जनावरले पनि गर्छन् आत्महत्या ?

- साप्ताहिक संवाददाता

भाद्र २३, २०७६

शीर्षक हेर्दा तपाईंलाई जति अनौठो लागेको छ, जीव वैज्ञानिकहरूलाई पनि यो कुरा अझै पनि त्यत्तिकै अनौठो लागिरहेको छ, आखिर जनावरहरूले कसरी गर्छन् आत्महत्या ? मानिसहरूले आत्महत्या गर्नुको मुख्य कारण तनाव झेल्न नसकेरै हुने तथ्यलाई धेरैजसो मनोवैज्ञानिकले स्वीकार गर्दै आएका छन् । के जनावरहरूमा त्यो स्तरको चेतना हुन्छ ? 

प्रश्न जेसुकै भए पनि जनावरहरूले बेलाबेलामा गर्ने आत्महत्याका घटनाले जीव वैज्ञानिकहरूलाई सोच्न बाध्य तुल्याउँछ । समुद्रका माछाहरूले पनि सामूहिक रूपमा आत्महत्या गरिरहेका हुन्छन् । सन् २०१५ मा ब्राजिलको समुद्री तटमा ३३ मेट्रिक टन माछाले सामूहिक आत्महत्या गरेका थिए भने सन् २०१६ मा मात्र ३५ अलग–अलग स्थानमा माछाले सामूहिक आत्महत्या गरेका थिए । 

उत्तर अमेरिकाको पश्चिमी तटमा समुद्री पन्छीहरूको सामूहिक शव देखियो । गणना गर्दा त्यहाँ १० हजारभन्दा बढी पन्छी थिए । सन् २०१६ मै अलास्कामा ८ हजारभन्दा बढी सीबर्ड मृत अवस्थामा फेला परे । उनीहरूको शव परीक्षण गर्दा कुनै किसिमको रोग नदेखिए पनि जीव वैज्ञानिकहरूले उनीहरू ग्लोबल वार्मिङ तथा खाद्यान्नको अभावले मरेको आशंका जनाए । 

केही जीव वैज्ञानिक जनावरहरूमा पनि आत्महत्या गर्ने व्यवहार बढेको मान्छन् । यसरी आत्महत्या गर्ने जनावरहरूमा स्तनधारी जनावरको संख्या बढी छ । सन् २००५ मा टर्कीमा एकैपटक १ हजार ५ सय भेडाले पहाडबाट हाम फालेर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको थियो । उक्त प्रयासमा ५ सय भेडा मरे भने धेरैको अंगभंग भएको थियो । 

सन् २००९ को अगस्टमा स्वीजरल्यान्डमा २८ वटा गाईले पहाडवाट हामफालेर आत्महत्या गरे । ती गाईले तीन दिनको अन्तरालमा फरक–फरक समयमा आत्महत्या गरेको तथ्यले वैज्ञानिकहरूलाई चकित तुल्यायो ।

सन् २०११ मा न्युजिल्यान्डको समुद्री तटमा ६१ वटा ह्वेलले सामूहिक आत्महत्याको प्रयास गरे, जसमध्ये मानिसहरूले १८ वटालाई मात्र बचाउन सके । यो विषयमा जीव वैज्ञानिकहरूले निक्र्योल निकाल्दै भने— ह्वेलहरूमा एउटा विशेषता के हुन्छ भने एउटाले जे गर्‍यो अर्कोले पनि त्यही गर्छ । त्यसैले पनि यो घटना भएको हुन सक्छ ।

 

प्रकाशित :भाद्र २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्