जिल्लामै पहिलो पटक फिसिङसहित सञ्चालित महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटकहरूले बेग्लै किसिमको रमाइलो गरे । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सन्दकपुर–५, जमुनामा आयोजित पाँचौं ढापपोखरी महोत्सवमा आधा घण्टाको ३ सय रुपैयाँ तिरेर बल्छी खेल्ने व्यवस्था मिलाइएको थियो ।
५५ रोपनी जमिनमा फैलिएको पोखरीमा डुंगा सवारी र घोड सवारी पनि धेरैको रोजाइमा पर्यो । पोखरी आसपासको चियावारी क्षेत्र एवं रमणीय प्राकृतिक वातावरणले पनि थुप्रै आगन्तुकको मन तान्यो । महोत्सवको आकषर्णका रूपमा चर्चित कलाकारहरूको प्रस्तुति पनि रह्यो ।
उक्त महोत्सवमा गायक कुवेर राई, रोशन गुरुङ, कोमल निरौला, इन्द्र गुरुङ, डम्बर नेपाली, भेपेन गुरुङ आदिले सांगीतिक प्रस्तुति दिएका थिए । ऐतिहासिक व्यक्तित्व चन्द्रपाल थेवेको नाममा रहेको पर्यटन समितिले आयोजना गरेको महोत्सवमा इलामको युनिभर्सल कला केन्द्र तथा युनिक डान्स सेन्टरको प्रस्तुति पनि उत्कृष्ट रह्यो भने स्थानीय युवाहरूको ब्यान्ड ‘कर्मठ’ले पनि दर्शकको मन जित्यो ।