
रमेश नेपालीले ४ महिनाअघि युनियन लाइफ इन्स्युरेन्समार्फत श्रीमतीको १ करोडको बिमा गरेको समेत अनुसन्धानमा खुलेको छ । बिमाबापतको ठूलो रकम हात पर्ने अनि साली र आफूबीच तगारो बनेकी श्रीमती समेत पन्छिने भएकाले उक्त हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । लक्ष्मी र रमेशका ८ वर्षीया छोरी तथा ४ वर्षीय छोरा छन् ।
पोखरा महानगरपालिका कान्तिपुर चोक निवासी २७ वर्षीया लक्ष्मी परियार नेपालीको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ । हत्याका मुख्य योजनाकार पोखरा कान्तिपुर चोक निवासी लक्ष्मीका श्रीमान् रमेश नेपाली रहेको प्रहरीले जनाएको छ । रमेशसहित उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा भोजपुर जिल्ला भोजपुर नगरपालिका बैंकरोड घर भै हाल पोखरा महेन्द्रपुल बस्ने ३२ वर्षका संजय शर्मा, सर्लाही, ईश्वरपुर नगरपालिका वडा नम्बर–३ तीनघरिया घर भै हाल पोखरा, पृथ्वीचोक बस्ने २६ वर्षीय चित्तरञ्जन कुमार साह, गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नम्बर–७ घ्यालचोककी १९ वर्षीया अनु परियार छन् ।
शर्माले पोखराको महेन्द्रपुलमा मोबाइल पसल सञ्चालन गर्दै आएका थिए भने साह तथा पोखराको पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गर्थे । ऊक्त हत्याकाण्डमा शर्माले गाडी, स्कुटर र हत्या गर्ने व्यत्तिको व्यवस्थापनमा मुख्य भूमिका निर्वाह गरेको प्रहरीको दाबी छ । हत्याको अभियोगमा पक्राउ परेकी अनु परियार भने आरोपी रमेश नेपालीकी साली तथा हत्या गरिएकी लक्ष्मी परियारकी बहिनी भएको बताइन्छ । उनकै उक्साहटमा घटना घटेको प्रहरीले बताएको छ । अनु मृतक लक्ष्मीकी मामाकी छोरी हुन् ।
प्रहरी अनुसन्धान अनुसार रमेश एक वर्ष अघिदेखि साली अनु परियारसँग नजिकिएका थिए । कालान्तरमा यो कुरा लक्ष्मीले थाहा पाइन् र उनले यो कुरा उठाउँदै अनुलाई झपारिन् । आफ्नो बदनामी भएपछि अनुले दिदीलाई ‘साइड लगाउन’ भिनाजु रमेशलाई अह्राइन् । अनुको आग्रह स्वीकार गर्दै रमेश नेपालीले आफ्ना साथी तथा भारतीय नागरिकहरू समेत प्रयोग गरी श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको कास्कीका प्रहरी प्रमुख एस.पी. दानबहादुर कार्कीले बताए । पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कन्ट्रयाक्ट किलरको प्रयोग
लक्ष्मी परियारको हत्यामा तीन जना भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग भएको बताइन्छ । उनीहरू हाल फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ । पक्राउ परेका चित्तरञ्जन कुमार साहले उनीहरूलाई आफ्नो भारतस्थित आफ्नो मावली सहरबाट झिकाएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
कहाँ र कसरी भेटियो मृतकको कंकाल
असार १ गते देखि हराएकी लक्ष्मी नेपालीको कंकाल २५ औं दिनमा पोखरा महानगरपालिका बडा नम्बर–२२ कर्कलको जंगलमा भेटिएको थियो । मृतककै श्रीमान्को प्रत्यक्ष संलग्नतामा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेपछि उक्त कंकाल फेला पारिएको थियो । त्यसो त रमेशको व्यवहार प्रति प्रहरीलाई पहिल्यै शंका थियो । सोही आधारमा पटक–पटक रमेशसँग सोधपुछ समेत गरिएको थियो, तर पुष्टि हुन सकेको थिएन । लक्ष्मी नेपालीकी आमा पिठुमाया परियारले असार ११ गते खोजतलास तथा कारबाही गरिपाऊँ भनी निवेदन दिएपछि त्यसैका आधारमा केही सुराक प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि प्रहरीको अनुसन्धान रमेशमाथि सोझिएको थियो । असार २४ गते राती रमेशले प्रहरीसामु घटनामा आफ्नो संलग्नता स्वीकार गरेका थिए अनि उनकै जानकारीका आधारमा मृतक परियारको शरीरको कंकाल बरामद गरिएको थियो ।
कसरी भयो लक्ष्मीको हत्या
रमेश नेपालीले मोबाइल पसल सञ्चालन गर्दै आएका सञ्जय शर्मालाई एक जना महिलाको हत्या गर्नुपर्ने बताउँदै त्यसबापत राम्रो रकम आउने प्रलोभन दिएका थिए । रमेशको प्रलोभनमा परेका सञ्जयले तत्पश्चात् हत्याको योजना बनाएका थिए । योजनाअनुसार संजयले पृथ्विचोकमै मोबाइल पसल सञ्चालन गर्ने चित्तरञ्जनकुमार साह मार्फत १० लाख रुपैयाँ दिने शर्तमा भारतबाट भाडाका हत्यारा झिकाएका थिए । यसरी झिकाइएका तीन जना भारतीय जेठ ३० गते लक्ष्मीको हत्या गर्ने योजना सहित पोखरा आइपुगेका थिए । पोखरामा उनीहरू सञ्जय शर्मा र चित्तरञ्जनकुमार साहको व्यवस्थापनमा पृथ्वीचोकको एउटा होटलमा बसेका थिए ।
भोलीपल्ट जेठ ३१ गते हत्या तयारीका लागि रमेश नेपालीले सञ्जयलाई १ लाख रुपैयाँ दिएका थिए । सोही दिन उनीहरू हत्या गर्ने स्थान चयनका लागि पोखरा २२ को कर्कले जंगल पुगेका थिए । असार १ गते विहान रमेश र सञ्जयले पोखरा हल्लनचोकबाट ग ११ प ८००३ नम्रको स्कुटर भाडामा लिएका थिए । स्कुटर भाडामा लिएपछि उनीहरूले पोखरा नयाँबजारस्थित एक कार डेकोरबाट ग १ च २३६३ नम्बरको कार भाडामा लिए । त्यसपछि उक्त कारमा तीन जना भारतीय र चित्तरञ्जन कर्कले जंगलतर्फ लागे । रमेश भने भाडाको स्कुटरमा आफ्नो पसलतर्फ गएका थिए ।
हत्या हुँदाको समयमा लक्ष्मीले आफ्नो खुट्टामा समस्या भएको बताउँदै आएकी थिइन । त्यसैले रमेशले खुट्टाको एलर्जी निको पार्ने जडीबुटी लिन जंगलतर्फ जाऊ भन्दै लक्ष्मीलाई फकाइ जंगलमा पुर्याएका थिए । जडीबुटी खोज्ने क्रममा रहेकी लक्ष्मीलाई योजना मुताविक त्यही लुकेर बसेका हत्याराहरूले समातेर चक्कुले उनको घाँटी रेटेका थिए । हत्यापश्चात् मृतकको लास जंगलमै छाडेर उनीहरू पोखरा फर्किएका थिए । उक्त घटनापछि रमेश शर्माले सञ्जय शर्मालाई कबुल अनुसार ५ लाख रुपैया दिएका थिए भने बाँकी ४ लाख रुपैया पछि दिने बताएका थिए । बाँकी पैसा चित्तरञ्जनमार्फत प्राप्त हुने आश्वासन पाएपछि हत्याराहरू सोही दिन भारत फर्किए ।
त्यसपछि रमेश भने श्रीमती हराएको नाटक गर्न थाले । हत्या भएको केही समयपछि नै रमेशले विभिन्न व्यक्तिलाई फोन गरी श्रीमती हराएको जानकारी दिएका थिए । रमेशले जिल्ला प्रहरी कार्यालय मार्फत मात्र नभएर विभिन्न मिडियामार्फत समेत श्रीमतीको खोजतलासमा सहयोग गरिदिन आग्रह गर्दै आएका थिए ।
बिमाको रकम हात पार्ने दाउ
रमेश नेपालीले ४ महिनाअघि युनियन लाइफ इन्स्युरेन्समार्फत श्रीमतीको १ करोडको बिमा गरेको समेत अनुसन्धानमा खुलेको छ । बिमाबापतको ठूलो रकम हात पर्ने अनि साली र आफूबीच तगारो बनेकी श्रीमती समेत पन्छिने भएकाले उक्त हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । लक्ष्मी र रमेशका ८ वर्षीया छोरी तथा ४ वर्षीय छोरा छन् ।