आफूलाई युट्युबरेका रूपमा स्थापित गराएका केही युवाहरू भने अहिले सामाजिक काममा समेत सक्रिय छन् । नयाँ–नयाँ न्यूज नेपाल, ताक्तातो खबरलगायतका केही युट्युब च्यानल मनोरञ्जनका कार्यत्रमसँगै सामाजिक गतिविधिमा समेत सक्रिय छन् । नयाँ–नयाँ न्यूज च्यानलका सञ्चालक शिशिर भण्डारी आफ्नो च्यानलमार्फत काठमाडौंको सडकमा सारंगी बजाउँदै हिड्ने बालक जनक गन्धर्वलाई विद्यालय पढाउनेदेखि लिएर अशक्त र पैसाको अभावमा ज्यान जोखिममा पारेकाहरूको उद्धारमा पनि सक्रिय छन् । उनकै प्रयासमा दुवै हात गुमाएका कृष्ण ओलीलाई ३८ लाखसहित मेघा घिमिरे, बुद्धिमान कुँवरलगायतलाई ५० लाख माथिको सहयोग, ब्लड मनीको अभावमा नेपाल आउन नपाएका विनोद रानाभाटलाई ८२ लाख आर्थिक सहयोग जुटेको छ । ॅहामीप्रति दर्शकको विश्वास छ । आम दर्शकमाझ यो मान्छेले पक्का सहयोग गर्छ है भन्ने छाप छोडेका छौं । उनीहरूको विश्वास तोडेका छैनौं’, शिशिर भन्छन्,ॅहामी सामाजिक विषयवस्तु, उत्प्रेरक कामजस्ता विषय खोजी–खोजी प्रसारण गर्छौ ।’ यही क्रममा फिल्मी कुरा टिभीका सञ्चालक श्यामहरि शिवभक्तिको पहलमा धादिङ चरौदीस्थित त्रिशुली नदी किनारमा २० वर्षदेखि तुइँन तान्दै आएका शुत्रबहादुर तामाङको घर निर्माण गरिएको छ । धादिङ रोराङ गाउँपालिका वडा नम्बर–७ मा निर्मित उक्त घर केही समयअघि मात्र कलाकार अर्जुन घिमिरे, कुमार कट्टेल आदिले हस्तान्तरण गरेका थिए ।
अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र हजार जुनीसम्मको ट्रेलर सार्वजनिक कार्यत्रममा पारिश्रमिकको विषयमा बोल्दा त्यो मनोरञ्जनसम्बन्धी युट्युब च्यानल तथा अनलाइन सञ्चारमाध्यममा प्रमुख समाचार बन्यो । आफु युट्युब र अनलाइनमा छाएपछि एक पत्रिकालाई उनले ‘युट्युबरलाई पत्रकार मान्दिनँ’ भनेर अन्तर्वार्ता नै दिइन् ।
चलचित्र वृत्तमा अहिले पनि विषय भनेको निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको झगडा पनि हो । निर्माता ओझाले आफूलाई कानको जाली फुट्ने गरी कुटेको बताएपछि शिल्पा युट्युबमा राम्रैसँग छाइन् । युट्युबरेहरूले छवि र शिल्पाको झगडाको विषयलाई उनीहरूसँग सरोकार नै नराख्ने अन्य चलचित्रकर्मीसँग प्रश्न सोध्ने माध्यम बनाए । यो क्रम अहिले पनि जारी नै छ, जसबाट आजित भएर करिश्मा मानन्धरले छवि र शिल्पाका बारेमा आफूसँग प्रश्न नगर्न अनुरोध गर्दै फेसबुक स्टाटस नै लेखिन् ।
चलचित्र वीरवित्रम–२ को समीक्षाका नाममा चलचित्र हेर्न प्रोत्साहन नगरेको, चलचित्रमा काम गर्ने कलाकारहरूको मानमर्दन गरेको आरोपमा मिम नेपालका स्टेन्डअप कमेडियन प्रनेश गौतम पक्राउ परे । चलचित्रका निर्देशक मिलन चाम्सले प्रनेशको क्रियाकलापले विद्युत्तीय कारोबार ऐन उल्लंघन गरेको आरोप लगाएपछि प्रहरीले गौतमलाई पक्राउ गरेको थियो । प्रनेश जेठ २४ गते पक्राउ परेर असार १ गते तारिखमा छुटे पनि चलचित्रकर्मीहरूलाई प्रनेशको जस्तै घटना दोहोरिने हो कि भन्ने चिन्ता निरन्तर छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाकी ६० वर्षीया सावित्री भट्टराईको आफ्नै विवाहित छोरी ईश्वरीका प्रेमी भारतीय नागरिक मोहम्मद नौसादको समूहले हत्या गरेपछि उक्त घटना युट्युबमा राम्रैसँग छायो । सावित्रीको हत्यापछि युट्युबरहरूको तनावचाहिँ अभिनेता सोनाम थापा मगरले व्यहोर्नुपर्यो । सोनाम इश्वरीका पति हुन् । आफू अभिनीत चलचित्र असार १० गते रिलिज हुने तयारी भैरहेका बेला सोनामले युट्युबरेहरूकै कारण चलचित्रको प्रचार राम्रोसँग गर्न पाएनन् । युट्युबरेहरूले चलचित्रको विषयवस्तुको साटो सावित्री हत्या प्रकरणमा प्रश्न सोध्न थालेपछि उनी केही समय युट्युब च्यानलहरूको सम्पर्कमै आएनन् ।
माथिका घटना केही उदाहरण मात्र हुन् । नेपालमा युट्युब च्यानलको संख्या ह्वात्तै बढेसँगै मनोरञ्जन, राजनीति, सामाजिक आदि क्षेत्रमा युट्युबरेहरूको ‘अराजकता’ समेत बढेको छ । मनोरञ्जनको क्षेत्रमा कार्यरत युट्यब च्यानलहरू भ्यूज बढाउन र ट्रेन्डिङमा आउन सेलिब्रेटीका हरेक गतिविधिलाई आफ्नो क्यामेरामा कैद गर्न दौडधूप अनि तँछाडमछाड गर्छन् । त्यस्तो दौडधूपको क्रम सेलिब्रेटीको सयन कक्ष, किचनदेखि एयरपोर्टको ढोकासम्म पुग्छ । कलाकारको जन्मदिनमा मध्यरातको १२ बजे उनीहरूको घरसम्म पुग्नेदेखि लिएर उनीहरूले आयोजना गर्ने पारिवारिक जमघटमा पनि पुगेर क्यामेर तेर्स्याउन पछि पर्दैनन् उनीहरू । अन्तर्वार्ताको भिडियो हेर्दा कतिपय सेलिब्रेटीको अनुहारमा ‘दिग्दारीपन’ प्रस्ट देखिन्छ भने कतिपय सेलिब्रेटी भने खुसीले पुलकितसमेत पाइन्छन् ।
युट्युबरेहरूले कुनै घटना, कार्यक्रम तथा अन्तर्वार्ताको थम्बनेल शीर्षक राख्दा त्यसको शीर्षकले नै दर्शकहरूलाई अन्यौलग्रस्त बनाइदिन्छन् । उनीहरूको भिडियोको शीर्षक नै प्रायशः ‘हँसाएरै मारे’, ‘खुल्यो यस्तो रहस्य’, ‘डरलाग्दो घटना’, ‘हेरिसकेपछि सेयर गर्नुहोला’, ‘हेर्नुभएन भने पछुताउनुहुनेछ’ आदि हुन्छ । अझ रोचक कुरा त कतिपय युट्युबरे आफै विशेषज्ञ रूपमा प्रस्तुत हुन्छन् । विषयवस्तुको पूर्वअध्ययन गरेर सम्बन्धित विषयको समाचार बनाए त ठिकै हो, तर अधिकांशले विषयवस्तुको पूर्वअध्ययनबिना नै आफु खुशी प्रश्न गर्ने र आफैं विशेषज्ञका रूपमा प्रस्तुत हुने कुरा सामान्य भैसकेको छ ।
रमाइलो कुरा के छ भने अधिकांश युट्युब च्यानल भ्यूज बढाउने र ट्रेन्डिङमा आउने प्रतिस्पर्धामै केन्द्रित छन् । आफ्नो च्यानलको विषयवस्तु ट्रेन्डिङमा आउनासाथ फेसबुकमा त्यसलाई स्क्रिनसट गरी खुसी व्यत्त गर्ने चलनसमेत छ । ट्रेन्डिङमा आएपछि युट्युबको सब्सक्राइभ बढ्ने भएकाले जस्तोसुकै समाचारलाई पनि आकर्षक र बिकाउ किसिमको शीर्षक राखेर अपलोड गर्ने चलन पनि सामान्यजस्तै हुँदैछ ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो कलाकारिताको करियरमा युट्युबरेहरूबाट पीडित भएको अनुभव त गर्न पाएकी छैनन्, तर त्यस्तो अवस्था नआओस् भन्नेमा उनी पनि सचेत छिन् । दीपाश्रीको बुझाइमा सेलिब्रेटीहरू युट्युबमा अन्तर्वार्ता दिन हच्किन थालेका छन् । ‘कलाकारहरू वार्ताको विषयभन्दा पनि कुन युट्युब च्यानल हो भनेर सोधी खोजी गर्न थालेका छन् । त्यो च्यानलको सब्सक्राइभ, फलोअर्स र आधिकारिक अनलाइन हो–होइन भन्नेमा ध्यान दिइरहेका छन्’, दीपाश्री भन्छिन्, ‘कसले कति डलर कमाउँछ भन्ने प्रतिष्पर्धाले गर्दा सेलिब्रेटीको अन्तर्वार्ता लिन तँछाडमछाड हुन थालेपछि कलाकारहरू यसरी हच्किन थालेका हुन् । हामीले यस्ता समाचारका कारण धेरै मानिस घर–परिवारबाट विस्थापित भएको देखेका–सुनेका छौं । त्यस्तो स्थिति हामीकहाँ नआओस् ।’
दीपाश्रीको बुझाइमा अहिले मानिसमा राक्षसी प्रवृत्ति बढ्दै गएको छ । ‘सृष्टिकर्ताले मानिसलाई बुझ्न सक्ने देवगण बनून् भनेर पठाएका हुन्, तर हामी आफैं राक्षस हुँदै गएका छौं’, दीपाश्री खुल्छिन्, ‘समाचारको शीर्षक मात्र पढ्ने दर्शकलाई त बुझ्न निकै सकस हुन्छ । हामी बुझ्ने मान्छेलाई त सकस भएको छ भने अनपढ व्यक्तिहरूलाई कत्तिको गाह्रो होला ?’
टेलिभिजन हुँदै अनलाइन पक्रकारितामा सक्रिय चलचित्र पत्रकार जीवन पराजुली ठूलोपर्दा डटकम चलाउँछन् । तीन वर्षयता ठूलो पर्दा टिभी नामक युट्युब च्यानल चलाइरहेका पराजुली एक वर्ष यता युट्युब पत्रकारिताका नाममा भैरहेका गतिविधि देखेर आजित छन् । ‘युट्युब आम्दानी गर्ने एउटा राम्रो प्लेटफर्म हो, तर नेपालमा पैसा आउँछ भनेर नै समाजमा भ्रम फैलाउने गतिविधि भैरहेको छ । धन आर्जन गर्ने नाममा समाजलाई कता लगिरहिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । यहाँ त आफूले राखेको भिडियो कन्टेन्टले कसलाई कस्तो असर गरेको छ भन्ने कुरा पनि हेरिँदैन्’, जीवन भन्छन्, ‘चलचित्रकै कुरा गर्दा पनि कलाकारले बोलेका स–साना कुरालाई ठूलो बनाउनेदेखि लिएर अफवाह फैलाउनेसम्मको गतिविधि बढ्दो छ । जसरी भए पनि आफ्नो भिडियोलाई हिट बनाउनुपर्छ र ट्रेन्डिङमा ल्याउनुपर्छ भन्ने प्रतिस्पर्धा छ । छवि ओझा र शिल्पा पोखरेलको विषयमा पनि उनीहरू जेल गैसकेसम्मको हुँदै नभएको कुरालाई जेलको चित्र बनाएर युट्युबको थम्बेलमा राखियो । त्यसकारण पनि अहिले युट्युबका भिडियोको विश्वसनीयतामा ह्रास आएको छ ।’ पराजुलीले केही अनलाइन पत्रकारले पनि पत्रकारिताको मर्यादा बिर्सिएको दाबी गरे । जीवनले मिडिया दर्ता नै नभई युट्युब सञ्चालन गरिने भएकाले समस्या बढ्दै गएको कुरा पनि बताए ।