एउटा अमूल्य मानव जीवनचक्रमा बाबु वा पिता बन्नु सौभाग्यको कुरा हो । एउटा पुरुषले पिता बनिसकेपछि प्रक्रियागत रूपमा पूर्ण भएको अनुभूति गर्न थाल्छ । पिता बन्नु एउटा अलौकिक कर्तव्य पूरा गर्नु पनि हो, जसले जीव अस्तित्वको निरन्तरताको ग्यारेन्टी गर्छ । यो संसारमा गरिने कर्तव्यहरूमध्ये पिता बन्नुपर्ने कर्तव्य सबैभन्दा गाह्रो छ । कर्तव्यभन्दा पनि यसलाई प्रक्रिया भन्दा ठीक होला । बालक जन्मनुअघि नै पिताले आफ्नो सन्तानका बारेमा सपना रचेको हुन्छ । जन्मिएपछि ऊ आफ्नो सन्तानलाई छुन चाहन्छ, चुम्न चाहन्छ । यो उसको पृथक् सिर्जना हो जसलाई उसले राम्रो–नराम्रो जे होस् बिनासर्त आफ्नो छोरा वा छोरीका रूपमा स्वीकार गर्छ । आफ्नो नजरमा आफ्ना सन्तान कहिल्यै कमजोर र नराम्रा लाग्दैनन् । त्यो भनेको मृत्युपर्यन्त कुनै पनि पिताले आफ्नो सन्तानलाई भित्रैबाट अविश्वास गर्न सक्दैन ।
पिता त्यो हो, जसले आफ्नी छोरीको आँखामा कहिल्यै आँसु देख्न सक्दैन, तसर्थ उसले छोरीको आँसु आउनुअगावै खुसी सँगालेर ल्याउँछ र ऊ सधैं आफ्ना सन्तानको खुसी खोज्ने क्रममा आफ्नो खुसी बिर्सन्छ, किनभने उसलाई थाहा छ, छोरी हाँस्दा छोरीभन्दा दोब्बर खुसी त ऊ हुन्छ । तसर्थ आफू दोब्बर खुसी हुने भए पनि उसले छोरीलाई सदा खुसी तुल्याउनैपर्छ ।
पिता त्यो व्यक्ति हो, जसले हरेक छोराको पहिलो पाइलामा हात समाएकै हुन्छ । दगुर्न नसकुन्जेल डोर्याएर हिंड्न सिकाएकै हुन्छ । वैशाखी टेकेर भए पनि छोरालाई काँधमा हालेर हिंडेकै हुन्छ । आफू कमजोर भए पनि छोरा–छोरीलाई सुरक्षाको प्रत्याभूति दिएकै हुन्छ । पिताको माया बोलीमा भन्दा अक्सर व्यवहारमा देखिन्छ, किनभने पिता एक कर्मभीरु पुरुष हो र उसले बोल्नुअघि काम गरेर देखाउँछ । बाटोमा हिँड्दा २ रुपैया भेटियो भने उसले त्यो नोट छोराका लागि टिप्नैपर्ने हुन्छ । एउटा पिपरमेन्ट किनेर घर लगिदिँदा छोरो खुसीले उफ्रिएको देख्दा उसलाई लाखको आनन्द आउँछ । यसरी सन्तानको सहाराले २ रुपैयाँबाट लाखको आनन्द पनि पिताले पाएको हुन्छ, सन्तानको खुसीका लागि उसले आफ्नो निजी खुसीलाई तिलाञ्जली दिएको हुन्छ । खुसीका तरङ्ग लम्बाइहरू समय, व्यक्ति, ठाउँ एवं परिवेशअनुसार फरक–फरक छन् । एउटा लम्बाइका खुसीहरूलाई खुम्च्याएर ऊ अर्को लम्बाइमा बाँचिरहेको पनि हुन सक्छ ।
तर सधैं राम्रो सोच्दासोच्दै कहिलेकाहीँ छोराले बाटो बिराएको देख्दा उसको मन चिरिन्छ, किनभने उसका लागि छोरा भनेको यो ठूलो संसारभित्रको रमाइलो सानो संसार भैसकेको हुन्छ । सबैले आफ्नो संसार स्वस्थ, शीतल र हराभरा देख्न चाहन्छन् । एक पिताले आफूले कमाएको हरेक हिस्साबाट छोराछोरीको खुसीका आयामहरूलाई समेट्न खोजेको हुन्छ । छोरीलाई जुत्ता नकिनी उसले आफूले चप्पल किन्दैन । जाडोमा सन्तानको आङ न्यानो बनाउन नसकुन्जेल आफू पनि कठ्यांग्रिएर हिँड्छ । छोरो भोको नहोस् भनेर पिताले चार कोस जंगल पैदल हिंडेर ऐँसेलु ल्याइदिन्छ । ऐँसेलु खाने क्रममा छोरालाई थाहै हुन्न कि बुवाको चप्पल चुँडिएर त्यहाँ प्लास्टिकको लोती बाँधिएको छ र दिनहुँको परिश्रमले खुट्टाका पैतला पट्पट फुटेका छन् । यो कुरा उसले कहिल्यै सोचेको पनि हुँदैन र बुवाले के खानुभो भनेर सोधेको पनि हुँदैन । यस्तै रहेछ, यो मायाको डोरो सन्तानसरह डिसेन्डिङ अर्डरमै तलतल जाने रहेछ अर्थात् हजुरबुवाले नातिलाई गर्ने मायाको आयतन नातिले हजुरबुवालाई गर्ने मायाभन्दा धेरै–धेरै घनिभुत छ । मायाको बग्ने बाटो पछिल्लो पुस्तातिर सोहोरिएर जाँदो रहेछ । पिताबाट छोरातिर, छोराबाट नातितिर अनि नातिबाट पनातितिर । जाने धेरै फर्कने कम ।
यसकै सानो उदाहरणका रूपमा देशबाहिर वा भित्र रहेका आजकालका युवायुवतीको जमातलाई लिन सकिन्छ, जसले आफ्ना पिताप्रतिको आदर, सम्मान र मायालाई फेसबुकका भित्ताहरूमा फगत एक दिनका लागि सस्तो बजारीकरण गर्छन् । यस्तो गर्नै हुँदैन भनेको त होइन, तर देश वा घरमा भएका पितालाई फोन गरेर २० रुपैयाँ खर्च गर्न अनकनाउनु अनि फेसबुकमा १० करोड बराबरको माया देखाउन खोज्नु हुँदैन । अरूले जस्तो गर्यो त्यसकै देखासिकी गरी सामाजिक सञ्जालमा पोखिनु भएन । पिताप्रतिको आगाध सम्मान प्रकट गर्ने हाम्रै पहिलेको शैली ठीक छैन र ? हामी कमाउने, सिक्ने वा स्वतन्त्र हुने बहानामा आफ्ना पितालाई छोडेर धेरै पर आइपुग्दा के नभुलौँ भने उता गाउँमा न्यास्रिएको पिताले हाम्रो फेसबुकको पोस्ट देख्नु हुन्न । जसका लागि हामी दुई शब्द प्रकट गर्छौं उसैले महसुस गर्न नसक्ने ठाउँमा हामी आफ्ना वाक्यहरूलाई किन लावारिस बनाउँदैछौं ? सक्नुहुन्छ भने वर्षैभरि आफ्नो प्रोफाइल पिक्चरमा पिताको तस्बिर राखेर हेर्नुस्, त्यसले तपाईंलाई दैनिक उहाँको सम्झना दिलाउँछ ।
त्यसै पनि कुनै पिताले आफ्ना लागि सन्तानबाट कहिल्यै केही कुराको आश राखेको हुँदैन । डाँडापारि एक्लै रहे पनि उहाँ सन्तानले कहिल्यै दुःख नपाउन् भन्ने कामना गर्दै घाम अस्त नभएसम्म बाटो हेरिरहनुभएको हुन्छ । सक्नुहुन्छ भने फोन गरेर पिताजीसँग एकवचन मीठो बोलिदिनुहोस् । उहाँ त्यसमै खुसी हुनुहुनेछ । नर्सरीमा तेस्रो भएर पुरस्कार ल्याउँदा सम्झिनुहोस्, तपाईंका पिता कति खुसी हुनुभएको थियो । हो, पिताका लागि तपाईं अझै नर्सरीकै विद्यार्थी हो । तपाईंको हरेक खुसीको खबरले उहाँ खुसी हुनुहुनेछ । किनभने पिताको प्रेम अटल छ, अपरिवर्तनीय र शाश्वत छ ।