साप्ताहिक संवाददाता
सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ मा अघिल्लो सिजनका २ कोचहरुलाई दर्शकले देख्न नपाउने भएका छन् । पहिलो सिजनमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका थिए । दर्शकले यि ४ मध्ये अभया र सोनुपलाई यो सिजनमा देख्न पाउने छैनन् ।
यि २ कोचको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउत कोचका रुपमा ‘द भ्वाइस अफ नेपाल’को सिजन–२ मा भित्रिने खबर सार्वजनिक भएको छ ।
अघिल्लो सिजनमा कोचको भूमिकामा रहेकी अभया सुब्बा ‘ग्रान्ड फिनाले’मा सहभागी भईनन् । उनको यो ब्यवहारप्रति ‘हेडक्वाटर’ले असन्तुष्टि जनायो । त्यसैले उनको विकल्प खोज्नु परेको ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेल बताउँछन् । अर्को को परिवर्तन हुँदै छ भन्ने बारे पौडेलले केहि बताएका छैनन् ।
‘द भ्वाइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुने छ । ‘डिजिटल अडिशन’ सम्पन्न गरिसकेको ‘द भ्वाइस अफ नेपाल’ले उक्त अडिशनबाट ११० जना प्रतिस्पर्धी छनोट गरेको बताएको छ । निर्देशक पौडेलका अनुसार ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा १२ हजार मात्रै सहभागी भएका थिए ।
अघिल्लो वर्षको भन्दा कार्यक्रममा केहि नियमहरु परिवर्तन हुने बताईएको छ । कार्यक्रम ३२ श्रृंखला प्रशारण हुनेछ ।