जी टिभीबाट प्रसारित गायनमा आधारित रियालिटी शो ‘सारेगमप लिटिल चाम्स–ध२०१९’ मा नेपालका दुई बालप्रतिभा प्रितम आचार्य तथा आयुष केसीले तेस्रो तथा चौथो स्थान हासिल गर्न सफल भए । गत आइतबार सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीसहित प्रितम र आयुषले उत्कृष्ट प्रस्तुति दिँदै सेकेन्ड तथा थर्ड रनर्सअपको उपाधि जितेका हुन् ।
सारेगमपमा सुगन्धा दाँते विजयी भइन् । प्रतियोगिताको टप सिक्समा आयुष, प्रितम सुगन्धासहित आस्था दास, अनुष्का पात्रा तथा मोहम्मद फैज पुग्न सफल भएका थिए । करिब ६ महिनाअघि प्रारम्भ भएको प्रतियोगितामा सँगीतकार अमाल मलिक, गायक शान तथा गायिका ऋचा शर्मा निर्णायक थिए ।
यसबीच, प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै प्रितम र आयुष गत सोमबार स्वदेश फर्किएका छन् । ईटहरीका प्रितम पश्चिम बंगालको बागडोगरा विमानस्थलमा ओर्लिएर पूर्वी नाका काँकडभिट्टा हुँदै इटहरी आएका छन् भने आयुष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् ।
नेपाल प्रवेश गरेका दुवै बालप्रतिभाको भव्य स्वागत गरिएको छ । प्रितमलाई उनी अध्ययनरत विद्यालयले काँकडभिट्टामै स्वागत गरेको थियो भने आयुषलाई त्रिभुवन विमानस्थलमा बाजा बजाएर स्वागत गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेर स्वदेश फर्किएका प्रितम र आयुषले साप्ताहिकमार्फत आफ्नो धारणा यसरी सार्वजनिक गरेका छन् ।
खुसीको आँसु झर्यो
राधिका आचार्य, आमा
चार महिनासम्म छोरासँग भेट नहुँदा कस्तो लाग्यो ?
आफूसँगै सुत्ने छोरा आफूसँग नहुँदा धेरै न्यास्रो लागेको थियो । के खायो होला ? के गर्दै होला ? यस्तै–यस्तै कुरा मनमा आउँथ्यो ।
छोरा सारेगमप लिटिल चाम्सको सेकेन्ड रनर्सअप हुँदा कस्तो अनुभूति भयो ?
ग्रान्ड फिनालेमा छोराको प्रस्तुति हेर्न म मुम्बई पुगेकी थिएँ । म पुगेपछि एकदैम खुसी भयो । म त छोराले गीत गाउन थालेदेखि नै रुन थालेकी थिएँ । रिजल्ट घोषणा हुनेबितिकै बावु पनि रुन थाल्यो । मेरा पनि खुसीका आँसु झरे । सानो उमेरमै छोराले यस्तो प्रगति गरेको देख्दा एउटी आमाका लागि त्योभन्दा खुसी अरू के नै हुन सक्छ र ?
प्रितमको सबैभन्दा बढी मन परेको पर्फमेन्स कुन हो ?
सन्देशे आते है... गाउँदा मलाई छोराको धेरै याद पनि आयो र उक्त पर्फमेन्स पनि राम्रो लाग्यो । उसले गाएको त्यो गीत मैले घरमै टिभीमा हेरेको थिएँ । बावुलाई नभेटेको पनि ३/४ महिना भएको थियो । टिभीमा उसले यस्तो सम्झ्ना योग्य र भावुक गीत गाउँदा म छोरालाई सम्झिँदै रोएकी थिएँ । उसको त्यो गीत मैले पूरा हेर्नै सकिनँ ।
प्रितम कति वर्षको उमेरदेखि संगीतमा लागेका थिए ?
प्रितमलाई सानै उमेरदेखि संगीतमा लगाव थियो । सानो छँदा टिभी वा मोवाइलमा गीत बजाएपछि मात्र रुन छोड्थ्यो । जस्तोसुकै मीठो खानेकुरा दियो भने पनि रुन छोडदैनथ्यो, तर गीत बजाए तत्काल रुन छोड्थ्यो । म भजन गाउँथें । ऊ पनि स्कुलमा भजन गाउँथ्यो । सरहरूले पनि यो मान्छेमा प्रतिभा छ, संगीत सिकाउनुपर्छ भन्ने सल्लाह दिनुभयो । प्रितम पाँच वर्षको उमेरदेखि नै संगीतमा लागेको हो । संगीतको प्रशिक्षण लिएपछि उसले ‘सुरशाला आइड’ मा पनि भाग लियो । काठमाडौंमा भएको सुरशाला आइडलमा ऊ फस्ट रनर्सअप भएको थियो ।
प्रितमको अबको यात्रा कसरी अघि बढ्छ ?
संगीत र पढाइ दुवैलाई अघि बढाउनेछ ।
देशको नाम राख्न सकेकोमा खुसी छु
प्रितम आचार्य
सारेगमप लिटिल चाम्स’मा भाग लिन कसरी भारत पुग्नुभयो ?
गुरु अमृत क्षेत्रीले सारेगमपको अडिसन खुलेको छ, तिमीहरूको गायन राम्रो भएकाले भाग लिनुपर्छ भन्नुभयो । लगत्तै हामी तयारीमा लाग्यौं । छनौट चरणका लागि हामीले गाएको गीतको एक–एक प्रति सिडी पठाएका थियौं । आयुष केसी र मसहित नेपालबाट १० जनाले उक्त प्रतियोगितामा भाग लियौं । अरू छनौट चरणबाट बाहिरिए पनि म र आयुष ग्रान्ड फिनालेसम्म पुग्न सफल भयौं ।
सारेगमप लिटिल चाम्समा तेस्रो भएपछि सबैभन्दा पहिले के सम्झनुभयो ?
मेरो नाम मन्चबाट घोषणा हुँदा खुसीको सीमा नै रहेन । खुसीले हर्षका आँखु झरे । मेरो कडा मेहनत अनि सबैले साथ, सहयोग र हौसला दिएका कारण यो सफलता मिलेको अभास भयो ।
अहिले कस्तो अनुभव भैरहेको छ ?
सबैले मप्रति माया एवं सहानुभूति देखाइरहनुभएको छ, धेरै खुसी लागिरहेको छ । मलाई काँकडभिट्टादेखि गृहनगर इटहरीसम्मै ठूलो स्वागत–सम्मान गरियो । सबै सामुदायले मप्रति देखाउनुभएको यो सद्भावबाट म निकै खुसी छु । यस्तो हौसलाले ममा थप अघि बढ्न ऊर्जा पैदा गरेको छ । मंगलबार मात्र मलाई इटहरी उपमहानगरपालिकाले ‘बालगायक सद्भाव दूत’ नियुक्त गरेको छ । आफूमा जिम्मेवारी बढेको महसुस भैरहेको छ ।
यो जितको श्रेय कसलाई दिनुहुन्छ ?
मेरो मेहनत र सबैको साथका कारण यो सफलता हात परेको हो । म र मेरो साथी आयुष केसीले नेपालको नाम राख्न सक्यौँ । आउँदा दिनमा पनि यसरी नै माया गरिदिनुहोला । मलाई यो ठाउँमा पुर्याउन मेरा संगीत गुरु राजु केसी, मेरा अभिभावक तथा मलाई संगीतमा अघि बढाउन सपोर्ट गर्नुहुने सबैलाई यो सफलताको श्रेय जान्छ ।
ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति दिनुअघि कस्तो महसुस भैरहेको थियो ?
ग्रान्ड फिनालेमा पुग्दा म खुसी पनि थिएँ र हल्का डरसमेत लागिरहेको थियो । खुसी यस मानेमा थिएँ कि ग्रान्ड फिनालेमा दमदार प्रस्तुति दिने मेरो लक्ष्य थियो । त्यो पूरा भयो । सारेगमपामा यो नै मेरो लास्ट प्रस्तुति हो भनेर मैले धेरै मेहनत गरेको थिएँ । त्यही अनुसार तयारीमा लागेँ । मैले सोचेअनुसारको पर्फमेन्स पनि देखाएँ । सबैले मेरो प्रस्तुति रुचाइदिनुभयो ।
सारेगमपमा सबैभन्दा बढी कुन गीत गाउनुभयो ?
थुप्रै गीत गाएँ, भारतमा रहँदा म जतिबेला पनि अभ्यास गरिरहेको हुन्थेँ । म धेरै मेहनत गर्ने भएकाले गीतहरू गुनगुनाइरहेको हुन्थें । सेमिफाइनलमा गायक के केको ‘तडप तडप के र फाइनलमा मोहम्मद रफीको ‘एन इवनिग इन पेरिस.. प्रस्तुत गरें, जुन गीतले मलाई तेस्रो स्थानमा पुर्यायो ।
अडिसनदेखि नै तपाईंको गीतले जजहरूलाई प्रभावित तुल्याइरहेको थियो । गीत गाउँदा यस्तो जादु कसरी चल्थ्यो ?
मैले धेरै नै कडा मेहनत गरेको थिएँ । म अझै अघि बढ्नु छ भन्ने विचार राखेर अगाडि बढ्थेँ । म दिनरात अभ्यासमै तल्लीन हुन्थेँ । कुन स्टाइलले गाउँदा निर्णायकलाई मन्त्रमुग्ध तुल्याउन सकिन्छ भन्ने सोचविचार गरेर लयबद्ध तरिकाले गाउथेँ । त्यही भएर पनि मेरो गाउने शैली निर्णायकहरूले मन पराउनुभएको होला ।
तपाईंको गीत गाउँदै नाच्ने शैली पनि निकै रोचक थियो । यस्तो शैली कसरी अपनाउनुभयो ?
गीत गाउनुभन्दा पहिले म उक्त गीतको भिडियो हेरेर अभ्यास गर्थें । कलाकारहरूले भिडियोमा कस्तो अभिनय गरेका छन्, म त्यो ध्यानपूर्वक हेर्थें । त्यसलाई मैले गम्भीर रूपमा हेरेर पटक–पटक अभ्यास गर्ने प्रयत्न गरेको छु । गीतको अभ्यास भएपछि त्यही भिडियोका आधारमा गीत गाउँदै नाच्छु । म स्टेज आफ्नो कब्जामा पार्ने प्रयत्न गर्दै सबैको ध्यान आफूमा केन्द्रित गर्न लागिपरेको हुन्छु ।
सारेगमपमा बिर्सन नसक्ने क्षण कुन थियो ?
मैले गाउँदा दुई पटक ‘पफमेन्स अफ द विक’ पाए । उक्त एवार्ड पाउँदा म निकै खुसी थिएँ । त्यतिबेला मैले ‘पर्फमेन्स अफ द विक’ पाउँदा मेरा अन्य साथीहरू पनि खुसी थिएँ । त्यो क्षण अझै पनि मेरो मन–मस्तिष्कमा छ । त्यो क्षण म जहिले पनि मिस गर्छु ।
६ महिनापछि घर आउनुभएको छ, कस्तो लागिरहेको छ ?
लामो समयपछि घर आउन पाउँदा निकै खुसी छु । लामो समयपछि एकै पटक ममीसँग ग्रान्ड फिनालेमा भेट भयो । त्यतिबेला पनि म निकै खुसी भएँ । भारतमा हुँदा घरका थुप्रै कुराको सम्झना आउँथ्यो ।
सबैभन्दा बढी के याद आयो ?
स्कुल पढ्ने साथीहरूदेखि यहाँको रमाइलो वातावरण अनि ममीको हातको मीठो खाना । ममीले पकाएर दिएको नेपाली परिकार मलाई धेरै मन पर्थ्यो । भारतमा त्यो पाइएन । त्यसमाथि मलाई गुन्द्रुकको हरेक परिकार मीठो लाग्छ । ममीले पकाएर दिने चिकेन तथा गुन्द्रुकको अचार धेरै मिस गर्थें ।
संगीतमा कसरी प्रवेश गर्नुभयो ?
संगीत मेरो सानैदेखिको रुचि हो । मलाई बाबाले भन्नुभएको— ‘म सानोमा रुँदा मलाई बाबा–ममीले धेरै वस्तु दिएर फकाउने प्रत्यन गर्नुहुन्थ्यो रे । तैपनि म रुन छोडदिनथें, तर मोबाइलमा गीत बजाइदिए म तत्काल रुन छोड्थें रे ।
अध्ययन पनि चलिरहेको छ । संगीत र अध्ययनलाई कसरी एकसाथ अघि बढाउनुहुन्छ ?
संगीतलाई म छोड्नै सक्दिनँ । संगीत मेरा लागि नशा हो । पढाइलाई निरन्तरता दिँदै समयको व्यवस्थापन गरेर संगीतलाई पनि अघि बढाउनेछु ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
नयाँ–नयाँ गीत सुन्छु, हेर्छु र सिक्छु । त्यसका साथै टिभी अनि मुभी पनि हेर्छु ।
कस्ता चलचित्र मन पर्छन् ?
नेपाली चलचित्र नै मन पर्छन् । त्यस्तै हिन्दी चलचित्र पनि मन पर्छन् । मलाइ कमेडी आदि सबै विधाका चलचित्र मन पर्छन् ।
अबको लक्ष्य के छ ?
आफ्नै एल्बम निकाल्ने । मेरो यो लक्ष्य चाँडै पूरा हुनेछ । त्यसपछि पनि सांगीतिक यात्रालाई नै अघि बढाउने हो ।
आफ्ना प्रशंसक–शुभचिन्तकहरूलाई केही भन्न चाहनुहुन्छ ?
सबैलाई धन्यवाद दिन चाहन्छु । यो स्थानसम्म ल्याइपुर्याउन तपाईंहरू सबैको ठूलो योगदान छ । सबैले मेरो गायन रुचाइदिनुभएको छ, माया गरिदिनुभएको छ । आगामी दिनमा यसरी नै सबैको सद्भाव, माया अनि हौसलाको अपेक्षा राखेको छु ।