एक घण्टा पालैपालो टेबल टेनिस र डार्ट खेलियो । टेन्टभित्र साह्रै गर्मी हुँदो रहेछ, सुत्न सकिएन । बाहिर आएर पुल साइडको म्याट्ट्रेसमा उत्तानो परेर सुतियो ।
एउटा खोलो छ । घुमौटोमा उक्त खोलोले बालुवा थुपारिदिएको छ । भूपरिवेष्टित देशका हामी नागरिकलाई त्यति भए पुगिगो । अझ त्यहीँ दुईवटा खाँबो गाडेर जाली टाँगिएको छ । बिच भलिबल भइगो । अर्को छेउमा लिङ्गे पिङ छ । जत्तिखेर नि दसैंमा झैं मच्चिन पाइने ।
‘जाउन त कतै घुम्न’–जीवा दाइले कुरा निकाले । साथीहरू रौसिए । इन्टर्नहरू हौसिए । कतिपयचाहिँ जाने र नजाने दोधारमा थिए । त्यही बिच गज्जबको झटारो दियो कसैले– हैट, यस्तो साउने झरिमा न त क्याम्पफायर गर्न मिल्छ, कोसी उर्लिएको बेलामा न र्याफ्टिङ गर्न मिल्छ । अन्ततः मिसन सुकुटे बिचमा १२ जना ‘इन’ भइयो, किनभने हामीलाई गन्तव्यभन्दा याराना र यात्रा महत्वपूर्ण थियो । शनिबार बिदा हुने भएकाले शुक्रबार गएर शनिबार आउने योजनामा सबैको सहमति भयो । मैले र सन्दीपले ठमेल गएर अग्रिम बुकिङ गर्यौं । तीन बजे हामी गौशालाबाट गाडी चढ्यौँ । एयरपोर्टबाटै अन्ताक्षरी सुरु भइगो– रातो टीका निधारमा । त्यो गाडीमा अर्को एउटा फेमिली ग्रुप पनि थियो । कालो क्याप लगाएका एकजना अधबैंसे दाइ साह्रै नै रसिक थिए । अन्ताक्षरीमा मेसो पर्नासाथ ती दाइ लेब्रो तान्दै पुरानो जमानाका गीत गाउन थालिहाल्थे । साढे दुई घण्टामा सुकुटे पुगेको पत्तै भएन । सुकुटे क्षेत्र होटल तथा रिसोर्टहरूले भरिपूर्ण भैसकेको छ । काठमाडौंबाट केही घण्टामै पुग्न सकिने भएकाले सुकुटे धेरै मानिसको रोजाइमा पर्न थालेको हो ।
त्यहाँ पुग्नासाथ हामी अफिसतिर सोझियौँ । प्रतिव्यक्ति २ हजार २ सय रुपैयाँ तिर्नुपर्ने रहेछ । एउटा सहयोगीले हामीलाई हाम्रो टेन्ट देखाउनुभयो । १२ जनाको समूह एउटा कटेज र दुईवटा टेन्टमा बसिने भइयो । ती सहयोगी भन्दै थिए– फ्रेश भएर आउनुहोला स्न्याक्स रेडी छ । डिनरचाहिँ ९ बजे सुरु हुन्छ । आज शुक्रबार भएकाले ७ बजेदेखि ११ बजेसम्म डिजे म्युजिकको व्यवस्था छ । उसको कुरा सुनेर वरिपरि बसेका हाम्रो मुहारमा कान्ती छायो । आज नाचिने भइयो । फ्रेस हुने भनेको के नै थियो र ? कपडा खोल्यो, छेउमा रहेको पोखरीमा हाम फाल्यो । त्यो रात रिसोर्टमा ३ सय जना जति गेस्ट थिए । सबैका लागि स्न्याक्स तयार भयो । हामी सबै कुपन देखाउँदै लाइन लाग्यौं । स्न्याक्समा चिकेन सेकुवा विशेष स्वादको थियो । राति ९ बजेसम्म जतिखेर पनि डाइभ हान्न मिल्ने आउटफिटमा बसियो । साँझ परेपछि ठूलो प्रोजेक्टरमा भिडियो हेर्दै, पिउँदै स्वीमिङ गर्न सकिन्थ्यो । त्यसपछि सबै जना तल भोटेकोसी किनारामा फोटो सेसन गर्न भनेर झर्यौँ । प्रश्नः भोटेकोसीले सबैभन्दा बढी के बगाउँछ ? उत्तर : जुत्ता । नभन्दै एक जनाको जुत्ता बगायो । एकछिन ढुङ्गाको चाङ कसले ठूलो बनाउने भन्ने स्पर्धा चल्यो । साँझ झमक्क भएपछि हामी माथि फर्कियौं । स्वीमिङ फेरि सुचारु भयो । थाकेपछि सानो पुलको माथिपट्टि उचाइमा टेबल राखेर सबैजना वरिपरि बस्यौँ । रूखमा बेरिएका बत्तीले फालेका रङ्गिबिरङ्गी प्रकाशका किरण सबैका अनुहारमा ठोक्किएका छन् । डिटेल थाहा नभए पनि हाँसेको र नहाँसेको प्रस्ट थाहा हुन्छ ।
अञ्जलीले वाटर बोटल घुमाएर ट्रुथ एन्ड डेयरको शंखघोष गर्छे । अन्त्यमा प्रियङ्काले अन्जान केटोसँग फोन नम्बर मागेपछि खेल बन्द हुन्छ । हामी केहीबेर रिफ्रेसमेन्टका लागि ओर्लन्छौँ । ‘अँ साँच्ची डिजेले हरिप म्युजिक लगाइरा’छ जाऊँ–जाऊँ छिटो नाच्न’– समीरले हेडबङ सुरु गर्छ । धर्ती फाट्ला जत्रो चर्को संगीतमा तन्नेरा–तन्नेरीहरू भुइँ थर्काउँदै नाचिरहन्छन् । ११ बजेपछि खाना खोलिन्छ, हल्का सेलाएको भए पनि भोकले गर्दा औधी मीठो लाग्छ त्यो डिनर ।
एक घण्टा पालैपालो टेबल टेनिस र डार्ट खेलियो । टेन्टभित्र साह्रै गर्मी हुँदो रहेछ, सुत्न सकिएन । बाहिर आएर पुल साइडको म्याट्ट्रेसमा उत्तानो परेर सुतियो । त्यो रात धेरै मानिस सुत्दै नसुति बिहान छर्लंग भयो । ब्रेकफास्टपछि सल्लाह चल्छ– ‘बाढी निकै माथिसम्म आ’को छ आज । र्याफ्टिङ गर्ने हो ?’ केटीहरू मान्ने वाला थिएनन् । ज्यान जाला तर र्याफ्टिङ चाहिँ छोडिन्न । लामो फर्म भरेर प्रतिव्यक्ति १ हजार बुझाएपछि गाइड हेल्मेट, ज्याकेट र प्याडल लिएर खोलातर्फ जान सङ्केत गर्छन् । हामी चप्पल बालुवामा फालेर र्याफ्टिङका लागि होमिन्छौँ । हाम्रो मूल गाइड राजकुमार श्रेष्ठले र्याफ्टिङको नियम, अनुशासन र सुरक्षा तथा उद्धारका विषयमा आधा घण्टा अभिमुखीकरण गर्छन् ।
हामी आठजना प्याडल फर्वार्ड चलाउँदै भोटेकोसीसँगै बग्न थाल्यौँ । छालले घुमाएर डँडाल्नुमा प्रहार गर्दा हाम्रो अट्टहास र चिच्याहट चुलिन्थ्यो । ठूलो छालमाथि विजय प्राप्त हुनासाथ ‘प्याडल हाइफाइ’ भनेर गाइडले गोप्रोमा भिडियो कैद गर्थे । हामी सबै जय भोटेकोसी भन्दै फेरी प्याडल घुमाउन थाल्थ्यौँ । हल्का सजिलो ठाउँ आएपछि गाइडले हामीमध्येको एक जनालाई झुक्क्याएर भोटेकोसीमा फालिदिन्छन् ।
त्यसपछि सबैजना हाम फाल्छन् । धमिलो पानीमा र्याफ्टको डोरी समात्दै हामी पानीको रफ्तारमा बगिरहन्छौँ । त्यो सम्पूर्णतः प्राकृतिक आनन्द थियो । हामी जानीजानी डुङ्गा पल्टाउँछौँ । श्रिना डुबेर कायाकले नै रेस्क्यु गर्नुपर्ने अवस्था आउँछ । केही क्षणमा क्विकस्यान्डको दलदलमा उफ्रिन्छौँ । त्यसो गर्दागर्दै डेढ घण्टामा दोलालघाट आइपुगिन्छ । त्यहाँबाट पुनः सुकुटे गएर लन्च गरी हामी ३ बजे काठमाडौंका लागि प्रस्थान गर्छौं ।