साप्ताहिक संवाददाता
कजाखस्तानको एक जेलमा एउटा वयस्क भालुले अपराधीहरूसँगै जन्मकैदको सजाय काटिरहेको छ । दुई जना मानिसलाई मारेको अभियोगमा उक्त भालुले जन्मकैदको सजाय पाएको हो । इकैटरिना नाम गरेको उक्त भालु अपराधी थुन्ने जेलमा एउटा अलग्गै खोरमा विगत १५ वर्षदेखि (२००४ देखि) छ ।
जेलमा बसेका व्यक्तिहरूले कात्या भनेर बोलाउने उक्त भालुले १५ वर्षअघि दुई जना व्यक्तिको हत्या गरेको आरोप लागेको थियो । हत्याको आरोपमा कजाखस्तानको जेलमा ७ सय ३० भन्दा बढी पुरुष कैदीको बीचमा अलग्गै खोर बनाएर थुनिएको ऊ एक मात्र पोथी भालु हो । २५ वर्षको जेल सजाय पाएकी कात्यालाई अलग्गै स्वीमिङ पुलको व्यवस्था मिलाइएको छ । कडा सुरक्षाबीच रहेकी कात्या पहिलेको तुलनामा अहिले सामान्य स्वभावकी हुँदै गएकी छ ।
पहिले निकै रिसाउने कात्या अहिले मानिसहरूसँग घुलमिल हुन खोज्ने किसिमको भएको बताइन्छ, तर उनलाई खुला भने गरिएको छैन । कात्या अहिले उक्त जेलको प्रतीक भएकी छ । धेरैले उनलाई हेर्न चाहने हुनाले त्यहाँ उनको मूर्तिसमेत निर्माण गरिएको छ । नजिक चिडियाखाना नभएकै कारण उनलाई मानिस थुन्ने जेलमा राखिएको हो । जेल प्रशासनले उनलाई शारीरिक सम्पर्क गर्ने छुट दिएको छैन, तर उनलाई गर्भवती बनाउन कृत्रिम गर्भाधारण भने गराइँदै आएको छ ।