साप्ताहिक संवाददाता
राष्ट्रिय खुला एकल लोकनृत्य प्रतियोगिता–२०७६ अन्तर्गत महिलातर्फ गण्डकी प्रदेशका बन्दना घर्तीमगर तथा पुरुषतर्फ कर्णाली प्रदेशका शेखर घर्ती मगरले उपाधि जितेका छन् । कल्याण शेरचन स्मृति प्रतिष्ठान तथा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) द्वारा पोखरामा आयोजित प्रतियोगितामा प्रदेश नम्बर ५ की अंशु कुँवर तथा प्रदेश नम्बर १ का प्रितम सम्बाहाम्फे फस्ट रनर्सअप घोषित भए भने प्रदेश नम्बर ३ की रबिता मगर तथा प्रदेश नम्बर ५ का दिलबहादुर सुनार सेकेन्ड रर्नसअप भए ।
लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा नृत्य निर्देशक सनबहादुर गुरुङ तथा अनन्तराज तिमिल्सेना उत्कृष्ट नृत्य निर्देशक घोषित गरिए ।
सातै प्रदेशमा भएको अडिसनमा भाग लिएका ३ सयभन्दा बढीबाट उत्कृष्ट ८ पुरुष तथा ८ महिला छनौट गरी अन्तिम प्रतिस्पर्धा गराइएको प्रतियोगितामा गण्डकी प्रदेशबाट दुई–दुई जना तथा अन्य प्रदेशबाट एक–एक जना छानिएका थिए ।