साप्ताहिक संवाददाता
२० औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले ‘चलचित्र पक्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । मंगलबार हेटौंडामा एक कार्यत्रमकाबीच लम्साललाई ११,१११ नगदसहित सहित सम्मान गरिएको हो ।
लम्साल लामो समयदेखि नेपाली कला, भाषा, साहित्य तथा चलचित्र क्षेत्रमा कलम चलाउँदै आएका छन् । डा. लम्साल हाल रेडियो नेपालमा कार्यरत छन् ।
सोही अवसरमा यो वर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ बाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका पत्रकार रोशन पराजुलीलाई पुरस्कृत गरेको छ । पराजुलीलाई नगद ५ हजार राशीसहित पुरस्कृत गरिएको हो । हेटौंडाबाट विस २०५२ सालदेखि कामना न्युज पब्लिकेशन प्रालिमा नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका पराजुली हेटौंडाबाट प्रकाशित हेटौंडा सन्देशका पनि कार्यरत रहेका छन् ।
यसैगरी संघले मकवानपुरबाट राष्ट्रिय स्तरमा कलाकारिता गर्दै आएका कलाकारलाई पनि सम्मान गरेको छ । यस वर्ष द्धन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गीलाई ‘चलचित्रकर्मी सम्मान–२०७६’ बाट सम्मान गर्ने निर्णय गरेको थियो तर उनी पारिवारिक समस्याले कार्यक्रममा अनुपस्थित भए । उनलाई कुनै कार्यक्रमका बीच सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।