साप्ताहिक संवाददाता
नेपाल अमेरिका फिल्म सोसाइटीले वासिङ्टन डीसी महानगर क्षेत्र अन्तर्गत म्यारिल्याण्ड राज्यमा जुन २८ देखि ३० सम्म आयोजना गरेको तेश्रो नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव सकिएको छ ।
बिनोद पौडेलद्वारा निर्देशित ‘बुलबुल’ चलचित्रको प्रदर्शनबाट सुरु भएको महोत्सव प्रविन स्याङ्बोद्वारा निर्देशित चलचित्र ‘कथा ७२’ बाट समापन भएको थियो ।
चलचित्र महोत्सवमा नेपाल लगायत विभिन्न देशका ३४ वटा चलचित्र प्रदर्शन भएका थिए । उद्घाटन र समापन एएफआइ शिल्भरमा सम्पन्न भएको थियो । नियमित प्रदर्शन रेगल सिनेमासँगको सहकार्यमा ह्याट्सभिल म्यारिल्याण्डमा भएको थियो । चलचित्र प्रदर्शनका साथै म्यारिल्याण्ड पार्क्स तथा प्लानिङ्ग कमिसनसँगको सहकार्यमा प्रत्येक दिन सिनेमाबारे छलफल तथा चिया गफ समेत भएको थियो ।
चलचित्र महोत्सव अवधिमा प्रदर्शन भएका विभिन्न विधाका चलचित्रहरुलाई भर्खरै फ्रान्समा आयोजना भएको फिल्म फेस्टिवलमा अर्को फिल्म बनाउन ६० हजार पुरस्कार जितेका मिन बहादुर भामको अध्यक्षतामा रहेको ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामानतÞे र एमी अवार्ड विजेता तथा लेखक र निर्मात्री मिमि मचाडो लुसेस सहितको ३ सदस्यीय निर्णायक मण्डलले ११ वटा विधामा पुरस्कारको घोषणा गरेका थिए ।
प्रतिष्पर्धामा रहेका चलचित्रहरु मध्येबाट कथानक तर्फ बंगलादेशका तउक्वीर अहमदले निर्देशन गरेको ‘फागुन हवे’ ले बेस्ट चलचित्र फिचर अवार्ड, युकी काङले निर्देशन गरेको चलचित्र ‘अ लिटल विस्डम’ बेस्ट डकुमेन्ट्री र इरानका मोहम्मद बक्सीले निर्देशन गरेको ‘आर यु भलिबल’ ले बेस्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भए ।
उद्घाटन समारोहमा प्रदर्शन गरिएको चलचित्र ‘बुलबुल’ र समापन समारोहमा देखिएको चलचित्र ‘कथा ७२’ भने प्रतिष्पर्धामा थिएनन् । महोत्सवमा ग्लोबल पीस फिल्म फेस्टिवल फ्लोरिडाको साइडबारका रुपमा २ वटा चलचित्रहरु प्रदर्शनमा थिए ।
अमेरिकाको लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले डम्फु बजाएर उद्घाटन भएको महोत्सवमा मेरील्यान्ड फिल्म अफिसका निर्देशक ज्याक गेर्वेस, महावाणिज्यदुत प्रेमराजा महत, म्यारिल्याण्ड राज्यको मन्टगमरी काउन्टिका काउन्सिल सदस्य टम हकर लगायत नेपाली सामुदायिक नेतृत्वहरु उपस्थित थिए । चलचित्र महोत्सवको समापन मन्तव्यका लागि भने म्यारिल्याण्ड राज्यका डेलिगेट एचबी ह्यारी भण्डारी उपस्थित थिए ।
नेपालका वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बा महोत्सवको सम्मानार्थ अध्यक्ष रहेका थिए । नेपाली समुदायले नेतृत्व गरेको नर्थ अमेरिका कै ठुलो चलचित्र महोत्सवको रुपमा चिनिएको महोत्सवमा ‘फागुन हावे’ पोर ग्रेग ड्रौनिङ, अवशेष, अ लिटल विस्डम, टहरा, आर यु भलिबल, सुपर मोंक, तातिनी, डाक्टर सि, फाइव अक्लक श्याडो, व्यालेट एफ्टर डार्क लगायतका चलचित्र, सर्ट मुभी तथा डकुमेन्ट्रिले पुरस्कार प्राप्त गरे ।