घटना २०५० तिरको हो । दशैंको समय थियो । हिन्दुहरुको महानपर्व भएकाले गाउँमा रौनक त थियो, त्यसैको बेला एउटा स्कुलमा नाटक देखाइयो । टन्नै दर्शक उपस्थित भए । रौनकता झन् बढ्यो ।
मञ्चमा धेरै कलाकार थिए । त्यसमध्ये एक थिए बालकलाकार भोला सापकोटा । तर, के भयो भने भोलाको प्रस्तुती धेरैले मन पराएनन् । उनको अभिनयले चित्त बुझाएन । त्यो थाहा पाएपछि भोलालाई तनाब भयो । भोला जुरुक्क उठे, घरतर्फ लागे ।
सायद त्यहिबेलाको इखले होला । धेरैबर्षपछि भोलाले आफुलाई अब्बल कलाकारको रुपमा चिनाए । हाँस्दै भोला थप्छन्, ‘कसैले मन पराउनु र नपराउनु एउटा विषय हो । तर, अभिनय गरेर धेरैको मन जित्न ठुलो मिहेनत जरुरी रहेछ ।’ भोला राम्रैसँग रंगकर्मी र नाटककारको रुपमा मज्जाले चिनिए । यति मात्रै होइन, भोलाले बलिउडको हिट चलचित्र बर्फीमा समेत काम गरेर धेरैको ध्यान ताने । नेपालका पनि धेरै चलचित्रमा काम गरिसकेका भोला अहिले नयाँ चलचित्र चचहुईको छायाँकनका लागी हङकङ छन्, कुम्भकरण प्रदर्शन हुन केहि समय मात्रै बाँकी छ ।
०००
बर्फी जस्तो हिट चलचित्रमा देखिएपछि भोला भोलालाई धेरै बलिउड चलचित्रको अफर आयो । ‘वर्फी सुरु गर्ने बेलामा बिहे भयो, बच्चा हुने बेलामा श्रीमतीलाई अफ्ट्यारो भयो,’ उनले भने, ‘निरन्तर उनको हेरचाह गर्नुपर्ने भएपछि श्रीमतीलाई समय दिएँ, बलिउड यात्रा रोकियो ।’ बर्फी जस्तो हिट चलचित्रमा काम गरिसकेपछि मुम्बई शहरमा लाईफस्टायल त्यस्तै किसिमको हुनुपर्ने, भोला फेरी थप्छन्, ‘त्यो पनि एउटा कारण हो म वलिउड फकर्न नसकेको ।’ बर्फीपछि भोलाले झण्डैं १ बर्ष काम गरेनन् । कारण के हो भने श्रीमतीका कारण बलिउड जान नसक्ने अवस्था, नेपाली चलचित्रमा महंगो कलाकार खेल्दैन भन्ने हल्ला फैलियो । सोहि हल्लाका कारण लामो समय नेपाली चलचित्रमा काम गर्न नपाएको बताउँछन, भोला ।
०००
बर्फी भन्दा पहिला नेपाली चलचित्र ‘सानो संसार’मा देखिएका थिए उनि । तर, बर्फीमा काम गरिसकेपछि तुरुन्तै धेरै नेपाली चलचित्रको लाईन नलागेपनि धेरै निर्माताको नजर भने गयो । जब नेपाली चलचित्रमा काम गर्न थाले, स्क्रिप्ट राम्रो तथा चित्त बुझेका चलचित्रमा मात्रै काम गरे । चलचित्रमा काम गर्नुभन्दा अगाडि नाटकमा जमेका थिए उनि । नाटककारको रुपमा चिनिएका उनलाई चलचित्र भन्दा नाटकनै प्यारो लाग्थ्यो । त्यतिबेला चलचित्रमा काम नगर्ने भन्ने खालको सोच हुन्थ्यो, उनले भने, ‘हामी ८–९ जना अभिनयको कोष गरेका थियौं, तर वर्फीपछि भने निरन्तर काम गर्ने रहर जाग्यो ।’ अहिले धमाधम चलचित्रमा ब्यस्त छन्, भोला । धेरै चलचित्रमा देखिएका छन् उनि । हरेक चलचित्रमा फरक–फरक किसिमले दर्शकमाँझ देखिएका छन् । आफ्नो अभिनयले दर्शकलाई धेरै चित्त नबुझेपनि केहि न केहि कुराले चित्त बुझोस् भन्ने लाग्छ भोलालाई । थप्छन्, ‘हरेक क्यारेक्टरमा कसरी हुन्छ फरक गर्ने प्रयास गरिरहेको छु ।’
०००
भोलालाई चलचित्र र नाटकमा धेरै भिन्न छ भन्ने लाग्छ । ‘चलचित्र भनेको निर्देशनको र मेसिनको माध्यम हो, नाटक भनेको एक्टरको माध्यम हो,’ । चलचित्रमा १४, १५, ५० पटकसम्म टेक लिन मिल्छ र अन्तिममा सत्य भनेको निर्देशक हो, निर्देशकलाई जे मन लाग्छ त्यहि छान्छ भने नाटकमा सत्य भनेको कलाकार मात्रै हो । उसले जे गर्छ दर्शकले देखिहाल्छन् । यद्यपी नाटक र चलचित्रको आ–आफ्नै किसिमको महत्व छ भन्छन् भोला ।
०००
कक्षा ७ मा पढ्थे । नेपाल टेलिभिजनबाट ‘ट्वाक्कटुक्क’ कार्यक्रम प्रसारण हुन्थ्यो । यो कार्यक्रमले मन छोयो उनको । यो सिरियलमा काम गर्न पाएँ भने ? एकाएक हुटहुटी जाग्यो भोलाको मनमा । कार्यक्रम निर्देशकको नाम दिनेश डीसी थाहा पाए । उनैलाई भेट्न काठमाण्डौं जाने सोच बनाए । तर गोजीमा सुको थिएन । के गर्ने त ? घरबाट उनलाई काठमाण्डौं पठाउन पुग्ने भाडा पनि थिएन । घरको स्थिती बलियो नभएपछि कसले सहयोग गर्ने उनलाई ? एकाएक आइडिया लगाए । उनले हेटौडामै एकजना चिनेको दाई थिए, उनले ट्याक्टर चलाउथे । उनकै ट्याक्टरमा खुरु–खुरु केहि समय काम गरें, अलिकति पैसा जम्मा गरें अनि काठमाण्डौं हिडे । यदि त्यो ट्याक्टरमा लोड–अनलोन गर्ने काम नपाएको भए ? उनले फेरी थपे, ‘रहर र सपनाले मान्छेलाई एउटा बाटोमा डोहो¥याउने काम गर्छ, मेरो मनमा कलाकार बन्ने रहर जागेको थियो, यदि त्यो ट्याक्टरवाला दाइले काम नदिएको भए अरु केहि खोज्ने थिएँ कि ?’ तर अचम्मै भयो, उनि काठमाण्डौं आएपनि उपलव्धी मुलक भएन यात्रा । दिनेश डिसिलाई कता–कताबाट भेट त गरे तर उनले एसएलसि सकाएपछि खेलाउँछु अहिले जाउ भनेपछि उनि निराश भए, रातारात गाडी चढेर घर फर्किए । केहि समय घरमै चुपचाप बसे ।
०००
झण्डैं २५ बर्ष भयो, उनले यो क्षेत्रमा काम गरेको । यति लामो समयमा पाएको सबैभन्दा ठुलो कुरा के होला ? उनि भन्छन्, ‘कहिल्यै अरु काम गरिनँ, जे गरियो अभिनय क्षेत्रमा गरियो र विभिन्न संघर्ष गरेर यो क्षेत्रमा आएँ, सायद धेरैले चिन्नुहुन्छ त्यहि कुरानै ठुलो उपलव्धी हो कि जस्तो लाग्छ ।’ धेरै ठुलो सपना देख्ने हो भने नराम्रो काममा ध्यान दिनुपर्छ, यदि जे सकिन्छ त्यसअनुसार खुसी बन्न सक्नेहो भने जिवन पाल्न खासै गाह्रो छैन भन्छन् भोला । ‘मज्जाले काठमाण्डौंमा बस्न सकिएको छ । परिवार पाल्न सकिएको छ । मिठो मसिनो खान पाइएको छ । जिवन चलेको छ । भोलाको मनमा यस्ता कुराले खुसी लाग्छ । धेरै सपना छैन उनको मनमा । इमान्दार भएर निरन्तर चलचित्र क्षेत्रमा काम गर्न पाए हुन्छ भन्ने लाग्छ उनलाई । उनि थप्छन्, ‘जिवन चलाउने खुसीले हो, अरु कुरा त कहिले हुन्छ कहिले हुदैन ।’
भिडियो कुराकानी