एउटै चलचित्रबाट स्थापित हुने थोरै अभिनेताहरूको सूचीमा मुकुन भुसालको नाम पनि थपिएको छ । अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ बाट अभिनेताका रूपमा रजतपटमा पदार्पण गर्ने यी अभिनेता यतिबेला दुई चलचित्रमा अनुबन्धित छन् । भारतबाट अभिनय र चलचित्रमा स्नातक तथा स्नातकोत्तर उत्तिर्ण गरेपछि उनी नेपाली चलचित्रमा भित्रिएका हुन् । चलचित्र बुलबुलको पृथक शैलीको चरित्र तथा अभिनयमार्फत आफूलाई स्थापित गराउन सफल बुटवलका मुकुनले आफ्ना सेक्रेट कुरा आफ्नै शब्दमा यसरी व्यक्त गरेका छन् ।
बाल्यकालमा चकचके
बाल्यकालमा म असाध्यै चकचके थिएँ । धेरैले मलाई बदमास पनि भने । म अलि फरक काम गर्न मन लाग्ने स्वभावको थिएँ । कक्षा ४ मा पढ्दा भाडाको साइकल पसलबाट राम्रो साइकल ल्याएर आफ्नो पुरानो साइकलको सामान बदल्ने क्रममा दाह्रीवाला अंकल (साइकल पसले) बाट रामधुलाइ नै भेटें । त्यसबाहेक अन्य बदमासी त कति गरियो गरियो ।
पूजाको पैसा गायब
एक पटक मामा पर्नेको घरमा पूजा लगाइएको थियो । मलाई आमाले पूजामा चढाउन ५ रुपैयाँको नोट, एउटा नरिवल र केही अगरबत्ती दिनुभएको थियो । त्यो पाँच रुपैयाँ मैले आफ्नै पकेटमा राखें, मामाघर पुगुञ्जेलसम्ममा नरिवल आफैंले खाएर सिध्याएँ । अगरबत्ती पनि बाटैमा पर्ने मन्दिरमा सल्काइदिएँ । पूजामा पुग्दा मेरो हात खालि थियो । अब आफैं अनुमान लगाउनुस् म कत्ति बदमास रहेछु ।
बुवाको ५ रुपैयाँ
बुवाको पर्समा सधैं खुद्रा पैसा हुने । मलाई दिनको ५ रुपैयाँ भए पुग्ने । म सधैं उहाँको पर्सबाट ५ रुपैयाँ झिक्थें । मैले त्यसरी पैसा झिकेको उहाँले थाहा पाउनुभयो कि भएन, मैले अहिलेसम्म सोध्ने हिम्मत गरेको छैन ।
गुलेलीको निशाना
मलाई अहिले पनि गुलेलीबाट निशाना लगाउन कसैले भेट्दैनन् । विद्यालयमै अध्ययरत छँदा एक पटक कुनै एउटा पार्टीले नेपाल बन्द गराएको थियो । विद्यालय पनि बन्द भएकाले म आठ– दस जना केटाको ग्याङ लिड गर्दै हातमा गुलेली लिएर खेल्न निस्किएको थिएँ । सडकमा एउटा भ्यान देखियो । बन्दको दिन त्यो भ्यान किन चलाएको ? भनेर साथीहरूले मलाई उक्त भ्यानको सिसामा गुलेली हान्न उक्साए । साथीहरूको लहैलहैमा लागेर मैले सानो ढुंगा राखेर भ्यानको सिसा ताकें । शिशा फुट्यो । डरले भागेर घर त पुगियो, तर घरमा बुवालाई मेरो बदमासी थाहा भैसकेको रहेछ । कुटाइ खाएँ, झगडा पनि गरें । उक्त घटनापछि बुवासंग छ महिनाजति बोलचाल भएन ।
वर्कसप
मलाई सानैदेखि पाइलट बन्न मन थियो, तर एसएलसीमा सेकेन्ड डिभिजन आएपछि मेरो सपना चकनाचुर भयो । प्लस टुपछि बीबीएस ज्वाइन गरें, सँगसँगै एउटा मोटरसाइकल वर्कसप पनि चलाएँ । बाइक बनाउने, धुने आदि क्रममा आफूभन्दा सानाले पनि हेपेको महसुस भएपछि त्यो पेशा नै छाडिदिएँ । काठमाडौंमा अमेरिकन प्लस टु गर्यो भने पाइलट पढ्न पाइन्छ भन्ने सुनें र भर्ना पनि भएँ । त्यही बेला अर्घाखाँचीमा एउटा विमान दुर्घटना भएपछि पाइलट बन्ने सपनालाई त्यहीं पूर्ण विराम लगाइदिएँ ।
अभिनयको अध्ययन
अमिताभ बच्चनलाई पर्दामा देखेपछि मलाई किशोरावस्थादेखि नै अभिनयको भूत चढेको थियो । अभिनय गर्न औपचारिक शिक्षा नै लिनुपर्छ भन्ने लागेर स्नातक गर्न भारत गएँ । स्नातक गरेपछि स्नातकोत्तर पनि गर्ने जाँगर चल्यो । स्नातकोत्तरको अध्ययन सकेर घर (बुटवल) फर्किएको केही दिनमै मैले पहिलो चलचित्र (बुलबुल) बाट अभिनयको प्रस्ताव पाएँ । अभिनय र निर्देशनमै उच्च शिक्षा हासिल गरेका बिनोद पौडेलले आफ्नै निर्देशनमा अभिनयको प्रस्ताव राखेपछि मैले नाइँ भन्न सकिन ।
अध्यापन र पिएचडी
अभिनयमा स्नातक गरेकै कारण मैले ओस्कार फिल्म कलेजमा प्राध्यापकका रूपमा अभिनयका विद्यार्थीहरूलाई अध्यापन गराउने मौका पाएँ । अहिले चाहिं म कान्तिपुर फिल्म एकेडेमीमा प्रशिक्षकका रुपमा पनि कार्यरत छु । भविष्यमा मैले अभिनयमै पिएचडी गर्ने लक्ष्य समेत लिएको छु ।
छोटा चलचित्रको अभिनय
अधिकांशलाई मैले चलचित्र बुलबुलबाटै अभिनय यात्रा प्रारम्भ गरेजस्तो लाग्दो रहेछ । वास्तवमा मैले एक सय वटा भन्दा बढि छोटा चलचित्रमा अभिनय गरिसकेको छु । ती छोटा चलचित्रको अभिनयको अनुभवकै कारण मलाई बुलबुलमा काम गर्न सहज भएको थियो । मैले अभिनय गरेका कतिपय छोटा चलचित्र युट्युबमा समेत उपलब्ध छन् ।