साप्ताहिक संवाददाता
अमेरिकास्थित न्युयोर्कमा मिस नेपाल नर्थ अमेरिका २०१९ हुने भएको छ । आगामी अगस्ट १७ तारिखका दिन न्युयोर्क शहरको मेलरोज बलरुममा कार्यक्रम हुनेछ, सोहि स्थानमा अघिल्लो बर्ष पहिलो मिस नेपाल नर्थ आयोजना गरिएको थियो ।
आयोजकले दोश्रो मिस नेपाल नर्थ अमेरिका २०१९ को मिति, दिन तथा स्थान तय भएको जानकारी दिएका हुन् । आयोजकले सहभागी हुन चाहनेहरुका लागि आबेदन पत्र खुलेको जनाएको छ । आबेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको छ भने जुलाई १ तारिखका दिन अन्तिम नामावली प्रकाशित गरिनेछ । अन्तिम ग्रान्ड फिनाले अगस्टमा १७ का दिन हुनेछ । आयोजक उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रमको तयारी प्रारम्भ भएको जानकारी दिएको छ । आयोजकमध्येका एक निराकार उप्रेतीले भने, ‘अघिल्लो बर्षको सफलतापछि दोस्रो संस्करण सुरु गर्न थप प्रेरणा मिलेको हो, यसपटकको कार्यक्रम थप भब्य गराउने योजना बनाएका छौं ।’
प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि मिस नेपाल २०१० कि सदिक्षा श्रेष्ठले कोरियोग्राफी गरेकी थिइन् भने २०१७ कि मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिइन् । उक्त अवसरमा चर्चित गायक हेमन्त राना, बर्तिका राई तथा बिक्की गुरुङ लगायतले प्रस्तुती दिएका थिए ।
आयोजकले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको राम्रो नैतिक चरित्र तथा नेतृत्वको शीप हुनु पर्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनु पर्ने प्राबधान बनाएको छ ।
आयोजक समूहमा अन्तर्गत शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह-संस्थापक सभापति रहेका छन् ।