युवा कवि तथा गीतलाई चलदृश्यमा उतार्ने भिडियो निर्देशक हेम प्रभास आफैँमा पनि एक गम्भीर सङ्गीतप्रेमी हुन् । उनलाई सबैभन्दा बढी मन पर्ने १० गीत र मन पर्ने कारण :
१. आँखैमा रात गली शीतमा तारा डुबे
रचना : रत्नशमसेर थापा
सङ्गीत : नातिकाजी
स्वर : योगेश वैद्य
यो नेपाली सुगम सङ्गीतलाई युग–युगसम्म बचाइराख्ने सामर्थ्य भएको गीत हो । यो गीतमा प्रकृतिलाई मानवीकरण गरिएको छ । झट्ट सुन्दा कविताजस्तो लाग्ने यो गीत जति सुन्दै गयो उति नयाँ विम्ब निर्माण हुँदै जान्छ ।
२. हजार सपनाहरूको माया लागेर आउँछ
रचना : ईश्वर बल्लभ
सङ्गीत : भक्तराज आचार्य
स्वर : भक्तराज आचार्य
यो सङ्घर्ष र त्यसपछिका अप्राप्तिका क्षणहरूमा पनि मानिसमा ऊर्जा र आशाको सौन्दर्य जगाउने गीत हो । यो गीत पौरख र पसिनामा विश्वास गर्ने हरेक मानिसको सहयात्री बन्न सफल छ ।
३. कुन मन्दिरमा जान्छौं यात्री
रचना : लक्ष्मीप्रसाद देवकोटा
सङ्गीत : रन्जीत गजमेर
स्वर : रविन शर्मा
यो गीत सामाजिक रुपान्तरणका लागि एउटा क्रान्तिकारी गीत हो । यो गीत आपसी साथ, सहयोग र सहकार्यको भावनाबाट मात्र परिवर्तन सम्भव हुने भएकाले वर्गीय रूपमा निम्न मानिने असहायहरूलाई पनि राज्यको मूलधारमा केन्द्रीकृत गर्नुपर्ने भावले ओतप्रोत छ ।
४. अल्झेछ क्यारे पछ्यौरी
रचना : भूपी शेरचन
सङ्गीत : गोपाल योञ्जन
स्वर : नारायण गोपाल
तत्कालीन नेपाली समाजको कथालाई गीतिचेतनाको लेप लगाइएको यो गीतले घर–माइतीबीचको दूरी र त्यसले एउटी नारीको संवेदनामा पार्ने प्रभावलाई जीवन्त बनाएको छ । कथालाई प्रकृति, संस्कृति र समाजसँगको त्रिकोणात्मक मूल्य प्रदान गरिएको यत्तिको गीत सम्भवतः लेखिएको पनि छैन ।
५. भुल हो तेरो
रचना : गोपाल योञ्जन
सङ्गीत : गोपाल योञ्जन
स्वर : किरण प्रधान
जीवनमा धोका, अपमान र नैराश्यको कालो बादल छाएर मृत्युतर्फ उद्यत हुने जो कोही पनि यो गीत सुनेपछि जीवनको सुदूर क्षितिजबाट फेरि जीवनतर्फ नै फर्कन्छ । यो अत्यन्त आशावादी र जीवनवादी गीत हो ।
६. पर लैजाऊ फूलहरू
रचना : राजेन्द्र थापा
सङ्गीत : नातिकाजी
स्वर : प्रेमध्वज प्रधान
यो गीत प्रेमलाई फरक शिराबाट प्रस्तुत गरिएको सम्भवतः पहिलो गीत हो । प्रेमिल सन्दर्भले आपसमा एकाकार हुन नसक्दा रोनाधोना गर्ने जुन प्रवृत्ति समाजमा हावी भैरहेको थियो र यद्यपि छ, त्यसको विरुद्धमा यो गीत अत्यन्त शक्तिशाली ढङ्गले उभिएको छ ।
७. म सपनाको कुरा गर्छु
रचना : श्रीपुरुष ढकाल
सङ्गीत : आलोकश्री
स्वर : उदीतनारायण झा
यो प्रेममा हदैसम्मको समर्पण भएको नमुना गीत हो । यो स्तरको अन्य प्रेम गीत खासै सुन्न पाइएको छैन ।
८. मेरो पाउमा आज कोही पाउजु बाँध
रचना : गोपाल योञ्जन
सङ्गीत : गोपाल योञ्जन
स्वर : गोपाल योञ्जन, मीरा राणा
शास्त्रीय धारमा प्रस्तुत भएको यो गीतलाई राम्रोसँग ग्रहण गर्न शब्दको लक्षणा र व्यञ्जना तहसम्म पुग्नुपर्ने हुन्छ । सुन्दरताको वर्णन गर्ने सिलसिलामा यो गीतमा उपमा तथा अलङ्कारहरूलाई उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ ।
९. नमाग मसँग सहारा नमाग
रचना : रमेश क्षितिज
सङ्गीत : भरत लामा
स्वर : राजेश पायल राई
सामाजिक, आर्थिक, भौगालिक एवं वैचारिक रुपले कसरी वर्ग निर्धारण गर्छ र त्यसको प्रभाव कति असह्य हुन्छ भन्ने सन्दर्भलाई सरल शब्दमा लेखिएको यो गीत पनि एउटा नमुना गीत हो ।
१०. पश्चिम रुन्छ महाकाली पूर्व रुन्छ मेची
रचना : माधव घिमिरे
सङ्गीत : सन्तोष श्रेष्ठ
स्वर : शिव परियार
आजको बदलिँदो परिवेशमा मानवता ह्रास हुँदै गएको र भौतिक प्रवृत्ति हावी भैरहेकाले हाम्रो अस्तित्वमाथि नै प्रश्नचिह्न खडा भएको सन्दर्भ उठान गरिएको यो गीत राष्ट्र र राष्ट्रियतालाई शिरमा सजाउने सबै देशभक्त नागरिकले सुन्नुपर्ने गीत हो ।