
साउनको झरी बनी तिमी आऊ न
मेरो मनको अँधेरीमा जून छाऊ न
दीपक जंगमको शब्द तथा नारायण गोपालको स्वर एवं संगीतको यो गीतले साउन महिनामा जो–कसैलाई आफ्नो प्रेमको सम्झना दिलाउँछ । किसानहरूका लागि साउने झरी माना छरेर मुरी फलाउने उत्सव हो भने केहीका लागि यो झरी मनोरञ्जनको माध्यम समेत हुन्छ ।
कलाकार शिवहरि पौडेललाई झरी असाध्यै मन पर्छ । बाल्यकालमा पुर्ख्यौली घर हेटौंडामा रहँदा उनी झरीको खुलेर मज्जा लिन्थे । ‘गाउँमा हुँदा झरीमा खेतमा धान रोप्थ्यौं । झरी पर्यो कि बलेसीमा बगेको पानीमा दौडन्थ्यौं । सानैदेखि झरी मनपर्ने भएकाले खाली चौरमा पानी जमेको ठाउँमा खेल्थ्यौं’, शिवहरि भन्छन्, ‘सानातिना खोला बगेर आएको ठाउँमा खेल्दा निकै रमाइलो लाग्थ्यो । अहिले पनि पानी परेका बेला भिजौं–भिजौं लाग्छ । भगवान्को कृपा भन्नैपर्छ, झरीमा भिजेकै कारण ज्वरो नआएको ३६ वर्ष भैसक्यो ।’
एक समय टेलिशृंखला जिरे खुर्सानीमा व्यस्त शिवहरि टेलिशृंखला र चलचित्रको सुटिङको समयमा भने झरीले गरेको अवरोध सम्झन्छन् । ‘झरी मन परे पनि झरीले काममा चाहिँ धेरैपटक अवरोध गरेको छ । सुटिङमा कति धेरै अवरोध गरेको छ भनिसाध्य छैन । झरीकै कारण एकदिनमा सकिनुपर्ने सुटिङ तीन दिन लागेको छ’, शिवहरि सम्झन्छन्, ‘यसपटकको झरीमा चाहिँ मोटरसाइकलबाट चिप्लिएर लडेको छु । घुँडामा अलिकति घाउ पनि भएको थियो, तर अहिले ठीक छु ।’
अभिनेत्री वेनिशा हमाल हिजोआज चलचित्रमा कमै देखिन्छिन् । उनको व्यस्तता चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा बढी छ । वर्षातमा पनि सुटिङमा व्यस्त हुने वेनिशालाई झरीले प्रशस्तै दुःख दिएको छ । ‘झरीका कारण काममा अवरोध हुने गरेको छ । यो मौसममा कुन समयमा पानी पर्छ अनुमान गर्न सकिँदैन । हालै मात्र एउटा भिडियोको सुटिङ झरीकै कारण रोकियो । १५ मिनेटको आउटडोर सुटिङमा झरीले अवरोध गरेपछि पानी रोकिन्छ कि भनेर कुर्दाकुर्दै रातको १० बज्यो । केही सीप नलागेपछि सुटिङ रोक्यौं’, वेनिशाले भनिन्, ‘म झरीमा रुझ्न रुचाउँदिनँ, ज्वरो नै आउँछ । मनोवैज्ञानिक असरले गर्दा होला झरीको पानी राम्रो हुँदैन भन्ने मेरो सोच छ । किनभने झरीमा म सधैं बिरामी हुन्छु । बरु मलाई सावरमै रुझ्न मन लाग्छ ।’
साउने झरी पर्नासाथ गायिका कुन्ती मोक्तानलाई दार्जीलिङ पढ््दाताकाको एउटा घटनाले झस्काउँछ । बाल्यकालमा उनी र उनका साथीहरू पानीमा भिज्दै विद्यालय जाँदा शिक्षकले उनीहरूमाथि गरेको दयाभाव कुन्तीलाई अझै पनि सम्झना छ । ‘दार्जीलिङमा पढ्दा घरबाट विद्यालय पुग्न तीनघण्टा समय लाग्थ्यो । त्यो समयमा गाडी हिँड्ने बाटो थिएन । त्यहाँ अति चिसो हुनाले बिहानैदेखि पानी पर्थ्यो । म र साथीहरू चियाबारीको बाटो हुँदै स्कुल पुग्थ्यौं । एक दिन स्कुल पुग्दा हामी पानीले निथ्रुक्कै भिजेका थियौं । स्कुलमा सरले पानीमा भिजेका विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर निकालेर ‘तिमीहरू भिजेका छौ । धेरै भिज्दा बिरामी भइन्छ । अब घर फर्क’ भनेपछि हामी खुसी हुँदै घर फर्कियौं’, कुन्तीले भनिन्, ‘भिजेर स्कुल पुग्यो भनेर सरले घर जान दिने रहेछन् भन्ने लागेर त्यसको दुई दिनपछि त्यसरी नै भिज्दै स्कुल पुगेको त सरले दिनभरी कक्षा कोठामै राख्नुभयो । त्यतिबेला अलिक नरमाइलो पनि लाग्यो ।’
अहिले कुन्ती झरी ‘इन्जोय’ गर्दिनन्, बरु सडकमा मोटरसाइकल तथा गाडीले पानी फ्याकेर लुगा बिगारिदिँदा उल्टै रिसाउँछिन् । ‘अहिले पानी पर्दा इन्जोय गर्दिनँ, बुढेसकालले पनि छोयो । त्यसकारण स्वास्थ्यप्रति सचेत छु । सकभर पानीमा नभिजौं जस्तो लाग्छ’, कुन्तीले भनिन् ।
लोकदोहोरी गायिका राधिका हमालको अनुभव अलिक फरक छ । हमाल पानीमा भिज्न रुचाउँदिनन् । ‘म वर्षात्मा छाता बोकेर बाहिर निस्कन्छु । त्यसकारण पानीमा भिज्नुपर्ने अवस्था छैन । अन्य साथीहरू पानीमा भिजेर बिरामी भएको सुनेकी छु,’ राधिका भन्छिन्, ‘भिडियो सुटिङ गर्दा पनि पानी नपर्ने मौसममा गर्छु । खासगरी दोहोरीको भिडियोको सुटिङ पार्टी प्यालेस तथा मन्दिरतिर गरिने भएकाले पनि पानी नपर्ने महिना पारेर सुटिङ गर्छु ।’