
वि.स. २०७१ साल फागुन ७ गते पोखराको तुलसीघाटमा शव भेटिएका सूर्यबहादुर पाण्डेको हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । पुर्पक्षका लागि कारागार पठाइएकाहरूमा रामचन्द्र मानन्धर, माइला भन्ने बुद्ध श्रेष्ठ तथा धुव्र मानन्धर छन् ।
जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीले जनाए । उनीहरूविरुद्ध मृतक सूर्यकी आमा विष्णुकुमारी पाण्डेले किटानी जाहेरी दिएकी थिइन् । उनकै किटानी जाहेरीका आधारमा ओरोपीहरू पक्राउ परेका थिए । आरोपी तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतमा २०७६
जेठ ९ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
को हुन् सूर्यबहादुर पाण्डे
सूर्यबहादुर पाण्डे व्यवसायिक रुपमा मोटरसाइकल वर्कसपमा काम गर्थे । स्थायि ठेगाना कास्की जिल्लाको सिन्दुजुरे भएपनि सूर्यको जन्म वि.सं. २०४५ साल फागुन ३ गते पोखरा गण्डकी हस्पिटलमा भएको थियो । नयाँबजार–९ स्थित महेन्द्र माविमा कक्षा ७ सम्म अध्ययन गरेका सूर्यले इच्छाशक्ति अटोमोबाइल (बजाज शो–रुम) नयाँबजार–९ मा हेल्परका रूपमा बाइक बनाउने सिकेका थिए । बाइकको राम्रो सर्भिसिङ गर्ने भएकाले उनी भएको ठाउँमा धेरै सेवाग्राही पुग्थे ।
साथीभाइहरूसँग घुलमिल हुन् र उनीहरूलाई विश्वासमा लिन रुचाउने सूर्य परिआए साथीभाइलाई सहयोग गर्न पनि पछि पर्दैनथे । उनले नयाँबजारस्थित नासा मोटरसाइकल वर्कसपमा बाइक मिस्त्रीका रूपमा १ वर्ष काम गरेका थिए । पछि वर्कसप भएको ठाउँमा घरधनीले घरबनाउने भनेपछि उक्त वर्कसप २०७१ कात्तिक महिनातिर बन्द भयो । त्यसपछि बेरोजगार रहेका पाण्डेलाई विभिन्न ठाउँबाट आकर्षक तलबका साथ कामको अफर गरिए पनि कति अर्काका काम गर्ने भन्दै आफ्नै वर्कसप खोल्ने योजनामा थिए पाण्डे । त्यसका लागि उनी दाजु महेन्द्र पाण्डेसँग सरसल्लाह गरिरहेका थिए ।
त्यतिबेला उनी २५ वर्षका थिए । दाजु महेन्द्र भाइको कुरामा सहमत थिए, तर लोकेसन भने चित्त बुझेको थिएन । सूर्य नयाँबजारमै वर्कसप खोल्न चाहन्थे । दाइ महेन्द्र भने नयाँबजार एरियामा दुर्व्यसनमा फसेका युवाहरू बढी भएका कारण अन्यत्र वर्कसप खोल्न जोड दिन्थे । सूर्य वर्कसपको मिस्त्री भएका कारण लागूऔषधको दुर्व्यसनमा फसेका तथा कारोबार गर्नेहरूसँग भेट भैरहन्थ्यो । प्रहरी पनि सूर्यकै मद्दतमा लागूपदार्थ दुर्व्यसनी तथा कारोबारीहरूलाई पक्राउ गर्न सफल हुँदै आएको थियो । प्रहरीलाई सूचना दिएको कुरा थाहा पाएका लागूपदार्थ दुर्व्यसनी तथा कारोबारीहरू भने सूर्यसँग असन्तुष्ट थिए । बेला–बेलामा उनलाई धम्कीयुक्त फोन आउने गरेको उनका दाई महेन्द्र पाण्डे बताउँछन् ।
कस्तो अवस्थामा भेटियो शव
२५ वर्षीय सूर्यबहादुर पाण्डेको शव विक्रम सम्वत् २०७१ साल फागुन ७ गते विहान ८ः०० बजे राममन्दिरको पारी सेती नदीको खोँचमा सुतेको अवस्थामा फेला परेको थियो । सूर्यको शव विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएको थियो । चोट बढी भए पनि शरीरमा रगत बगेको खासै नदखिएपछि उनको परिवारले उनको भिरबाट लडेर नभई मारेर लगेर राखिदिएको आंशका गरेका थिए । सूर्यले लगाएको टि–सर्ट, जिन्स पाइन्ट तथा जुत्ता कुनै किसिमको घिस्रिएको, च्यातिएको, कोतरिएको, फोहर माटो नलागेको अवस्थामा थिए । सूर्यको चिउँडोमा धारिलो हतियारले रेटेको ओभानो घाउ स्पष्ट देखिन्थ्यो । यद्यपि घाउबाट बगेको रगत घाँटी वरीपरी, टि–सर्टमा लागेको प्रस्ट देखिएको थिएन । पोष्टमार्टम गर्ने बेलामा कपडा खोल्दा करङ र छातीमा लामो–लामो निलडाम देखिन्थ्यो तर टि–सर्टमा बाहिरबाट देखिने गरी कुनै चोट वा डाम थिएन ।
यही शंकाका कारण परिवारले सूर्यको हत्या भएको निष्कर्षका साथ जिल्ला प्रहरी कार्यालय कास्कीमा शव भेटिएको दिननै उनका दाजु महेन्द्र पाण्डेले उजुरी दिए फनि । छानबिनका क्रममा केही व्यत्तिलाई पक्राउ गरियो, तर उनीहरू छुटे । पहुँचका आधारमा उनीहरूलाई प्रहरीले छोडेको भन्दै मृतकको परिवारले आरोप लगाए पनि केस अघि बढेन । मृतक सूर्यबहादुर पाण्डेको शव तुलसीघाट अस्थायी प्रहरी बिटभन्दा १ सय मिटरको दूरीमा फेला परेको थियो ।
छोरालाई न्याय दिलाउन
आमाको प्रयास
सुरुमा मृतकका दाइले किटानी जाहेरी दिए पनि प्रहरीले अनुसन्धान अघि नबढाएकाले उनीहरू चिन्तित थिए । पद, पावर एवं राजनीतिक संरक्षणका कारण अनुसन्धान अघि नबढेको निर्ष्कषमा उनीहरू पुगे । यसले मृतककी आमा विष्णु कुमारी पाण्डेलाई निकै चोट पुर्यायो । उनी छोराका हत्यारालाई कारबाहीको दायरमा ल्याउने दृढ संकल्पका साथ अघि बढिन् । जिल्ला प्रहरी कार्यालय, मानव अधिकार आयोग, इन्सेक तथा पत्रकारहरूसँग पटक–पटक भेट गरी आफ्नो पिडा सुनाइन् । हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गरिन् । हातमा छोराको लासको फोटो देखाउँदै न्यायका लागि भौतारिइन् । उनी रुन्थिन्, कराउँथिन्, बेला–बेलामा अचेत समेत हुन्थिन् । यसबीच कास्कीका प्रहरी प्रमुखहरू परिवर्तन भैरहे । उनी नयाँ प्रहरी प्रमुख आउने वित्तिकै आफ्नो पिडा बताउँथिन् तर विष्णु कुमारीले कहिल्लै हरेस खाइनन् । बल्ल ४ वर्षको अथक प्रयासबाट राष्ट्रिय मानव अधिकार आयोग कास्की तथा एस.आई.टी.को विशेष सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनको जाहेरी बुझ्यो अनि एसपी ओमबहादुर राना लगायतको टिमको सहयोगमा अनुसन्धान अघि बढ्यो । आमा विष्णु कुमारीको जाहेरी २०७६ वैशाख १३ गते शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भयो ।
कसरी भयो घटना
फागुन ६ गते शिवरात्रिको दिन थियो । नयाँबजार–९, तुल्सीघाटमा धुनीलगाएको ठाउँमा माइला भन्ने बुद्ध श्रेष्ठसँग सूर्यको विवाद हुन्छ, केटी जिस्क्याएको विषयमा, तर यो विवाद पुलिसको समेत उपस्थितिमा मिल्छ । साथीहरूले सूर्यलाई खाना खान जाउ भन्छन् तर सूर्य जान मान्दैनन् । मलाई सुड्डीले खानाखान बोलाएकी छ, म आज सुड्डीकहाँ बस्छु– उनी झन्छन् । सूर्य त्यतातिर लाग्छन् । त्यही क्रममा राति साढे १ बजे सूर्यलाई धम्कीयुत्त फोन आउँछ अनि सूर्य त्यहाँबाट निस्कन्छन् । खाना खाने ठाउँमा रामचन्द्र मानन्धर र वर्षा विश्वकर्मा पनि थिए । त्यो समयमा कसले फोन गरेर बोलाए, के विषयमा झगडा भयो भन्ने थाहा नभएको मृतकका दाजु महेन्द्रको भनाइ छ । लागूऔषध दुर्व्यसन तथा कारोबारमा पक्राउ परेकाहरूले तैले गर्दा हामीलाई फसाइयो, हामी तलाई छोड्दैनौं भनेर सूर्यलाई धम्क्याउने गरेको महेन्द्रले बताए ।