साप्ताहिक संवाददाता
रसियाको एक आल्मुनियम कम्पनीले महिला कर्मचारीहरूका लागि ल्याएको स्कर्ट योजनाले निकै चर्चा पाउन थालेको छ । उक्त कम्पनीले महिला कर्मचारीहरूले अफिसमा स्कर्ट लगाएर काममा आए उनीहरूलाई थप तलब दिने घोषणा गरेको बताइन्छ । यो घोषणाको सामाजिक सञ्जालमा विरोध भए पनि कम्पनीका महिला कर्मचारीहरूमा भने उत्साह थपिएको छ ।
उक्त कम्पनीले सञ्चालन गरेको महिला म्याराथन अभियानअन्तर्गत कुनै पनि महिला कर्मचारीले घुँडाभन्दा ५ सेन्टिमिटर लामो नहुने स्कर्ट लगाएर आए उनीहरूले काम गरेबापत पाउने दैनिक पारिश्रमिकमा १ सय रुबल अर्थात् १ सय ६६ रुपैयाँ थप पाउनेछन् । यसका लागि महिला कर्मचारीले आफूले स्कर्ट लगाएको तस्बिर प्रमाणका रूपमा पेस गर्नुपर्ने नियम छ । यो अभियानमा अहिलेसम्म ६० जना महिला कर्मचारी सहभागी भैसकेका छन् ।
७० प्रतिशत पुरुष कर्मचारी रहेको उक्त कार्यालयको यो अभियानबाट अन्य कर्मचारीहरू पनि उत्साहित छन् । सहकर्मी महिलाहरूको उत्साह बढाउन उनीहरूले निकट भविष्यमा महिला कर्मचारीहरूलाई लिएर कसले छिटो मःम बनाउने प्रतियोगितासमेत आयोजना गर्ने जनाएका छन् ।