साप्ताहिक संवाददाता
चलचित्र विकास वोर्डको कुर्चीमा पुग्ने बेला अध्यक्ष केशव भट्टराइले भनेका थिए, – राष्ट्रिय चलचित्र पुरस्कार जसरी पनि आयोजना हुन्छ । तर, बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस पटक पनि नहुने भएको छ । वोर्डले स्थापना दिवसको विषयमा हालै जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख छैन ।
१० सिनेकर्मीलाई सम्मान
चलचित्र विकास बोर्डले १९ औं वार्षिकोत्सवको अवसरमा नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान दिएका १० सिनेमाकर्मीलाई ‘सिनेमाकर्मी विशेष योगदान सम्मान – २०७६’ बाट सम्मानित गर्ने भएको छ । बोर्ड सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु भएको बोर्डले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बोर्डले जारी गरेको विज्ञप्तीमा गत वर्ष भएका कार्यविवरण र आउँदो आर्थिक वर्षसम्म गरिने योजनाबारे पनि वार्षिकोत्सवको अवसरमा प्रकाश पारिने जनाइएको छ ।
कालजयी चलचित्रको डिजिटलाईजेशन
नेपाली चलचित्रको इतिहास बोकेका कालजयी चलचित्रलाई संरक्षण गर्न त्यस्ता चलचित्रलाई डिजिटलाईजेशन गरिने भएको छ । त्यस्ता चलचित्रका केहि दृश्यहरु बोर्डको वार्षिकोत्सवको अवसरमा प्रदर्शन गरिने बोर्डका अन्तराष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जिवी गुरागाईंले बताए । गत वर्षबाट सुरु गरिएको पुराना नेपाली चलचित्र तथा वृत्तचित्रहरुलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको र अहिलेसम्म १० वटा नेपाली कथानक चलचित्रको डिजिटलाईजेशन भइसकेको बोर्डले जनाएको छ । वोर्डका अनुसार आमा, परिवर्तन, हिजो आज भोली, मनको वाँध, बलिउँदो आकाश, के घर के डेरा, सिन्दुर, शान्तिदिप, जिवनरेखा, कुमारी लगायतका चलचित्रको डिजिटलाईजेशन गरिने भएको छ ।