सुस्त मनस्थितिकी रमा बरालको पथरी बजार क्षेत्रको पिपल बोटमा हत्या भएको थियो । बजारको पश्चिममा रहेको श्रीजंघा बनमा पथरी, शनिश्चरे–१ पथरी बजारका २५ वर्षीय गोविन्द दर्नालको ३ वर्षअघि हत्या भएको थियो ।
नेपाल नियन्त्रणमा
पथरी, शनिश्चरे त्रिवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रीनाको रहस्यमय मृत्युपछि प्रहरीले कमल नेपाल सोमबार साँझ आफ्नो नियन्त्रणमा लिएको छ । रीनाको मोबाइल फोनको कल डिटेलमा पनि कमलसँग कुराकानी गरेको पाइएपछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।