खेतमा काम गर्दा शरीरलाई पर्याप्त ऊर्जा आवश्यक हुन्छ जसका लागि खानपिनमा पनि विशेष ध्यान पुर्याउनुपर्छ । रोपाइँका क्रममा दिनभरि घाममा बसी काम गर्नुपर्ने भएकाले शरीरबाट प्रशस्त पसिना निस्कन्छ । त्यसरी निस्किएको पसिनासँगै हाम्रो शरीरको पानी तथा खनिज पदार्थ पनि निस्कन्छ ।
त्यसको आपूर्तिका लागि खानासँगै प्रशस्त मात्रामा पानी पनि पिउनुपर्छ । खेतमा काम गर्ने मानिसहरूलाई पर्याप्त माक्रामा शत्ति चाहिन्छ । सामान्य समयको तुलनामा रोपाइँका बेला पर्याप्त मात्रामा खाना खानुपर्छ । यस्तो खानामा भात, रोटी, ढिडो, पुवा, हलुवा, खिर पुरी आदिको मात्रा बढी हुनुपर्छ । यस्ता परिकार गहुँ, मकै, जौं, फापर, कोदो, जुनेलो आदिबाट बन्ने हुँदा तिनमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ ।
त्यसबाहेक माछा, मासु, दही, मोही, दूध, अण्डा, गेडागुडी, तोफु, पनिर, भटमास, मस्यौराका साथै पर्याप्त मात्रामा झोल कुरा खानुपर्छ । यस्ता खानेकुराले शरीरलाई निर्जलीकरण (डिहाइड्रेसन) हुन दिँदैनन् । रोपाइँका बेला फलफूल पनि पर्याप्त मात्रामा खानुपर्छ ।
तरबुजा, केरा, भुईंकटहर, कागती, आँपजस्ता फलफूलबाट खनिज पदार्थका साथै भिटामिन पनि प्राप्त गर्न सकिन्छ । फलफूलका साथै मौसम अनुसारका तरकारीे लौका, फर्सी, घिरौला, चिचिन्डा, साग आदि पनि लाभदायक हुन्छन् ।
डाइटिसियन, ग्रान्डी इन्टरनेसनल हस्पिटल