थारु समुदायमा रोपाइँको खान्की

- साप्ताहिक संवाददाता

असार १५, २०७६

रोपाइँको समयमा दाङ उपत्यकाका थारु समुदायमा खान्कीको छुट्टै तयारी हुन्छ । धानको बीउ राखेको दिनदेखि नै विभिन्न परिकार बनाउने र रमाउने क्रम सुरु हुन्छ । यतिबेला माछा, गंगटा र घोंगीका विशेष परिकार तयार पारिन्छन् । खेतमा पूजा गरेर पोलेको माछा इन्द्र देवतालाई चढाएपछि रोपाइँ सुरु हुन्छ । उक्त पूजामा सबै किसानले रक्सी र खानेकुरा लानैपर्ने नियम भएको थारु महतवा महासंघका जिल्ला अध्यक्ष तथा घोराही, जलौराका किसान चन्द्रप्रसाद चौधरीले बताए ।

इन्द्रको पूजा गरिसकेपछि सबै किसानले रक्सी, माछा, गंगटा र घोंगी बाँडेर खाने चलन छ । चौधरी भन्छन्– ‘खानेकुरा खाँदै सजना गीत गाइन्छ । गीत गाएपछि इन्द्र देवताले पानी पार्छन् भन्ने विश्वास छ, यस्तो पूजालाई हरोट लेना भनिन्छ । यो रोपाइँको प्रारम्भ हो ।’ 

रोपाइँ गर्दा भटमास, चना वा मसुरो मिसाइएको माड सबैभन्दा महत्वपूर्ण परिकार मानिन्छ । खेत जोत्ने, खन्ने, आली लगाउने तथा रोपाहारहरूका लागि माड नै उपयुक्त खानेकुरा मानिन्छ । कामको धपेडीमा कमजोरी महसुस नहोस् भनेर माडमा प्रोटिनयुक्त गेडागुडी मिसाइन्छ । 

रोपाइँका लागि भनेर दुई वर्ष पुरानो जाँड राखिएको हुन्छ । ऊक्त जाँड ढित्री, माछा, घोंगी र गंगटासँग खाइन्छ । ‘पुरानो जाँड खाएपछि जतिसुकै श्रम गर्नुपरे पनि थकान महसुस हुँदैन । घोराही उपमहानगरपालिका, गुलरियाका कुलबिर चौधरी भन्छन्– ‘काममा बाधा नहोस् भनेर प्रोटिनयुक्त खाना र जाँड खाइन्छ, जसले दिनभर काम गर्न प्रेरित गर्छ ।’

रोपाइँमा विशेष खोजी हुने परिकार भनेका माछा, गंगटा र घोंगी नै हुन् । यसका साथै रोटी र अन्य खाजा पनि खाइन्छ । बिहानभरि खेत जोत्दाजोत्दै माछा र गंगटा खोज्न थालिन्छ । गंगटा खेत र खोलामा पाइने गरी दुई खालका हुन्छन् । खोलामा पाइने गंगटा कालो कडा खोलयुक्त हुन्छन्, जसलाई पठ्रा गेक्टा भनिन्छ । खेतमा पाइने गंगटा पहेलो रंगको हुन्छ जसलाई हस्वा गेक्टा भनिन्छ । यो अलि सानो र बढी स्वादिष्ट हुन्छ । बिहानको काम सकिएपछि रोपाहारहरू खाना खान घर फर्कन्छन् । खानाका लागि विहान भेटिएका गंगटा र माछाको चटनी तथा तरकारी तयार पारिन्छ अनि खेतमा लगिन्छ । त्यसपछि दिउँसोको नास्ताका रूपमा दुई वर्ष पुरानो जाँडका साथमा उक्त माछा र गंगटाको चटनी खाइन्छ । घोगीले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने बिश्वास गरिन्छ । त्यसकारण रोपाइँका बेला घोंगी पनि खुबै रुचाइने परिकार हो । 

रोपाइँ सकिएपछि हर्दवा खाने चलन छ । हर्दवामा नियमित खानेकुरासँगै थप खानेकुराका रुपमा सुंगुरको मासु पनि हुन्छ । हर्दवामा घर–घर पुगेर बिभिन्न परिकार खाने, नाचगान गर्ने र रमाउने चलन भएको थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । 

दुर्गालाल केसी

फैरिँदै रोपाइँमा भोजन शैली

मिथिलाञ्चलका ठूला तथा मझौला किसानहरू चैत महिनाको आगमनसँगै कृषि मजदुरका लागि जलखै (बिहानको खाजा) तथा कलौ (मध्यान्हको खाना)को तयारीमा जुट्थे । जलखैका लागी कोदो, खेसारी, जौ र गहुँको जोहो गरिन्थ्यो । कलौका लागि मोटो चामल र खेसारी,मसुरी अथवा कुर्थीको दालको व्यवस्था हुन्थ्यो । असारमा हरियो तरकारी अभाव हुने भएकाले आलु तथा गोभी आदि तरकारीलाई सुकाएर सुकौटी बनाइन्थ्यो । गृहणीहरू कुम्हरौरी (कुम्हरमा वेसन मिसाइ, सुकाएर बनाइएको परिकार), तिलौरी (तिलमा पिठार बनाइ सुकाएर बनाइएको परिकार), अरकोंच (सागमा बेसन लगाई सुकाएर बनाइएको परिकार) आदि तयार पार्थे तर यो डेढ–दुई दशकअघिको कुरा हो ।

अचेल फागुनदेखि सुरु हुने खेत जोताइ होस् वा असारदेखि सुरु हुने रोपाइँ, मंसिरको धान भित्र्याउने बेला होस् वा चैत–वैशाखको दलहन बाली चुट्ने र भित्र्याउने समय । न त खेतमा पहिले जस्तो हलगोरु देखिन्छन् न त कृषि मजदुरहरूको चहल–पहल नै हुन्छ । अचेल देखिने र सुनिने भनेको ट्याक्टरको धरधर र हर्न मात्र हो । ट्याक्टरमा चढेका चालक पछि–पछि हिँड्ने एक जना किसान र एक दुई जना मजदुरको भरमा बिघौंमा बाली लगाइन्छ । हो, रोप्ने र काट्ने बेला भने कृषि मजदुरको संख्या अलि बढी हुन्छ तर अधिकांश कृषिकार्य ठेक्कामा हुने हुँदा भूमिपतिले अचेल जलखै तथा कलौको बन्दोवस्त गरेको पाइँदैन ।

डेढ दशक अघिसम्म बिहानको खाजामा कोदो, जौ, खेसारीको रोटीसँग नुन खुर्सानी खाने र ख्वाउने चलन थियो । कसैकसैले चामल, मकै तथा चनाको भुजा पनि खाजाका रुपमा दिन्थे । दिउँसोको खानामा भने खेसारीको दाल, मोटो चामलको भात तथा आलू र सुकौरीको तरकारी दिइन्थ्यो । यद्यपि अचेल रोपाहार किसानहरूको खानपीन फेरिएको छ । शिवजी दासका अनुसार– अचेल खेतमा काम गर्न आउने कृषि मजदुरलाई विहानै चिया दिनुपर्छ । खाजामा रोटी, तरकारी, चटनी, मध्यान्हको खानामा मसिनो चामलको भात, दाल, तरकारी तथा चटनीका साथै राति रक्सीको समेत जोहो गर्नुपर्छ ।

श्यामसुन्दर शशि

सीमान्तकृतको रोपाइँ खाजा

राेपाइँका बेला झापाका राजवंशीहरूको मुख्य खाजा पन्ता भात हो । पन्ता भात अर्थात् पानी हालेको बासी भात । बासी भातमा पानी हालेर ढड्याएपछि नुन–तेल अनि प्याज पनि हालिन्छ । यो भातसँग आलुको चोखा (अचार) र सिद्रा पनि खाइन्छ । संचारकर्मी इन्द्रसिंह राजवंशीका अनुसार उसिना चामल भुटेर बनाइएको भुन्जा, भाजा चाउ, भुजा माछा पनि रोपाइँमा खाइने विशेष खाजा हो ।

पन्ता भातले शरीरलाई शीतलता प्रदान गर्छ भन्ने विश्वास भएकाले रोपाइँका बेला रोपाहारहरूले प्रायः पन्ता भात नै रुचाउँछन् । राजवंशीहरू पन्ताभातको स्वादमा लाहाङकारी गीत (राजवंशी लोकभाका) गाउदै धान रोप्छन् । 

मुण्डा समुदायका अगुवा वन्धनकुमार मुण्डाका अनुसार मुण्डा समुदायले रोपाइँका बेला चामलबाट बनाइएको जाँड, रक्सी तथा माछा–मासु खान्छन् । रोपाइँअघि प्रकृतिको पूजा गरिन्छ, जसलाई वनगडी भनिन्छ । चामल, धान र कालो दाल खेतको आलीमा लिपेपछि जमीनको मुल मान्छेले रोपाइँको थालनी गर्छ । ‘विगतमा रोपाइँलाई उत्सवकै रूपमा लिँदै रमाइलो गर्ने चलन थियो’, मुण्डा भन्छन् ,‘तर अहिले सवै संस्कार, संस्कृति बिर्संदै, लोप हुँदै गएको छ ।’

किसान समुदायका अगुवा भीम किसानका अनुसार रोपाइँका वेला किसानहरू उसिना चामलको भुन्जा खान्थे । भिजाएको चामलमा नुन हालेर हाँडीमा भुटेपछि भुन्जा तयार हुन्छ । यो निक्कै स्वादिलो खाजा हो । यसलाई रातो चियामा मिसाएर खाने चलन पनि छ । 

‘खेत जोत्नेहरूलाई भुन्जा नै दिइन्थ्यो’, भीम किसानका अनुसार– यस्तो खान्गीले तागत बढ्ने विश्वास थियो ।’ त्यसका अतिरिक्त उसिना चालम कुहाएर बनाइएको जाँड पनि खाने चलन छ । पहिलेदेखि नै खेती–किसानी गर्दै आएकाले यो समुदायको जात नै किसान रहन गएको हो । 

सन्थाल समुदायका नेता तथा पूर्व सांसद मोहन टुडुका अनुसार सन्थाल समुदायमा पनि भुन्जा खाने चलन छ । त्यसका अतिरिक्त रोपाइँका बेला माछा र गंगटा पनि खाइन्छ । टुडु भन्छन्– ‘माछा र गंगटा त हाम्रो सधैंको खान्की नै हो, रोपाइँमा पनि यो परिकार विशेष महत्त्वका साथ खाइन्छ ।’ 

उता धिमाल समुदायले भने रोपाइँका बेला माछा र गंगटासहित घुङ्गीको स्वाद पनि लिन्छ । धिमाल समुदायका अगुवा दिलीप धिमाल भन्छन्– ‘घुङ्गीले काम गर्ने मजदुरहरूलाई जागरिलो बनाउँछ भन्ने मान्यता छ ।’ झापाका थारुहरूले भने रोपाइँका बेला दही–चिउरा, केरा आदि खाजा खान्छन् । स्थानीय बासिन्दा कृष्णा चौधरीका अनुसार रोपाइँका बेला थारु समुदायमा माछा, मासु तथा जाँड–रक्सी पनि खाने चलन छ ।

पर्वत पोर्तेल

रोपाइँको खाना

पश्चिम नेपालमा रोपाइँ सुरु भएको छ । रोपाइँको तरिका र चलनमा खासै परिवर्तन नआए पनि रोपाइँका क्रममा खाइने खाजाको चलन भने हराउँदै गएको छ । विगतमा पर्म गरेर पालैपालो रोपाइँ गरिन्थ्यो, तर अहिले पर्मको चलन पनि हराएको छ । पर्मको चलन हराएसँगै रोपाइँका दिनको खानपान र खाजा खाने तौरतरिका पनि फेरिँदै गएको हो । थारु समुदायमा विगतमा खाजाका रूपमा केराउ तथा चना खाने चलन थियो । दिउँसो जाँड र दाल–भात खाने चलन थियो । ‘अहिले रोपाइँमा पहिलेको जस्तो रौनक छैन, खेत घटिसकेको छ, आधा दिन–एक दिनमै रोपाइँ सकिन्छ,’ थारु समुदायका अगुवा वीरबहादुर डगौंराले भने । डगौराका अनुसार पर्मको चलन पनि कहींकतै मात्र देखिन्छ । 

रोपाइँका दिन बिहान लौन (एक किसिमको पुरी) र तरकारी पकाइन्थ्यो । रोपाइँमा आउने महिला–पुरुष सबैलाई लौन र तरकारी खान दिइन्थ्यो । रोपाहारहरूलाई मिस्री र पानी दिने चलन पनि छ भने दिउँसोको खानाका रूपमा भात–दाल खाने चलन छ । 

भवानी भट्ट 

प्रकाशित :असार १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्